• २ भदौ २०८२, सोमबार

गृह मन्त्रालय ८८ प्रतिशत लक्ष्य हासिल गर्न सफल

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २ गते । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र लक्ष्य तोकिएका कार्यमा ८८ प्रतिशत सफलता हासिल गरेको छ । 

गृहमन्त्री रमेश लेखक नेतृत्वको मन्त्रालयले बितेको पाँच वर्षयताकै उत्कृष्ट लक्ष्य हासिल गरेको देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरूको वार्षिक प्रगति प्रतिवेदन, आव २०८१/८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत काम सम्पन्न गरेको हो । 

यो मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न गर्नुका साथै १३ वटा चालु आवमा जारी रहेको गृह मन्त्रालयले जनाएको छ । आव २०७७/७८ मा ८६.८ प्रतिशत, २०७८/०७९ मा ६४.५ प्रतिशत, २०७९/०८० मा ६९.१ प्रतिशत र अघिल्लो आव २०८०/८१ मा ६८ प्रतिशत माइलस्टोन प्रगति भएको थियो ।

माइलस्टोनको प्रगति विवरण अनुसार गृह मन्त्रालयका सबैभन्दा बढी ८८ प्रतिशत र दोस्रोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ८५ प्रतिशत सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ । 

गत आवमा सम्पन्न माइलस्टोनको मन्त्रालयगत स्थिति हेर्दा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७८ प्रतिशत प्रगति गरेको छ । शासकीय सुधार क्षेत्रमा सरकारले माइलस्टोनको निकायगत प्रगतिमा शासकीय स्वरूप, पूर्वाधार क्षेत्र, आर्थिक र सामाजिक क्षेत्र गरी चार भागमा विभाजन गरेको थियो । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनसहितको कार्ययोजना सरकारको तय गरेको छ ।

गृहमन्त्री रमेश लेखकले पहिलो वर्ष मन्त्रालयको नीतिगत र कानुनी सुधार, व्यवस्थाविरोधी गतिविधि निस्तेज, अपराध अनुसन्धान तथा फैसला कार्यान्वयन, प्रहरीमा सेवा प्रवाहका लागि डेस्क र महाशाखा गठन तथा लागुऔषधविरुद्ध महाअभियान सञ्चालन, विपत् व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, राजस्व चुहावट र सीमापार अपराध नियन्त्रण, सेवा प्रवाह र परिचयपत्र व्यवस्थापन, अध्यागमनको सुधारको पहल र निःशुल्क हेलिकोप्टर उद्धारलगायतका काममा प्राथमिकता दिनुभएको थियो ।