नवराज कट्टेल
विराटनगर, भदौ २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक र सामाजिक गौरवको प्रतीक भएको बताउनुभएको छ । विराटनगर–१, राधाकृष्ण मन्दिर परिसरमा राधाकृष्णको युगलजोडी रथारोहणपछि विशेष पूजाअर्चनापछि मुख्यमन्त्री कार्कीले प्रदेशको गौरवका रूपमा रथयात्रा आयोजना हुने गरेको बताउनुभयो ।
उहाँले कृष्ण जन्माष्टमीका दिन विशेष आराधनापछि नवमीका दिन निकालिने रथयात्रा सामाजिक एकता, धार्मिक सहिष्णुता र साझा संस्कृतिका रूपमा उदाहरण प्रस्तुत गर्न सफल रहेको बताउनुभयो ।
कोशी विविधतायुक्त प्रदेश रहेको बताउँदै प्रादेशिक राजधानीमा आयोजना हुने सामाजिक एकताको प्रतीक रथयात्राले सांस्कृतिक महत्व झल्काउने बताउनुभयो । ९५ वर्षदेखिको परम्परा अब विराटनगरको मात्रै नभई कोशी प्रदेशको महत्वपूर्ण र गौरवपूर्ण पर्व रहेको उहाँको भनाइ थियो ।
धार्मिक मात्रै नभई यसको महत्व पर्यटन विकासमा पनि रहेको बताउँदै मुख्यमन्त्री कार्कीले भारतबाट सहभागी हुने धर्मानुरागीलाई स्वागत र सम्मानसमेत व्यक्त गर्नुभयो । प्रदेशमा सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक विविधता छ भन्ने सन्देश रथयात्राबाट प्राप्त हुने उहाँको भनाइ थियो ।
उहाँले आगामी वर्षदेखि रथयात्रामा छिमेकी भारत तथा चीनबाट सरकारीस्तरका उच्चपदस्थलाई समेत समयमै निम्ता दिएर स्वागत गरिने बताउनुभयो । विशेष कारणले यस वर्ष त्यो प्रयास सफल हुन नसके पनि आगामी वर्ष समयमै प्रदेश सरकारले पहल लिने उहाँको दाबी थियो ।
यसैबिच प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा यस वर्ष पनि लाखौँको सहभागी भएका छन् । विराटनगर–१, राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाअर्जनापछि मुख्य बजार हुँदै रोडशेष र कोशी राजमार्गबाट बरगाछी र बरगाछीबाट पुनः पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरपरिसरमा राधाकृष्णको जोडीलाई रथारोहणपछि समान गरिएको हो ।
खाटमा राधाकृष्णलाई राखेर १९८८ सालदेखि सुरु गरिएको यो परम्परा २०२५ सालदेखि रथमा राखेर परिक्रमा गराउन थालिएको थियो । यसरी हेर्दा यसको इतिहास ९५ वर्ष पुगेको छ भने रथयात्रा गराउने चलन ५८ औँ वर्ष पुगेको छ ।
विसं २०२५ मा बनेको रथ जीर्ण भएपछि यस पटक नयाँ निर्माण गरिएको राधाकृष्ण समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार रथयात्राका लागि एक हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्योसँगै सिसिटिभी निगरानी र ड्रोनबाट समेत यसको निगरानी गर्ने प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिनुभयो ।