• २ भदौ २०८२, सोमबार

प्राङ्गारिक मल उत्पादन प्राथमिकतामा : मुख्यमन्त्री

blog

इन्टिग्रेटेड एग्रिकल्चर फार्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्य ।

बुटवल समाचारदाता

बुटवल, भदौ २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले प्राङ्गारिक (अर्गानिक) कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आइतबार कपिलवस्तु शुद्धोधन गाउँपालिका–१, मानपकडीस्थित शर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फार्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले रासायनिक मलको अभावलाई कम गर्ने र दिगो कृषि प्रणालीलाई मजबुत बनाउन प्राङ्गारिक मल अपरिहार्य भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन अनिवार्य छ । यही मल प्रयोग गरेर केही वर्षभित्र प्रदेशलाई अर्गानिक प्रदेशका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सामुदायिक संस्था, निजी क्षेत्र र उद्यमीसँग सहकार्य गर्ने वातावरण बनाइरहेको जानकारी दिनुभयो । कृषिक्षेत्रले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन ठुलो योगदान दिने भन्दै उहाँले किसानको परम्परागत अभ्यासलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढाउन आग्रह गर्नुभयो ।

आचार्यले जङ्गलमा खेर गइरहेका पात–पतिङ्गर र पशुपालनमार्फत निस्कने मलमूत्रलाई कम्पोस्ट मलका रूपमा प्रयोग गर्न सकिने पनि बताउनुभयो । उहाँले गौशालामा सुरु भएको प्राङ्गारिक मल उत्पादन अभियानलाई किसानका गोठसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले रासायनिक मलको अभावले किसान मारमा परेको भन्दै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको टिप्पणी गर्नुभयो ।

उद्यमी सिपी शर्माले अर्गानिक उत्पादनलाई प्राथमिकता दिने बेला आएको उल्लेख गर्दै, राज्यले सहजीकरण गरे दैनिक ४० टन र वार्षिक १५ हजार टनसम्म प्राङ्गारिक मल उत्पादन गर्न सकिने जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक लगानी आकर्षित गर्ने प्रव्रिmया अघि बढाएको पनि बताउनुभयो ।

प्रदेश सरकारले प्राङ्गारिक मल उत्पादनलाई दिगो कृषि विकास, खाद्य सुरक्षाको सुनिश्चितता र ग्रामीण अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडेर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।