• २ भदौ २०८२, सोमबार

प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता

blog

राष्ट्रपति रामचन्द्र पौडेल (बायाँ) र प्रधानमन्त्री केपी शर्मा ओली (दायाँ) सँग आइतबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्री । तस्बिर: प्रधानमन्त्रीको सचिवालय/रासस

  • द्विपक्षीय सम्बन्धका आयाममा विमर्श 

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि उहाँ आइतबारै काठमाडौँ आउनुभएको हो । 

राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतको सामाजिक, आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट नेपाल उत्साही रहेको बताउनुभयो । 

शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले जनाए अनुसार उहाँले नेपाल र भारतबिच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहिआएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, “हाम्रा दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित छ । नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ, छिमेकीसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपाल सराहना गर्दछ ।”

राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलका अनुसार भारतका विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभयो । उहाँले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवं विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीसँग शिष्टाचार भेट

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीको भारत भ्रमणसहित द्विपक्षीय सम्बन्धका सन्दर्भमा विमर्श भएको छ । शिष्टाचार भेटमा भारतका विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई औपचारिक भारत भ्रमणको निमन्त्रणा दिनुभएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । 

द्विपक्षीय हितबारे छलफल 

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतासँग पनि भारतीय विदेश सचिवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सभापति देउवा निवास बुढानीलकण्ठमा भएको भेटपछि देउवाले भारतका विदेश सचिव मिस्रीसँग पारस्परिक विश्वास, सद्भावना एवं समृद्धि र स्थिरताका लागि साझा आकाङ्क्षाका सन्दर्भमा संवाद भएको जानकारी दिनुभएको छ । उहाँले घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने सन्दर्भमा पनि छलफल भएको जानकारी सामाजिक सञ्जालमा साझा गर्नुभएको छ । माओवादी अध्यक्ष प्रचण्डसँग विदेश सचिव मिस्रीले खुमलटारस्थित उहाँकै निवासमा भेटवार्ता गर्नुभएको हो । उहाँका सचिवालयका अनुसार भेटमा नेपाल र भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको छ । 

साझा चासोका विषयमा छलफल 

परराष्ट्रमन्त्री डा. आरजु राणासँग विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरूबिच नेपाल–भारत सम्बन्धका विविध आयामको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भयो । मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्व दिएको र नेपालको एक महत्वपूर्ण विकास साझेदारका रूपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो ।

उहाँले दुई देशबिचमा पछिल्लो समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढेकामा पनि खुसी व्यक्त गर्नुभयो । उहाँले कनेक्टिभिटी नेपाल र भारतबिचको सम्बन्धमा अर्थपूर्ण रूपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापका माध्यमबाट पारस्परिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाईमार्गको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा. राणाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । उहाँले नेपालगन्ज–दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्ने बताउनुभयो । 

परराष्ट्रमन्त्री डा. राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिनुभयो । उहाँले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरण गर्नुपर्ने बताउनुभयो । 

विदेश सचिव मिस्रीले आफ्ना समकक्षी अमृतबहादुर राईसँग भेटवार्ता गरी सहकार्यमा भएको प्रगतिको समीक्षा गर्नुभयो । भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसहित नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको विदेश मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । दुईदिने भ्रमण सम्पन्न गरी विदेश सचिव मिस्री सोमबार भारत फर्किनुहुने छ । भ्रमणको तालिका, एजेन्डा र कार्यसूची परराष्ट्र मन्त्रालयले केही दिनमा सार्वजनिक गर्ने जनाएको छ ।