• २ भदौ २०८२, सोमबार

फेरि घट्यो ब्याजदर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १ गते । सञ्चालनमा रहेका वाणिज्य बैङ्कले साउनको तुलनामा भदौको ब्याजदर घटाएका छन् । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ५.६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कले भदौमा ५.५७ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा ४.११ प्रतिशत विन्दु रहेको बैङ्कको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत विन्दुमा झरेको छ ।

साउनको तुलनामा २० वाणिज्य बैङ्कमध्ये आठ वटा वाणिज्य बैङ्कले भदौका लागि ब्याजदर घटाएका छन् भने एउटा बैङ्कले बढाएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एभरेस्ट बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्क र नेपाल एसबिआई बैङ्कले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् भने बढाउने प्रभु बैङ्क रहेको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ । बैङ्कले १.१३ प्रतिशत विन्दुले ब्याजदर घटाएको हो । यता प्रभु बैङ्कले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.३५ प्रतिशत पु¥याएको छ । साउनमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैङ्क प्रभु बैङ्क थियो ।

व्यक्तिगत मुद्दती निक्षेपमा भदौमा एनआइसी एसिया बैङ्कले सबैभन्दा बढी ब्याज दिने भएको छ । बैङ्कले अधिकतम ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैङ्कले साउनकै ब्याजदरलाई निरन्तरता दिएको हो । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैङ्कको रहेको छ । सो बैङ्कले अधिकतम पाँच प्रतिशतका दरले ब्याज दिने छ ।