काठमाडौँको निसासिँदो वातावरण र व्यस्ततामा जन्मेहुर्केको गाउँको बाल्यकालको एक्कासि याद आयो । कति धेरै समय भइसकेको थियो गाउँ नगएको । बाल्यकालका साथी कता कता होलान् । पल्टु कता होला अचेल । अस्ति एक रात सपनामा आएर उसले भन्यो– खोइ त मेरो सङ्घर्षको कथा बनाउँछु भनेको होइन ? के पढेलेखेका मानिस बेइमान हुनुपर्ने हो ?
उसको कथा लेख्छु भनेर मैले एक वर्षअघि दिएको वचन सम्झायो । मनै चसक्क भयो ।
पश्चिम तराईको एउटा गाउँ, गाउँको छेउमा फुसले छाएको माटे घरमा बस्थ्यो पल्टु यादव । जेठो भोटु, माहिलो चुलबुलपछिको परिवारको कान्छो छोरो थियो ऊ । सम्पत्तिका नाममा केही धुर जग्गा, एक हल गोरु, चार वटा बाख्रा । बेला बेलामा झारफुक गर्थे पल्टुका बुवाले । साधु जस्तै शान्त र शालीन थिए । त्यसैले गाउँमा उनलाई सबैले सधुवा भन्थे । अहिले उनी हाँगाबिगा सुकेर जर्जर भएको पिपलको रुख जस्तै भएका छन् । पल्टुकै सहारामा बाँचेका छन् । आमाले माटाका डेहेरी बनाएर बेच्थिन्, घरगृहस्थी समाल्थिन् । आमा उहिले बितिगइन् । दाइहरू पनि अलग अलग भए । पल्टु यादव मेरो बाल्यकालको साथी, एउटै कक्षामा पढ्थ्यौँ । एउटै खोला र नहरमा पौडी खेल्थ्यौँ । खोलामा पौडी खेलेर आई बगरमा घन्टौँसम्म किसिम किसिमका खेल खेल्थ्यौँ । कुसुम, जामुन, बयर खान सँगसँगै जान्थ्यौँ । यी सबै कुरा आज याद बनेर स्मृतिका बगैँचामा फुलिरहेका छन् । समयक्रमसँगै म किताब समातेर अगाडि बढेँ, पल्टु चाहिँ अभाव र गरिबीको भारीका कारण पढाइ छोड््न बाध्य भयो । कक्षा ५ बाट उसको र मेरो बाटो फेरियो । ऊ अरूको गोठालो भयो । ज्याला मजदुरीको काम गर्न थाल्यो । उसले भन्थ्यो, “मिता लोग, सफर छुटा पढाइ कय, कवनो बात नाही हय, आसमान तक नाही पहुँचब, तब्बो जमिन तो हय !”
पल्टुले बिहे गरेन । मर्नुअगाडि उसकी आमाले विवाह गरिदिन सारै जोडबल गर्दै भनेकी थिइन्, “बेटा सादी कैले ।”
एकछिनको मौनतापछि प्रत्युत्तरमा उसले भनेको थियो, “माई, तु हौ, सबसे नजदिक कय मनैइ, सुखदुख कय सच्चा साथी, हम अकेलय रहब, बियह नकरब, हम अकेलय फुलाब, फैलब और सबकय हो के रहब, सबके घर आँगनमे फुलाब, फैलाब ।”
बरु एक्लै बाँच्ने तर कसैकी छोरीलाई बिहे गरी ल्याएर दुःख नदिने उसको मनसाय थियो । सङ्घर्ष र जीवनलाई प्रेम गर्ने पल्टु सय थरी सपना बोकेर बाँचेको पात्र हो । पल्टु गाउँको भरोसा । कुलो थुनिँदा, कसैका गाईवस्तु हराउँदा, गाउँमा कसैलाई केही अप्ठ्यारो पर्दा, कसैका घरको छानो उडाउँदा, कसैका नानीबाबु स्कुल जान नमान्दा सबै काममा अगाडि सर्ने, अनि गाउँमा पस्न थालेको खोलाको धार बदल्ने र सबैको निराशामा आशाको दियो सल्काउने उही पल्टु भैया नै थियो ।
