नेत्र शाही
जुम्ला, भदौ २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा डायलाइसिस सेवा सञ्चालनमा आएको छ । दुई वर्ष अगाडि उपकरण र जनशक्ति अभावमा बन्द भएको यो सेवा सुरु भएको अस्पतालका नर्सिङ निर्देशक सविना थापाले जानकारी दिनुभयो ।
डायलासिस सेवा सुचारु भएसँगै अब मिर्गौलाका बिरामीले महँगो खर्च गरेर उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताबाट राहत पाउने भएका छन् ।
कर्णाली प्रतिष्ठानले आइतवार छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिका–२ की जीरकला बियारको डायलाइसिस गरेर सेवाको पुनः सुरुवात गरिएको प्रतिष्ठानले जनाएको छ । जुम्लामा उपचार गर्न आउनुभएका उहाँले आर्थिक अभावले उपचार जुम्लामा नहोला कि भन्ने डर भएकाे र यसैबाट सेवा लिन पाउँदा धेरै खुसी व्यक्त गर्दै यो सेवा अब निरन्तर हुनुपर्ने बताउनुभयो ।
डायलाइसिस सेवा नहुँदा महँगो जहाज भाडा तिरेर नेपालगन्ज, काठमाडौं पुग्नुपर्ने बाध्यताले कर्णालीका धेरै बिरामीलाई अब सजिलो हुने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. पूजनकुमार रोकायाले अब सेवा नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पहिले जनशक्ति, औषधी र उपकरणबिच तालमेल मिलेको थिएन । अहिले सबै तयारी पूरा गरेर सेवा थालिएको बताउनुभयो । प्रतिष्ठानमा हाल ४ वटा डायलाइसिस मेसिन तयारी अवस्थामा छन्, जसमध्ये दुईवटा सञ्चालनमा ल्याएर सेवा सुरु गरिएको छ ।
चिकित्सकहरूका अनुसार स्वच्छ खानेपानीको अपर्याप्त पहुँचका कारण कर्णालीमा मिर्गौलाका बिरामीको सङ्ख्या बढ्दो छ, जसका कारण डायलाइसिस सेवाको माग उच्च छ ।