• २ भदौ २०८२, सोमबार

नाटक ‘चरणदास चोर’ को प्रदर्शन

blog

चरणदास चोर नाटकमा कलाकारहरू । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, भदौ २ गते ।
मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन गरेको छ ।

स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा साउन ३१ गतेदेखि सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुनेछ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ ।

नाटकको नेपाली रुपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मु, पुुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइँकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रीष्मा लिम्बूू र प्रशुना तिम्सिनाले अभिनय गर्नुभएको छ । स्रोत साधन र प्रविधिको अभाव भए पनि साना गाउँशहरमा नाटकलाई जीवन्त रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण चरणदास चोरमा हेर्न सकिन्छ । पछिल्लो समय विद्युतीय मनोञ्जनका साधन हात हातमा छन् ।सामान्य खर्चमा पनि भरपुर मनोञ्जन लिन सकिने प्रविधि हात हातमा भए पनि नाटक प्रति दर्शकले अगाध प्रेम गरेको सहजै बुुझ्न सकिन्छ ।  

नाटकमा चरणदास चोरको भूमिकामा प्रेमप्रसाद खतिवडा सुहाउनुभएको छ । नाटकको सुरुदेखि अन्तिमसम्म चरणदासले पटक पटक चोरी गर्नुभयो । तर कहिल्यै वेजमान भएनन् । कहिल्यै झुट बोलेनन् । चरणदासले आफ्ना गुरुसँग जे प्रण गरेका थिए । त्यो रानीसँग बिहे गर्ने अवसर प्राप्त हँदा पनि तोड्नुभएन । साधुको भूमिकामा जीवन रिजाल जीवन्त हुनुहुन्छ । नाटकमा साधुसन्तले कसरी राजनीतिज्ञ र मन्त्रीलाई घुमाउँछन् भन्ने प्रष्ट्याउन खोजिएको छ ।

सारमा नाटकले नैतिकवान, इमानदार र वचनको पक्का बन्नुपर्छ भन्ने शिक्षा दिन खोजेको छ । इमानदार बन्यो भने चोरले पनि अवसर पाउँछन्, राजा महाराजहरू धेरै कठोर थिए र राजनीतिमा छलकपट आदिकालदेखि हुन्थ्यो भन्ने शिक्षा नाटकले दिएको छ । नाटकमा नेपालको राजनीतिलाई थोरै भए पनि व्यङ्ग्य गरेको छ । मन्त्रीहरू उद्घाटन गर्न भनेपछि हिरिक्क हुन्छन् । शौचालयको पनि उद्घाटन गर्न पछि पर्दैनन् भन्ने प्रष्ट देखाइएको छ ।

दैनिक तीन शो प्रदर्शन हुने नाटक १४ दिनसम्म सञ्चालन हुनेछ । १४ दिनमा १० हजार दर्शकले नाटक हेर्ने अनुमान गरिएको छ ।