पल्टु यादव यस कथाको नायक हो । हो, ऊ ठुलो मन भएको सानो मान्छे हो । भुइँमान्छे हो । बर्सौंसम्म उसले नागरिकता पाएन, उसलाई कसैले खोज्दा पनि खोजेनन् । धेरैपछि चुनावताका गाउँका ठुलाबडाले मतको सर्वेक्षण गर्न थाले । ऊ अरूका कुरा सहजै पत्याउने मान्छे, अरूको विश्वास गरिहाल्ने मान्छे । भोटका लागि नागरिक किनबेच भयो । त्यही किनबेचका क्रममा उसले नागरिकता पायो । उसलाई लाग्यो– अब संसार जितिन्छ । उसले अहिले मन मनमा सोच्दो हो, संसार जित्ने त्यो खुसीको दिन कहिले आउने होला ? यहाँसम्म आइपुग्दा उसले संसार नजिते पनि गाउँलेको मन भने जितेको छ । गत वर्ष तिहारमा गाउँ गएको थिएँ । उज्यालो र रङ्गीन तिहारको एक साँझ मेरो ऊसँग जम्काभेट भयो । यो भेट बर्सौंपछिको भेट थियो । म पढाइको सिलसिलामा बग्दै बग्दै राजधानी आएँ । यतैको कृत्रिम र भौतिक दुनियाँमा हराएँ । गाउँसँगको हार्दिकता, सम्बन्ध र भेटघाट क्रमशः पातलिँदै जान थाल्यो । यही पातलो भेटघाटका बिचमा बाक्ला याद सम्झाउने गरी ऊसँग जम्काभेट भएको थियो मेरो ।
झुस्स दाह्री, कैला कैला आँखा तर आँखाभित्र एउटा अद्वितीय आशाको चमक, टाउकामा रातो गम्छा, रातो सेतो धर्सा भएको कलर टिसर्ट, फाटेको मैलो हाफ पाइन्ट, यात्रामा लामो साथ दिए जस्ता देखिने चप्पल लगाएको थियो उसले । हलो र कोदाली समाउँदा समाउँदा भाग्यरेखा मेटिएका हातले निधारका पसिना पुछ्दै अनायास शरीर तनक्क तन्काएर उसले मलाई सलुट ग¥यो । पल्टुको जीवन देखेर गाउँमा कतिले ऊप्रति दया देखाउँछन्, कत्तिले त मजाक उडाउँछन् भन्ने सुनेको थिएँ ।
गाउँलाई नै परिवार बनाएर बाँचेको उसले गाउँघरप्रति कुनै योगदान गर्न नसकेको मलाई किन स्यालुट हान्यो ?
म अलमलमा परेँ । सोचेँ, ऊ आफ्नो सङ्घर्षपूर्ण जीवन देखाएर कुनै पुरस्कारका लागि बाँचेको मानिस पनि होइन । मैले जाने अनुसार उसले दुःखको आरनमा अर्चापिएर भए पनि धर्ती हरिलोभरिलो बनाएको छ । पसिनासँग जीवन र उमेर साटेको छ ।
उसलाई टिकटक बन्द होओस्, खुलोस् केही सरोकार छैन । सरोकार छ केवल मुटुको धड्कन चलिरहोस् । हलो, कुटो र हँसियामाथि राज्यले कुनै प्रतिबन्ध नलगाओस् । यस्तै कर्मशीलताको लयमा उसको जीवन निरन्तर बगिरहेको छ । पल्टुलाई म कहाँ छु, के गर्छु, सायद थाहा पनि छैन । ऊ त मसँगै गाउँकै स्कुलमा पढ्दा पढ्दै बिचैमा छोडेको मान्छे । धेरै वर्ष भेट पनि भएको थिएन । गरिबीका कारण किताब बन्द गरे पनि जीवनसङ्घर्षको किताब उसले कहिल्यै बन्द गरेको थिएन । सोधेँ, “तिमीले मलाई किन सलुट हानेको ?”भन्यो, “तिमी त काठमाडौँमा बस्ने, पढेलेखेको, तिमी जस्तो ठुलो मान्छेलाई मैले सम्मान र आदर गर्न नपाउनु ?” उसको जवाफले म झनै लज्जित भएँ । कहिल्यै बिदा नलिने कृषिशालाको गुरु थियो ऊ, म आवश्यक पर्दा घरि घरि बिदा लिने पाठशालाको शिक्षक । तुलना गर्दै गएँ ऊसँग मैले । हो, गुरु र शिक्षक फरक कुरा हुन् । शिक्षकले पाठ पढाउँछन्, गुरुले जीवन पढेका हुन्छन् र जीवन पढाउँछन् । पल्टु पनि हामीलाई जीवन सिकाउने गुरु हो । म कहिलेकाहीँ नहुँदा त मैले