• २ भदौ २०८२, सोमबार

जर्मनीमाथि एसियामा तनाव बढाएको चीनको आरोप

blog

बेइजिङ, भदौ २ गते । चीनले सोमबार जर्मनीमाथि एसिया-प्रशान्त क्षेत्रमा ‘तनाव बढाउने र टकराव उक्साउने’ काम गरेको आरोप लगाएको छ । जर्मन विदेशमन्त्री जोहान वाडेफुलले बेइजिङलाई ‘बढ्दो आक्रामक’ भएको बताउनुभएपछि चीनको त्यस्तो आरोप आएको हो ।

जापान भ्रमणका क्रममा वाडेफुलले ‘चीनले बारम्बार एकतर्फी रूपमा यथास्थिति बदल्न धम्की दिएको छ’ भन्नुभएको थियो उहाँले चेतावनी दिँदै भन्नुभयो, “यस क्षेत्रमा कुनै पनि तनावले विश्व सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्छ ।” यसअघि आइतबार जर्मन विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनलाई ‘क्षेत्रीय वर्चस्व जमाउन खोजेको र अन्तर्राष्ट्रिय कानुनमाथि प्रश्न उठाएको’ आरोप लगाएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “पूर्वी र दक्षिण चीन सागरको अवस्था सामान्यतया स्थिर छ । सम्बन्धित पक्षले क्षेत्रीय मुलुकको सम्मान गर्दै वार्ता र परामर्शमार्फत समस्याको समाधान खोज्नुपर्छ । तनाव बढाउनु शान्ति र स्थिरताका लागि लाभदायी छैन, ताइवानको प्रश्न चीनको आन्तरिक मामिला हो ।” रासस/एएफपी