• २ भदौ २०८२, सोमबार

मुस्लिम धर्मगुरु सम्मेलन

दाइजो प्रथाको अन्त्य गर्ने प्रतिबद्धता

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २ गते । बाँकेको नेपालगन्जमा सम्पन्न मुस्लिम धर्मगुरुको जिल्ला सम्मेलनले समुदायमा व्याप्त रहेको दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  

मुस्लिम धर्मगुरुको संस्था ‘उलेमा काउन्सिल नेपाल’ ले आयोजना गरेको जिल्ला अधिवेशन तथा दाइजो उन्मूलन कार्यक्रममा सहभागी सम्पूर्ण धर्मगुरुले दाइजोविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसमा असहयोग गर्नेलाई बहिष्कार गर्ने निर्णय गरेका हुन् । 

सम्मेलनमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजोका कारण समुदायमा धेरै चेलीबेटीको विवाह हुन नसकेको र अधिकांश छोरीले पढ्न नपाएको र हिंसाको सिकार हुने अवस्था सिर्जना भएको बताउँदै धर्मगुरुको निर्णयले यो विकृतिको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले दाइजो प्रथाको अन्त्यका लागि महिलाले पनि अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उलेमा काउन्सिल नेपालका उपाध्यक्ष मुफ्ति कैफुलवरा खानले समाजभित्र दाइजोका कारण उत्पन्न समस्या र छोरीको शिक्षामा देखिएको अवरोधलाई ध्यानमा राख्दै छोरी पढाउने र विवाहमा सहयोग गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभयो । उहाँले दाइजो प्रथा बढेसँगै बालविवाह पनि बढ्ने भएकाले दुवै कुराको अन्त्यका लागि धर्मगुरुले प्रभावकारी  अभियान चलाउने बताउनुभयो । 

काउन्सिलका लुम्बिनी प्रदेश प्रतिनिधि कारी कमरुद्दिनले महिला हिंसाको सुरुवात दाइजो प्रथाबाट हुने र सोही कारणले बालविवाह बढ्ने उल्लेख गर्दै यसलाई अन्त्य गर्न धार्मिक नेतृत्व निर्णायक रूपमा अघि बढेको बताउनुभयो । मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलुवाईले धर्मगुरु र समुदायका अगुवाको संयुक्त प्रयासबाट दाइजो प्रथाको अन्त्य गर्नुपर्ने बताउनुभयो । 

यसैबिच अधिवेशनले मौलाना नसीरुद्दिन अन्सारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यक्रममा वरिष्ठ धर्मगुरुहरू मौलाना अब्दुल जब्बार मन्जरी, मौलाना मन्सुर आरफी, वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. एम किदवाई, नेपालगन्जका उपप्रमुख कमरुद्दिन राईको सहभागिता रहेको थियो ।