• २ भदौ २०८२, सोमबार

सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

blog

सिराहा,  भदौ २ गते ।  यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान सुरू गरिएको छ । 

वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनःस्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीका अनुसार वनभित्रका खाली जग्गाहरूमा पहिले रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र नयाँ बिरुवाहरू रोप्ने काम धमाधम भइरहेको छ । उहाँका अनुसार, डिभिजन वन कार्यालय सिराहा, लहानको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरूले वृक्षरोपण र संरक्षण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका हुन् । 

“वनको ४.५ प्रतिशत क्षेत्रमा पहिले गरिएको वृक्षरोपणको रेखदेख, संरक्षण र थप बिरुवा रोप्ने काम उपभोक्ता समितिको व्यवस्थापनमा भइरहेको छ,” चौधरीले भन्नुभयो । उहाँका अनुसार, वनमा मुख्यगरी टिक, जामुन, खयर, पाँचपाते, अमला, मसला लगाएका बिरुवा रोपिएका छन् । 

कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको यस सामुदायिक वन क्षेत्रभित्र रहेका खाली जग्गाहरूमा हजारौँ बिरुवा लगाइएको चौधरीको भनाइ छ । त्यसमा, सडक विस्तारका क्रममा नष्ट भएका बिरुवाको क्षतिपूर्ति स्वरूप पनि सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।

यसैबिच, चाइना रेलवे कम्पनीले कञ्चनपुर–कमला सडक विस्तारका क्रममा मासिएका बोट बिरुवाबापत क्षतिपूर्तिस्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ । यस सम्बन्धमा सडक विस्तार आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाले भन्नुभयो, “सडक विस्तारका क्रममा एउटा बोट नष्ट हुँदा त्यसको सट्टामा २५ वटा बिरुवा रोप्नुपर्ने प्रावधान अनुसार यस्तो गरिएको हो । त्यसमा हाम्रो आर्थिक व्ययभार मात्र रहेको छभने बिरुवा कहाँ र कस्तो रोप्ने भन्ने जिम्मेवारी डिभिजन वन कार्यालयको हो ।”

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरेको वातावरणीय संरक्षणमा ठुलो टेवा पुर्‍याउने उद्देश्यले यहाँका नाङ्गा डाँडामा हरियाली अभियान थालिएको जानकारी दिनुभयो । त्यसका लागि आव २०८१/८२ मा डिभिजन वन कार्यालयका तर्फबाट मात्रै करिब दस लाख बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको एक ऐतिहासिक प्रयासका रूपमा लिइएको छ । 

उहाँले चुरे क्षेत्रका नाङ्गाा डाँडामा वृक्षरोपण कार्य दिगो रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै अगाडि भन्नुभयो, “माटोको कटान, भू–क्षय, पानीको अभाव जस्ता समस्याहरूको समाधानमा वृक्षरोपणले ठुलो सहयोग गर्ने छ । त्यसैले ती बिरुवाहरूलाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय गर्दै अघि बढ्ने छौँ ।” रासस