अविनाश चौधरी
धनगढी, भदौ २ गते । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका बालकको सोमबार बिहान शव भेटिएको छ । गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशीको शव भेटिएको हो ।
प्रहरीका अनुसार आइतबार मध्याह्नतिर घरबाट निस्केका बालक घर नफर्केपछि खोजीकार्य सुरु गरिएको थियो । बालक हराएपछि खोजी गर्ने क्रममा उनका साथी पारस धामीले नदीमा नुहाउने क्रममा दीपेन्द्र डुबेर बेपत्ता भएको प्रहरीलाई बयान दिएका थिए ।
हराएका बालकसहित तीन जना बालक नदीमा नुहाउन गएको बेला दीपेन्द्र डुबेर बेपत्ता भएका थिए । बेपत्ता बालकका साथीले दिएको बयानको आधारमा नदीमा खोजीकार्य गर्दा शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।