• २ भदौ २०८२, सोमबार

पहिरो खसेर खलङ्गा–गोकुलेश्वर सडक अवरुद्ध

blog

पहिरो खसेर अवरुद्ध भएको खलङ्गा–गोकुलेश्वर सडक । तस्बिर : कृष्णबहादुर धामी

कृष्णबहादुर धामी
दार्चुला, भदौ २ गते ।
गएराति भएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रानीबाँसस्थित सडकमाथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । पहिरो राति खसेको बताइएको छ ।

पहिरोले खलङ्गा–गोकुलेश्वर सडकखण्डको २०÷३० मिटर क्षेत्र पुरेको उहाँले बताउनुभयो । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा दार्चुलाबाट बाहिरीने र भित्रिने छोटो तथा लामो दूरीका सवारीका साधनहरु चल्न सकेका छैनन् । काठमाडौँ, महेन्द्रनगर र धनगढीबाट दार्चुला आउने र दार्चुलाबाट उल्लेखित ठाउँहरुमा जाने सवारीका साधनहरु पहिरो खसेको ठाउँमा पुगेर रोकिएका छन् ।