लमजुङ समाचारदाता
लमजुङ, भदौ २ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले दोहोरो नागरिकता लिएका ३० जनाको नागरिकता रद्द गरेको छ । यसअघि विभिन्न प्रयोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएका तथा नेपाली नागरिकता त्याग गरेकामध्ये ३० जनाको नागरिकता रद्द भएको प्रशासन कार्यालयले जनाएको हो ।
नेपाली नागरिकता लिएर विदेश गएका र सोही देशको स्थायी नागरिक भएपछि नेपाली नागरिकता त्याग गरेका हुन् भने दोहोरो नागरिकता लिएकाले राष्ट्रिय परिचयपत्र लिएपछि प्रशासनिक काममा समस्या भएर प्रशासनसमक्ष रद्द गराउन आएका हुन् । सरकारले राहदानीका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने प्रणाली लागु गरेसँगै दोहोरो नागरिकता लिएकालाई राहदानी बनाउन समस्या हुन थालेको हो ।
राष्ट्रिय परिचयपत्र प्रणाली लागु भएसँगै व्यक्तिले कति पटक नागरिकता लियो, कति पटक राहदानी लियो जस्ता विवरण आपसमा उल्लेख हुने भएकाले दोहोरो नागरिकता लिने व्यक्तिलाई राहदानी बनाउन समस्या हुन थालेको हो । राहदानी बनाउने क्रममा दोहोरो नागरिकताले समस्या भएपछि जिल्ला प्रशासन कार्यालयमा एउटा नागरिकता रद्द गराउन आउने क्रम सुरु भएको छ । यसअघि विभिन्न परिस्थितिमा दोहोरो नागरिकता बनाएर रद्द गराउन आएकाको दोस्रो पटक लिएको नागरिकता रद्द गरिएको प्रशासनले जनाएको छ ।
दुई वटा नागरिकता बनाएको विषयमा अनुसन्धान गर्ने र दोस्रो पटक लिइएको नागरिकता रद्द गर्ने अधिकार प्रशासनलाई रहेको छ । नागरिकको निवेदनबमोजिम दोस्रो नागरिकता रद्द गराई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीसमक्ष पत्राचार गर्दै आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले बताउनुभयो । दोहोरो नागरिकता लिएकालाई यसअघि प्रशासनले नै कारबाही वा जरिबाना गर्ने गरे पनि पछिल्लो समय अदालतमार्फत कारबाही गर्ने प्रावधान रहेको छ ।
विशेष गरी वैदेशिक रोजगारी जस्ता विषयमा समस्या भएपछि कतिपयले दोहोरो नागरिकता लिएको पाइएको छ । सोबाहेक बहुविवाह वा अन्य कुनै कानुनविरुद्धका काम गरेका व्यक्तिले पनि गलत अभिप्रायले दोहोरो नागरिकता लिएको भेटिएको प्रशासनले जनाएको छ । दोहोरो नागरिकता लिने व्यक्तिले गलत वा झुटो विवरण पेस गरेको र कतिपय आपराधिक क्रियाकलापमा समेत संलग्न हुनाले प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्ति कारबाहीको दायरामा आउने प्रशासनले जनाएको छ ।