• २ भदौ २०८२, सोमबार

राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ : महासचिव पोखरेल

blog

कैलालीमा पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव शंकर पोखरेल । तस्बिर : गोरखापत्र

निराजन परियार

चौमाला (कैलाली), भदौ २ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय सभामा सत्तारूढ दलको बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताउनुभयो । 

प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै बहुमत पुग्ने भएपछि संविधान संशोधनको काम अघि बढ्ने बताउनुभयो । 

उहाँले संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा नभएको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित नभएको बताउदै ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्ने बताउनुभयो । 

सरकार निर्माणका बेला नेपाली कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्नुभयो । पोखरेलले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई सक्रिय राजनीतिमा ल्याएर माओवादी केन्द्रले गल्ती गरेको बताउनुभयो । 

‘‘पूर्वराष्ट्रपति प्रतिस्पर्धा र पार्टी भन्दामाथि हुनुहुन्छ ।जो पार्टी र प्रतिस्पर्धाभन्दा माथि छ उहाँहरूको अधिकार खोसियो भन्ने भाष्य चाँहि ठिक होइन,’ उहाँले भन्नुभयो, ‘‘स्वभाविक रूपमा माओवादी केन्द्रले गल्ती गर्‍यो, तर त्यो गल्तीको पछाडि एमाले जाँदैन । बरु गल्ती गरिहाल्नुभयो, सच्याउनुस् भन्छौँ ।’’

महासचिव पोखरेलले राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगेपछि त्यो पदको गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।