पढाउने पाठशाला चल्छ तर पल्टु नहुँदा त गाउँको सृष्टि नै रोकिन्छ । ऊ बिरामी हुँदा सिङ्गो गाउँ बिरामी पर्छ । धेरै वर्षमा भेटिएको साथी । उसलाई पेटभरि केही खुवाउन मन लागेको थियो । म दुई चार पैसा कमाउन सक्ने घमण्ड भएर होइन, बाल्यकालको हितैषी मित्र भएकाले हार्दिकतापूर्वक निम्ता गरेको थिएँ तर उसले ठाडै अस्वीकार ग¥यो । उसले भन्यो, “हम अपने मेनहत कय कमाई खाइतहन दोस्त ।”
उसको यो स्वाभिमानको सगरमाथा देखेर म नतमस्तक भएँ । यो स्वाभिमानको पाठ संसारका कुनै विश्वविद्यालयले सिकाउन सक्दा रहेन छन् जस्तो लाग्यो । उसको जस्तो स्वाभिमान आज सबै पढेलेखेका मान्छेमा हुन सके समाज कति राम्रो हुन्थ्यो जस्तो लाग्यो ।
उसको फोटो खिच्न मन लाग्यो । खल्तीबाट मोबाइल झिकेँ । मोबाइल देखेर ऊ अचम्मित भयो । मैले जोत्ने हलोको फालीभन्दा ठुलो पो रहेछ भनी खिस्स हाँस्यो र फोटो खिच्न तयार भयो ।
हलोको अनौ समातेका उसका हातका ठेला, वनमा घाँसदाउरा गर्दा काँडा बिझेर बनेका पैतालाका खिल अनि नाम्लोको पातोले रगडिएर बनेको निधारको गहिरो डाम त मोबाइलले खिच्ने प्रयास गरेँ तर उसको हृदयमा रहेका असङ्ख्य चोट सायद संसारका कुनै क्यामराले खिच्न सक्ला र ?फोटो खिचियो । फोटो हेर्दै उसले भन्यो, “काठमाडौँले धनी, सम्पन्न र सुकिला मान्छे हेर्छ रे । हामी जस्ता बेसहारा, श्रमजीवी, मैला, धुस्रा लुगा लगाउने मान्छे नदेखेको हुन सक्छ; त्यसैले यो फोटो काठमाडौँलाई देखाउनु है । काठमाडौँले जानोस् र देखोस् यो देशमा हामी जस्ता मान्छे पनि छौँ भनेर ।” म एकछिनसम्म सोचमग्न भएँ । मैले उसको यो फोटो काठमाडौँमा लगेर कसलाई देखाऊँ, के भनेर देखाऊँ ?
मनमनले मैले भनेँ– पल्टु तिम्रो फोटो मेरो मोबाइलमा मात्र छैन, हृदयको क्यामराले खिचेको तिम्रो तस्बिर छातीको बायाँपट्टि सुरक्षित छ । मौका आएछ भने सिंहदरबार र बालुवाटारतिर तिम्रो फोटो पठाउने छु । क्या बात पल्टु तिमी जस्तो सङ्घर्षशील योद्धालाई मेरो स्यालुट छ ।
म काठमाडौँ फर्कंदै थिएँ पर्सिपल्ट । ऊ मलाई भेट्न आयो र भन्यो, “तैँले कति पढिस् ? पढेको मान्छे तँ त, तँलाई गाउँले कति चिन्छ ?” म खिस्स हाँसेँ, केही बोलिनँ । अनि उसले भन्यो, “मैले त गाउँ पढेको छु, बाँझो खेतका गरा कसरी उर्वर बनाउनु पर्छ, त्यो पढेको छु । सर्पले डसेका गाउँलेलाई कति पटक सास फेर्दासम्म अस्पताल पुर्याउनु पर्छ, त्यो पढेको छु !”
म चढ्ने तीनचक्के ट्याम्पोले मेरो घरनजिकै आइपुगेर बेस्सरी हर्न लगायो । म घरबाट निस्केँ झोला बोकेर । झोलामा मेरो डिग्रीको प्रमाणपत्र थियो । उसैलाई दिन मन लागेको थियो तर विश्वविद्यालयले उसलाई नचिन्ने हो कि भन्ने डरले आफैँ लिएर हिँडेँ ।
ऊ परबाट हात हल्लाउँदै कराइरहेको थियो, “फिरसे वापस आये मिता, गाँव अब्बो बचा है, खत्तम नाइँ भवा ।” उसको अन्तिम आवाज आज पनि मेरा कानमा गुन्जिरहेको छ ।