अमृतप्रसाद पौडेल
म्याग्दी, साउन ३१ गते । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ९० हजार पशुलाई खोप लगाएको छ । विज्ञ केन्द्रले खोरेत, रेविज, पिपिआर, एचएसविक्यु, लम्पी स्कीन तथा क्लासिकल स्वाईन फिबर विरुद्धको भ्याक्सिन लगाएको हो ।
कुल १० हजार नौ सय ८१ घर धुरीमा पालिएका पशु चौपायालाई खोप लगाइएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.भरत रेग्मीका अनुसार जिल्लाका १० हजार एक सय आठ गाईगोरु, १६ हजार दुई सय ८६ भैँसी राँगो र दुई सय ८७ बङ्गुर गरी कुल २६ हजार छ सय ८६ पशुलाई खोरतविरुद्धको भ्याक्सिन लगाइएको हो । त्यसैगरी पाँच हजार तीन सय ३७ पशुलाई लम्पी स्कीनविरुद्धको भ्याक्सिन लगाइएको छ ।
विज्ञ केन्द्रले तीन हजार दुई सय ६२ कुकुर र एक सय ३५ बिरालुलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ । त्यस्तै ४१ हजाुर सात सय १३ बाख्रा र ११ हजार एक सय २९ भेडालाई पिपिआरविरुद्धको भ्याक्सिन लगाइएको छ ।
जिल्लाका छ वटा स्थानीय तह सबैमा रहेका पशुहरूलाई सकभर नछुट्ने गरी भ्याक्सिन लगाइएको डा.रेग्मीले बताउनुभयो । सबैभन्दा धेरै भ्याक्सिन रघुगङ्गा गाउँपालिकाका पशुहरूलाई लगाइएको छ । सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिकाका २४ हजार आठ सय १४ र सबैभन्दा कम मङ्गला गाउँपालिकाकामा आठ हजार नौ सय चार पशुलाई भ्याक्सिन लगाइएको छ ।