अबुजा, भदौ २ गते । नाइजेरियाको सोकोटो राज्यमा आइतबार डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् भने १० जनालाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गर्न तत्कालै आफ्नो प्रतिक्रिया टोली पठाएको छ । नेमाका अनुसार डुङ्गा ५० जनाभन्दा बढी यात्रु लिएर गोरोन्यो बजारतर्फ गइरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।
नेमाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, एजेन्सीकी महानिर्देशक जुबैदा उमरले दुर्घटनाको जानकारी पाएलगत्तै उद्धार कार्य सक्रिय पार्नुभएको थियो । अहिलेसम्म करिब १० जनालाई उद्धार गरिएको छ भने ४० भन्दा बढी अझै बेपत्ता रहेका छन् । नेमाले स्थानीय अधिकारी, सुरक्षाकर्मी र आपत्कालीन उद्धारकर्तासँग मिलेर खोजी अभियानलाई तीव्र बनाएको छ । एजेन्सीले प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने र नियमित अपडेट दिने प्रतिबद्धता जनाएको छ ।
यसअघि पनि नाइजेरियामा यस्ता दुर्घटनाहरू भइरहेका छन् । सन् २०२४ डिसेम्बरमा बेन्यु राज्यमा भएको डुङ्गा दुर्घटनामा ७६ मध्ये ४९ जनाको उद्धार गरिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा बाँकी २३ जना अझै बेपत्ता थिए । नेमाले त्यतिबेला पनि स्थानीय प्रशासन, उद्धारकर्मी र नाइजेरियाली नौसेनासँग मिलेर उद्धार कार्य सञ्चालन गरेको थियो । यस पटकको दुर्घटनापछि उद्धार टोलीले गोरोन्यो बजार जाने बाटोमा नदीमा बेपत्ता भएकाहरूको खोजीलाई निरन्तर अघि बढाइरहेको छ । रासस/एएनआई