बुङ्गल समाचारदाता
बझाङ, भदौ २ गते । लगातारको वर्षाका कारण बुङ्गल नगरपालिका–३, ध्याडीमा गाउँमुनिबाट आएको पहिरोले खेतबारीमा क्षति पुर्याउनुका साथै ध्याडी गाउँमा १५ घर जोखिममा रहेको छ ।
पहिरोका कारण लक्ष्मण बोहरालगायतका १५ घर उच्च जोखिममा परेका स्थानीय वीरबहादुर बोहराले जानकारी दिनुभयो । पछिल्ला केही दिनदेखि निरन्तर परेको वर्षाले पहिरोको जोखिम बढाएको छ । पहिरो आएको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट विजगडा बिटका प्रहरी जगत बोहराको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएर घटनाको विवरण सङ्कलन गर्नुका साथै प्रभावित क्षेत्रका स्थानीयलाई पनि सचेत रहन आग्रह गरिएको प्रहरी सहायक निरीक्षक कृष्णदत्त भट्टले बताउनुभयो ।