• २ भदौ २०८२, सोमबार

कृषि तीज गीत प्रतियोगितामा तुलसी कृषक समूह प्रथम

blog

तीज गीत प्रतियोगितामा प्रथम भएको तुलसी कृषक समूह । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २ गते ।
कृषि ज्ञान केन्द्र तनहुँले कृषि तथा जलवायु परिवर्तनबारे सचेतना जगाउन तीज गीत प्रतियोगिता गरेको छ  । प्रतियोगितामा व्यास नगरपालिका–१३ छाब्दीमा रहेको तुलसी कृषक समूह प्रथम, म्याग्दे गाउँपालिका–७ रहेको वेदकालिका कृषक समूह द्वितीय र व्यास नगरपालिका–१ स्थित सिन्दरपानी आइपिएम कृषक समुह तृतीय भएको निर्णायक समिति संयोजक दिनकरमणी आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु छ हजार, चार हजार र दुई हजार पाँच सय नगद तथा प्रमाणपत्र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले आइतबार प्रदान गर्नुभयो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको केन्द्र जनाएको छ ।

आचार्यका अनुसार छनोट भएको समुहले  तीजको अवसरमा कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा र पब्लिक फो के टेलिभिजनको संयुक्त आयोजनामा हुने कृषि तीज गीत प्रतियोगितामा भाग लिन पाउने छन्  ।  छनोट भएका समुहले जलवायु परिवर्तन, खाद्य सुरक्षा, जैविक विषादी(आइपीएम) प्रविधि तथा बाली व्यवस्थापनसम्बन्धि सचेतनाको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ । गाउने तथा नाच्ने सहित नौ जना सहभागी हुन पाउने छन् ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु बिच पोखरामा ग्राण्ड फिनाले हुने भएको हो । कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूको गीत मार्फत प्रचार प्रसारमा योगदान पुर्‍याउन प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत गर्ने विश्वास गरिएको छ ।