• २ भदौ २०८२, सोमबार

मानव–वन्यजन्तु द्वन्द्व : स्थानीयले घेरे स्थानीय प्रशासन

blog

बबई समाचारदाता

बबई (बर्दिया), भदौ २ गते । बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा रहेको वन्यजन्तुको आक्रमण बढ्दै गएपछि  वन्यजन्तु नियन्त्रणका माग राखी स्थानीयवासीले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । शनिबार गुलरिया नगरपालिका–१२, भैसाही गाउँमा खेतबारीमा काम गर्ने क्रममा वन्यजन्तुको आक्रमणबाट ४५ वर्षीय जगतरानी थारूको मृत्यु भएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार बेलुकी खेतमा गएकी जगतरानीको शव शनिबार बिहान खेतमै टाउको र शरीर छुट्टिएको अवस्थामा फेला परेको थियो ।

मृतकका आफन्त र स्थानीयवासीले घटनापछि गुलरिया नगरपालिका क्षेत्रका सयौँ मानिससहित करिब १० किलोमिटर दुरी पैदल र साइकलमार्फत जिल्ला प्रशासन कार्यालय पुगेर घेराउ गरेका हुन् ।

स्थानीयवासीले बर्दिया राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकको क्षेत्रमा चितुवाको आक्रमण बढ्दै गएको भन्दै सरकारसँग तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन् । गुलरिया–१२ का वडाध्यक्ष प्रकाश थारूले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । ज्ञापनपत्रमा मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने, स्थानीयवासीलाई सुरक्षित वातावरण उपलब्ध गराउनुपर्ने र वन्यजन्तु नियन्त्रणका लागि तत्काल पहल गर्नुपर्ने माग राखिएको छ ।

स्थानीय प्रशासनमा भेटिनुभएका भैसाहीका स्थानीय किशोरी थारूले भन्नुभयो, “हामी बाध्य भएर यहाँसम्म आएका हौँ । दैनिक जसो हुने आक्रमणले हामी असुरक्षित छौँ । हाम्रो सुरक्षाको जिम्मा कसले लिने ? हाम्रो सुरक्षाको जिम्मेवारी त सरकारको हो नि ।” गुलरिया नगरपालिका–१२ का हरिप्रसाद चौधरीका अनुसार वन्यजन्तुको आक्रमण बढेपछि बारम्बार गुनासो गर्दा पनि प्रभावकारी कदम नचालिएकाले आन्दोलन गर्नु परेको हो ।

जिल्ला प्रशासन कार्यालयले घटनाबारे अनुसन्धान गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । बर्दियामा गत आर्थिक वर्षमा मात्रै चितुवालगायतका वन्यजन्तुको आक्रमणमा परी आधा दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् ।