• २ भदौ २०८२, सोमबार

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

blog

बेइजिङ, भदौ २ गते । चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै पक्ष’ लाई सकेसम्म छिटो निष्पक्ष र स्थायी शान्ति सम्झौतामा पुग्न आह्वान गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई वार्ताका लागि अमेरिकी राजधानीमा स्वागत गर्नुभएको छ । तर क्रिमियाको पुनः प्राप्ति वा नाटोमा युक्रेनको प्रवेशको विषय वार्ताको टेबलमा राखिएको छैन । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग एकल भेटघाट गर्ने अपेक्षा गर्नुभएको छ र त्यसपछि युरोपेली आयोग प्रमुख उर्सुला भोन डेर लेयनसहितका युरोपेली नेताको समूहसँग भेट गर्ने तालिका छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारको पत्रकार सम्मेलनमा भन्नुभयो, “सबै पक्ष र सरोकारवालाले समयमै वार्तामा भाग लिन र सकेसम्म चाँडो निष्पक्ष, स्थायी, बाध्यकारी र स्वीकार्य शान्ति सम्झौतामा पुग्नुपर्छ ।” सोमबारको वार्ता शुक्रबारको अलास्का शिखर सम्मेलन पश्चात भएको हो । अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको भेटले युक्रेन सङ्कटमा तत्कालीन युद्धविराम कायम गर्न सफल नभए पनि दुवै नेताले युक्रेनलाई ‘बलियो सुरक्षा ग्यारेन्टी’ दिने वाचा गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा माओले भन्नुभयो, “सङ्कटको शान्तिपूर्ण समाधानका लागि अनुकुल सबै प्रयासमा चीन समर्थन गर्दछ । रुस र अमेरिकाले सम्पर्क कायम राखेको र युक्रेन सङ्कटको राजनीतिक समाधान प्रक्रियामा प्रगतिशील कदम चालिरहेको देखेर हामी खुसी छौँ ।” रासस/एएफपी