मुगु समाचारदाता
मुगु, भदौ २ गते । ताल्चा विमानस्थलबाट बग्ने पानीको व्यवस्थापन नहुँदा छायानाथ रारा नगरपालिका वडा नं. १, ४, ६ र ७ का जुकेना खामगोइटे, वालै, कोटिला र पिना गाउँका विद्यालयमा पढ्ने बालबालिकाले सास्ती भोग्दै आएका छन् । नजिकै माध्यमिक तहसम्मको विद्यालय नभएकाले बालबालिकाले आउजाउमा सास्ती भोग्दै आएका हुन् ।
सदरमुकाम गमगढीमा नमुना माध्यमिक विद्यालय रहेकाले विद्यालय जान लामो समय हिँड्नु पर्दा सात वटा बस्तीका झन्डै एक सय बालबालिका प्रभावित भएको स्थानीय समाजसेवी नन्द रोकायाले बताउनुभयो । आकासे पानी ताल्चा विमानस्थलबाट बर्सातको समयमा बुकाखोलामा पानीको सतह बढेका कारण विद्यालय पढ्ने बालबालिकाले दैनिक जोखिम मोलेर उक्त खोला पार गर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो सुनाउनुभयो ।
हिउँदको समयमा पानीको सतह घट्दा बुकाखोला तरेर विद्यालयमा सफा पोसाकमा विद्यालय पुगिन्छ तर अहिले वर्षाको समयमा त्यो सम्भव नभएकाले खोलाको हिलो पानीले दैनिक विद्यालयको पोसाकमा हिलोमैलो भएर विद्यालय पुग्ने गरेको महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सरिता भामले सुनाउनुभयो ।
उक्त खोलाको पानीले छायानाथ रारा नगरपालिकाका ११ बस्तीका ज्येष्ठ नागरिक र बिरामीलाई आउजाउ गर्न कठिनाइ भएको ज्येष्ठ नागरिक रामबहादुर बोहोराले बताउनुभयो । हिउँदमा खोलामा पानी नहुँदा सहजै आउजाउ गर्न सकिन्छ तर बर्सातको समयमा ज्यान जोखिममा पारेर खोला तर्नुपर्ने अवस्था रहेकोउहाँले जनाउनुभयो ।
जिल्लामा विमानस्थलको वातावरणीय प्रभाव अध्ययन नगर्दा ताल्चा विमानस्थलमुनिका १० वटा बस्ती उच्च जोखिममा रहेका छन् । डिपिआरको नाममा लागत स्टिमेट र कुल खर्च, दुरी आदिको मात्रै अध्ययन गरिएको तर वातावरणीय अध्ययन नै नगरिएको स्वयंम नागरिक उड्डयन प्राधिकरण एरोडम इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले बताउनुभयो ।