बोमलाल गिरी
नवलपुर, भदौ २ गते । दुई समूहको अस्तित्वको द्वन्द्वले भारतीय भुपु सैनिकहरूले नवलपुरको कावासोतीमा सञ्चालन गरेको भारतीय भूपु सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था लथालिङ्ग अवस्थामा पुगेको छ । दुई समूह बनेको सहकारीमा एकले अर्काको अस्तित्व स्वीकार नगर्दा सहकारी संस्था लथालिङ्ग अवस्थामा पुगेको हो ।
सहकारी यस्तो हुनुमा दुबै समूहले एकले अर्कोलाई दोषारोपण गरेका छन् । असन्तुष्ट समूहले पत्रकार सम्मेलन नै गरेर संस्थाका अध्यक्ष रविन्द्र खत्री क्षेत्रीले मनोमानी ढङ्गले सहकारी सञ्चालन गरेको आरोप लगाएको छ भने अध्यक्ष क्षेत्रीले निर्वाचित अध्यक्षको अस्तित्व स्वीकार गर्न नसकेको र घरभित्रको कुरा बाहिर लगेर छताछुल्ल पारेको आरोप लगाउनु भएको छ ।
असन्तुष्ट समूहको तर्फबाट जगतकाजी गुरुङले अध्यक्ष र कोषाध्यक्षबाहेक सबै पदाधिकारीले राजीनामा दिएको र पछि अध्यक्ष क्षेत्रीले समेत राजीनामाको घोषणा गरेर पनि अझै मनोमानी ढङ्गले आफैँ सहकारी सञ्चालन गरिरहेको बताउनु भयो । अध्यक्ष क्षेत्रीले भने आफूले राजीनामा नै नदिएको बताउनु हुन्छ ।
अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘‘मैले राजीनामा साधारण सभामा दिने हो, कसैलाई म मन परेन भन्दैमा निर्वाचित अध्यक्षले उसलाई राजीनामा बुझाउने होइन, साधारण सभा नै नभएकाले राजीनामाको हल्ला गर्नु आवश्यक छैन ।’’
पहिले राजीनामा दिएर अध्यक्षको विपक्षमा उभिएका केही सञ्चालक समिति सदस्यहरु पनि पछि प्रलोभनमा पारेर क्षेत्रीले आफूतिरै तानेको गुरुङले बताउनु भयो । २०८१ मंसिर २५ गते विशेष साधारण सभाको माग गर्दै दुई सय ७२ जनाको हस्ताक्षर सङ्कलन गरेर कावासोती नगरपालिकामा बुझाए पछि पालिकाले ३५ दिन भित्र साधारण सभा गर्न भन्दै पाँच सदस्यीय व्यवस्थापन समिति गठन गरेको तर अध्यक्ष र त्यहाँका कर्मचारीले असहयोग गरेर काम गर्ने वातावरण नबनाएको असन्तुष्ट पक्षको दाबी छ ।
तर संस्थापन पक्षले भने नक्कली हस्ताक्षर सङ्कलन गरिएको दाबी गरेको छ । ‘‘केही मृत्यु भइसकेका, कोही विदेशमा भएका र केही आफ्नै परिवारका सदस्यकाे हस्ताक्षर राखेर यति जना पुर्यायौं भन्नुको के अर्थ छ ?’’ अध्यक्ष क्षेत्रीले प्रश्न गर्नुभयो ।
साढे १० करोड बचत रहेको संस्थामा रकम हिनामिनाबारे भने जानकारी नरहेको असन्तुष्ट समूहको भनाइ छ । उनीहरूले तत्काल विशेष महाधिवेशन गरेर मार्ग प्रशस्त गर्न माग गरेका छन् । तर अध्यक्षले भने चुनावमा आफूसँग पराजित भएकाहरूले मागेर नेतृत्व नपाउने तर्क गर्नुभयो ।
सेयर सदस्यहरूले भने संस्थामा राजीतिक लडाइँले समस्या भएको बताएका छन् । संस्थामा राजनीतिक लडाइँमा अन्य थपिएको उनीहरूको भनाइ छ । ‘‘कांग्रेस र एमालेको लडाइँ हो, त्यसमा जातीय लडाइँ मिसाउन खोजिएको छ, अरू केही होइन,’’ एक सेयर सदस्यले भने, ‘‘दुबै पक्षबाट दुई दुई जना र एक जना स्वतन्त्र सदस्य राखेर छानबिन समिति बनाऔं भन्दा पनि दुबैले मान्दैनन् । यस्तै हो भने सहकारी छिन्नभिन्न हुन्छ ।’’