काठमाडौँ, भदौ २ गते । क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानाडा नेपालको भरपर्दो मित्र भएको बताउनुभएको छ ।
अटवा–क्यानाडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानाडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले विभिन्न बहुपक्षीय संस्थामार्फत नेपाललाई बर्सेनि चार करोड डलर बराबरको सहयोग उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।
उहाँले नेपालले बर्सेनि क्यानाडाबाट झन्डै सात अर्ब बराबरको सरसामान आयात गरिरहेको र एक अर्ब बराबरको निर्यात गरिरहेको समेत उल्लेख गर्नुभयो । “क्यानाडामा नेपालबाट हुने निर्यात बढाउन सकिन्छ, यसमा नेपाली ‘डायस्पोरा’ले थप भूमिका निर्वाह गर्नुपर्छ”, राजदूत पौड्यालले भन्नुभयो ।
राजदूत पौड्यालले क्यानडामा नेपाली डायस्पोराको सङ्ख्या बढ्दै जाँदा नेपालमा क्यानाडाको राजदूतावास स्थापना गर्न क्यानाडा सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।
अर्थशास्त्री डा. राम आचार्यले सन् २०१९ देखि सम्मेलन सुरु गरिएको उल्लेख गर्दै कोभिड महामारीका कारण केही समय रोकिएको बताउनुभयो ।
त्यस अवसरमा न्यु ब्रन्सविक विश्वविद्यालयका पूर्वप्राध्यापक बासु शर्माले ‘नेपालमा सङ्घीयताका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्दै एकता र विविधताबिच सन्तुलन ल्याउन नेपालले सङ्घीय प्रणाली अपनाएको धारणा राख्नुभयो ।
दुईदिने सम्मेलनले अटवा विश्वविद्यालयमा प्राध्यापनरत डा. भानुभक्त आचार्यको अध्यक्षतामा क्यानाडा नेपाल फोरम फर रिसर्च (क्यानेफोर) को नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा डा. दिनेश गजुरेल, बोर्ड निर्देशकमा डा. शिवहरि गौतम, डा अनुप बस्नेत, डा. होमनाथ घर्ती र इन्जिनियर सुवास पौडेल निर्वाचित हुनुभएको छ । कार्यसमितिको सचिवमा कुसुम शर्मा, कोषाध्यक्षमा अम्बिका पौडेल र प्रविधि अधिकृतमा सौगात श्रेष्ठ निर्वाचित हुनुभयो । दीपेन्द्र कुँवर विद्यार्थी सम्पर्क अधिकृतमा मनोनयन हुनुभएको छ ।