राजु लामिछाने
रुकुमपश्चिम, भदौ २ गते । रुकुमपश्चिमका ११ हजार बढी घरधुरी विपतको जोखिममा रहेका छन् । जिल्लाका ६ वटा पालिकाका ११ हजार २२९ घरधुरी र ५९ हजार ९७४ जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङजस्ता विपतकाे जोखिममा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूको सिफारिस तथा समन्वयमा तयार पारेको विपत् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८२ मा उक्त विवरण समावेश गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीका अनुसार प्रतिकार्य योजनामा विपत् जोखिममा रहेका वडा र टोल, घरधुरी, जनसङख्या, यसअघि भएको क्षतिको विवरणसहित क्षेत्रगत कार्ययोजना र जिम्मेवारी विभाजन गरिएको छ ।
भौगोलिक बनावट तथा अव्यवस्थित भौतिक निर्माणका क्रियाकलापहरूका कारण जिल्ला विपतको जोखिममा रहेको प्रजिअ जिसीले उल्लेख गर्नुभयो । प्रतिकार्य योजनामा जिल्ला सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिकाको १४ वटै वडाका ८४ घरधुरी र ७४० जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङ लगायतका विपतजन्य घटनाको जोखिममा रहेको उल्लेख छ ।
त्यसैगरी चौरजहारी नगरपालिका भित्रका ८४० घरधुरी र तीन हजार ७७० जनसङख्या जोखिममा रहेका छन् । आठबिसकोट नगरपालिकाका १४ वटै वडामा दुई हजार २२१ घरधुरी र नौ हजार १२५ जनसङ्ख्या जोखिममा रहेका छन् । एक हजार ८०७ रोपनी जग्गा जमिनमा क्षति भएको जनाइएको छ ।
बाँफिकोट गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार यहाँका १० वटा वडामध्ये वडा नम्बर ७ बाहेक ८८५ घरधुरी र दुई हजार ४६९ जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी, चट्याङलगायतको विपतकाे जोखिममा रहेका छन् ।
यहाँको करिब छ हजार ६८९ रोपनी जग्गा जमिनमा समेत क्षति हुने गरेको छ । सानीभेरी गाउँपालिकाको ११ वडाका दुई हजार १८० घरधुरी र २० हजार ३५० जनसङ्ख्या जोखिममा रहेका छन् ।
गाउँपालिकाले वडाका सबै बस्तीहरू र १० हजार पाँच सय वर्गमिटर जग्गा जोखिममा रहेको जनाएको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकाका १० वडामा पाँच हजार १९ घरधुरी र २३ हजार ५२० जनसङ्ख्या जोखिममा रहेको उल्लेख गरिएको छ । यहाँको सात हजार ४२५ रोपनी जग्गा जमिन क्षतिको जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । गाउँपालिकाले वडाका सबै बस्ती जोखिममा रहेको जनाएका छ ।
आठबिसकोट नगरपालिका प्रमुख रबी केसीले रुकुमपश्चिम भूकम्प, बाढीपहिरो, महामारी, आगलागी, हुरिबतास तथा हिमपातजस्ता प्रमुख प्रकोपहरूको मारमा रहेको जनाउनुभयो । सानीभेरी, ठुलीभेरी र अन्य खोला किनारका बस्ती र जग्गा, भिरोलो जमिनमा रहेका बस्तीहरू, कमजोर भूगोल लगायतका कारण जोखिम रहेको उहाँको भनाइ छ ।
सम्भावित जोखिम क्षेत्र पहिचान गरेर प्रतिकार्यको योजना तयार पारिएको नगर प्रमुख केसीले जनाउनुभयो । प्रतिकार्य योजनामा विपत् पूर्वतयारी, विपत् पश्चातको उद्धार र राहत सामग्रीको अवस्था समावेश गरिएको छ ।