• २ भदौ २०८२, सोमबार

मधेश प्रदेश

तीन वर्षमा पानीमा डुबेर ३४० बालबालिकाको मृत्यु

blog

पोखरीमा नुहाउँदै गरेका बालकहरु । तस्बिर : गोरखापत्र

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ २ गते । मधेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।

विगत तीन वर्षयता मधेशका आठवटै जिल्लामा पानीमा डुबेर मुत्यु हुने ५८६ मध्ये ३४० बालबालिका रहेका छन् भने मृतक बालबालिकामध्ये बालकको सङ्ख्या बालिकाभन्दा बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो ।

गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका थिए ।

दुवै जना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसक्दा डुबेर मृत्यु भएको थियो । दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको गरेको थियो ।

यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर नगरपालिका–२, सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षिय रितिश साहको डुबेर मृत्यु भएको थियो । मुत्यु हुने बालक दाजुभाइ रामबाबु र श्यामबाबुका छोरा थिए ।

त्यस्तै गत वर्ष असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका थिए ।

१० देखि १२ वर्ष उमेर समूहका यी तीन जना बालिका स्थानीय घोंघा पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एक्कासि उनीहरू डुब्न थाले होहल्लापछि स्थानीय युवाहरूले निकालेका थिए । तर, उनीहरूमध्ये एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भयो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यसरी बालबालिकाले बर्सेनि अकालमा ज्यान गुमाइरहेका छन् । जसलाई मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा पानीमा डुबेर मृत्यु हुनेमा मधेशमा ५८६ जना रहेका छन् भने त्यसमध्ये बालबालिका ३४० जना रहेका छन् । जसमा बालक २२७ र बालिका ११३ रहेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा मधेशमा पानीमा डुबेर मृत्यु हुनेको जम्मा सङ्ख्या २५६ पुगेको छ, जसमा बालक ९६, बालिका ५४, पुरुष ८२ र महिला २४ रहेका छन् ।

यस्तै आव २०८०/०८१ मा १७५ जनामा बालक ७३, बालिका ३९, पुरुष ५० र महिला १३ जना रहेका छन् भने २०७९/०८० मा १५५ जनामा बालक ४८, बालिका ३३, पुरुष ६२ र महिला १२ जना रहेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहले छारे रोग, जथाभाबी बनाइएका खाल्डाखुल्डी र अभिभावकको लापरबाहीका कारण अधिकाशं बालबालिकाको पानीमा डुबेर मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार बालिकाभन्दा बालक र महिलाभन्दा पुरुषको पानीमा डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु हुनेमा प्रदेशको आठवटै जिल्लामध्ये सबै भन्दा बढी धनुषामा रहेका छन् भने सबैभन्दा कम पर्सामा रहेको तथ्याङ्कले देखाएको छ ।