• २ भदौ २०८२, सोमबार

डेङ्गु सङ्क्रमित बढ्न थालेपछि खोज सुरु

blog

लमजुङ सदरमुकाम बेँसीसहरमा डेङ्गु सङ्क्रमित लार्भा खोजपड्ताल गर्दै बेँसीसहरका मेयर गुमानसिंह अर्याललगायत । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, भदौ २ गते । लमजुङमा डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । सदरमुकाम बेँसीसहरमा सोमबारदेखि डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

डेङ्गु सङ्क्रमण रोकथामका लागि लार्भा खोज र नष्ट गर अभियान चलाउनुपर्ने निस्कर्षसहित सदरमुकाम बेँसीसहर बजारमा अभियान सुरु गरिएको छ । बेँसीसहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गुल्म लमजुङको संयुक्त अगुवाइमा डेङ्गु फैलन नदिन लामखुट्टेको प्रजनन र वृद्धि हुने स्थान वा वस्तुहरू पहिचान गरेर नष्ट गर्नेगरी अभियान चलाइएको हो ।

खुला छाडिएको र बिर्को वा ढकन नलगाइएका पानी जमेको ट्याङ्की, पानी राख्ने ड्रम, गाग्री वा ब्यारेलहरू लामखुट्टेको प्रजनन केन्द्र तथा लार्भा उत्पादन ठाउँ हुने गर्दछ । त्यस्तै, घर वा स्वागतद्वारमा सजावटका लागि घडाका रूपमा राखिने पानीले भरिएका भाँडा वा गाग्री र गमलामुनि रहेको पानीको स्रोत पनि लामखुट्टेले प्रजनन वा लार्भा वृद्धि विकास गर्ने ठाउँ हुने प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख प्रविणकुमार खनालले बताउनुभयो । 

घरपालुवा जनावरका लागि राखिने पानीको भाँडाहरू, शौचालयका ब्रस राख्ने स्टेन्ट, पूजा प्रयोजनमा प्रयोग हुने भाँडा र चुहिने वा फुटेका घरभित्रका पाइपहरूमा समेत लामखुट्टेले प्रजनन् वा लार्भा उत्पादन गर्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरी खोज र नष्ट गर अभियान चलाउन सुरु गरिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । 

आकाशे पानी जम्ने घरको छत वा अन्य गहिरो भागमा पनि लामखुट्टे उत्पादन हुने भएकाले सबै ठाउँमा लार्भा नष्ट अभियानमा ध्यान दिनुपर्नेमा जोड दिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

डेङ्गु सङ्क्रमण बढी देखिनेमा गण्डकी प्रदेशमा लमजुङ तेस्रो जिल्लाको रूपमा रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका पछिल्ला तथ्याङ्कअनुसार हालसम्म लमजुङमा ९३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । 

गत पुस महिनादेखि हालसम्म गण्डकीमा आठ सय एघार जना सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी कास्कीमा चार सय ४१ जना, दोस्रोमा तनहुँमा एक सय २० जना र त्यसपछि तेस्रो स्थानमा लमजुङ रहेको छ ।

त्यसैगरी गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन । लमजुङका विभिन्न स्थानीय तहहरूमा सङ्क्रमण दर बढिरहेको जनाइएको छ । 

सङ्क्रमण बढ्दै गएपछि लमजुङका स्थानीय तहहरू सचेत बनेका छन् । लामखुट्टेको बासस्थान नष्ट गर्ने, सरसफाइ अभियान सञ्चालन गर्ने, विद्यालय र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम गर्न जरुरी देखिएको स्थानीयको भनाइ छ ।