• २ भदौ २०८२, सोमबार

सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहणका लागि बजेट व्यवस्था

blog

हालको सिमकोट विमानस्थलबाट विस्तार गर्न लागिएको अगाडिकाे क्षेत्र । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, भदौ २ गते ।
सिमकोट विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था यस आर्थिक वर्षमा गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय काठमाडौँले विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था गरी अख्तियारी प्राधिकरणको सिमकोट शाखालाई पठाएपछि विमानस्थल विस्तार र जग्गा व्यवस्थाको कार्य अगाडि बढाउने बाटो खुलेको हो ।

लामो समयदेखि बजेटको अभावका कारण रोकिएको सिमकोट विमानस्थलको धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अब सुरु हुने कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । उहाँले निक्कै लामो प्रयासपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले बजेटको व्यवस्था गरेकोमा धन्यवाद दिँदै अब काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

साउन ३० गते पठाइएको पत्रानुसार यो कामका लागि आवश्यक बजेट २७ करोड ९४ लाख रुपियाँ विनियोजित गरी धावनमार्ग विस्तार र जग्गा अधिग्रहण कार्य अघि बढाउन आदेश आएको सिमकोट नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । विमानस्थल विस्तारका लागि ६० दशमलव ८१ रोपनी जग्गा आवश्यक पर्नेछ । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको मूल्य जिल्ला दररेट अनुसार प्रतिवर्ग मिटर छ हजार दुई सय रुपियाँ छ । सो क्षेत्रभित्र नौ वटा भवन अधिग्रहण हुनेछन् । यसअघि जिल्लाले जग्गा अधिग्रहणका लागि गर्नुपर्ने सबै काम पूरा गरी सकेको कारण अब केही दिनमा उपसमितिको बैठक बस्ने र त्यसबाट जग्गा अधिग्रहरणका लागि सूचना सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

अबको तीन महिनाभित्र जग्गा अधिग्रहणको सबै काम पूरा हुने र त्यसपछि विस्तारको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो । यो काम सम्पन्न भएपछि हाल विमानस्थलको लम्बाइमा तीन सय मिटर वृद्धि हुनेछ । हाल सिमकोट विमानस्थलको लम्बाइ घेरबारसहित सात सय मिटर लम्बाइ रहेको छ भने रन वे साढे छ सय मिटर छ । अब विस्तारपछि विमानस्थलको लम्बाइ घेरबारसहित एक हजार दश मिटर रहनेछ भने साढे नौ सय मिटर लम्बाइ रन वेको हुनेछ ।

विमानस्थलको विस्तारपछि २९ र ४५ सिटे जहाज अवतरण गराउने लक्ष्य छ । हाल १४ देखि १८  सिटे साना जहाज अवतरण गर्दै आएका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्ला प्रशासन र सम्बन्धित कार्यालयमार्फत कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भए पनि आवश्यक बजेट नहुँदा काम अघि बढ्न सकेको थिएन । कैलाश मानसरोवर दर्शनको मुख्य प्रवेश बिन्दुका रूपमा रहेको सिमकोट विमानस्थलसहित सम्पूर्ण हुम्लाको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।