अविनाश चौधरी
धनगढी, भदौ २ गते । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले यथाशीघ्र विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गरेको छ ।
समितिले सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन हुनुपर्ने माग गरेको हो ।
समितिले ऐनअनुसार विश्वविद्यालय सभा गठन हुनुपर्ने र पदाधिकारी नियुक्तिको काम गर्नुपर्ने जनाएको छ । कैलालीको गेटामा चालु आर्थिक वर्षबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारले निर्णय गरेको छ ।
विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरण ठुलो योगदान दिने समितिको ठहर छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले सङ्घ सरकारसँग संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताउनुभयो ।