• २ भदौ २०८२, सोमबार

शरणार्थी सङ्घर्षको ऐतिहासिक अभिलेख

blog

भुटानबाट लखेटिएपछि झापाको शरणार्थी शिविरको कष्टप्रद बसाइ, भोगाइ र पुनर्बाससम्मको वास्तविकता भोग्नेलाई मात्रै थाहा छ तर यसैको दस्ताबेजीकरण ‘खुशीको गाउँ’ मा साहित्यकार खगिन्द्रा खुसीले गर्नुभएको छ । नेपाली पुस्तक बजारमा आएको ‘खुशीको गाउँ’ ले भुटानबाट नेपाल र नेपालबाट तेस्रो देश पुग्दासम्मको कथा सँगालेको छ । साहित्यकार खगिन्द्रा खुसीद्वारा लिखित यो उपन्यास भुटानी शरणार्थीको जीवनसङ्घर्षमा आधारित छ । 

विषयले संवेदनशील, दृष्टिकोणले पृथक र सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक हिसाबले सशक्त उपन्यासले दार्शनिक कोणबाट पनि हेर्न सकिने सामथ्र्य राख्छ । उपन्यासमा पात्रका भूमिका, भाषा शिल्पी, धाराप्रवाह बगेका कथा र अन्तरवस्तुले एकपछि अर्को गर्दै पाठकलाई उत्साहित गर्छ । 

भुटानबाट लखेटिएर नेपालको झापा र मोरङमा आश्रय लिएर बसोबास गरेका शरणार्थीको नेपाली समाजसँग भावनात्मक दुरी थिएन । जाति, भाषा, कला र संस्कृतिका जटिलताहरू थिएनन् तर यतिका समानता हुँदाहुँदै पनि नेपाली बस्तीका सामु उनीहरू कहिल्यै ढुक्क हुन सकेनन् । संवैधानिक र कानुनी रूपमा मानवतावादको राष्ट्रिय, अन्तर्राष्ट्रिय न्यायो अनुभूति गरेका भए पनि शरणार्थीले नेपाली बस्तीबाट गम्भीर मानवीय सवालहरूमा किन कहिल्यै मानवतावादी व्यवहारको अनुभूति गर्न सकेनन् भन्ने कुराको गहिरो जवाफ उपन्यासमा खोजिएको पाइन्छ । यसै कुराको चिरफारमा सशक्त  देखिएका उपन्यासका पात्रहरूलाई समान जस्ता लाग्ने तर अत्यन्त भिन्न दुई फरक सामाजिक अस्तित्व– पहिलो, शरणार्थी शिविर र दोस्रो, शिविरबाहिरको नेपाली बस्तीलाई उपन्यासकार खगिन्द्राले उपन्यास ‘खुशीको गाउँमा’ सचेततापूर्वक सँगाल्नुभएको छ । लेखकले वर्गीय प्रेम र वर्गीय विचारधारामा पात्रहरूलाई उतारेर फरक अस्तित्वहरूको अन्तरघुलनबाट पैदा हुने बलियो सामाजिक सम्बन्ध मात्र होइन, विशिष्ट खाले वर्गीय समाजको सभ्यताको तहबाटै मानवीय मूल्यलाई उपन्यासमा उभ्याउन सफल हुनुभएको छ ।

‘खुशीको गाउँ’ उपन्यासमा प्रेम, वियोग र पुनर्मिलन गरी आदर्शवादी प्रेमका मुख्य तीन आयाम प्रस्तुत भएको पाइन्छ । प्रेमको सौन्दर्य चिन्तनलाई कलात्मक रूपमा प्रस्तुत गर्न सफल खुसी उपन्यासमा परिवर्तित सामाजिक परिवेशको आधुनिकता स्वीकार गर्दै प्रेमलाई पूर्वीय संस्कृतिमा बलियो रूपमा उभ्याएर मौलिक आदर्श प्रस्तुत गर्न सफल हुनुभएको छ । उपन्यासमा  शालीन उत्ताउला रोमान्स मात्र होइन; वास्तविक प्रेम, प्रेमको आदर्श र प्रेमको सौन्दर्य चिन्तनको जटिल संयोजनसमेत भएको पाइन्छ । राजेन्द्र पात्रमार्फत प्रेममा अभिव्यक्त नारी हृदयलाई बुझ्न र हेर्न सक्ने पुरुष आँखाको सामथ्र्य मात्र नापिएको छैन; धनमाया पात्रमार्फत प्रेममा न्याय गर्ने नारी आदर्श र महानतालाई समेत प्रस्तुत गरेर उपन्यासकारले सौता चिन्तन र प्रवृत्तिलाई चुनौती दिँदै प्रेमको गहिरो मूल्यबोध गराउन सफल रहेको देखिन्छ । यसरी हेर्दा उपन्यासभित्र आदर्शवादी प्रेमिल विद्रोह र स्वीकारोक्तिका दार्शनिक मूल्यलाई समेत बलियो रूपमा अन्तरघुलन गराउन सकेको देखिन्छ ।

‘खुशीको गाउँ’  उपन्यास आफैँमा गरिबको अर्थशास्त्र जस्तो रूपमा देखा परेको छ । अभावको सङ्कटपूर्ण जीवन बाँचेका आधारभूत परिवारहरूभित्र आर्थिक व्यवस्थापन कसरी गरिएको हुन्छ भन्ने कुराको ज्वलन्त चित्र प्रस्तुत गरिएको छ । शिविरका आश्रित समुदायमाथि पनि आश्रित भएर बाँचेका बस्तीका समुदायको अवस्थालाई प्रस्तुत गर्दै उपन्यासमा शिविर र बस्तीको वर्गीय आर्थिक धरातल सतहमै ल्याएर देखाइदिएको मात्र छैन, वर्गीय आर्थिक सम्बन्धलाई बलियो उचाइसमेत दिइएको पाइन्छ । आधारभूत वर्गले पहिचान गर्ने आर्थिक स्रोत, स्रोतबाट निर्माण हुने पुँजी र निर्माण भएको पुँजीको परिचालन गर्ने तरिकाबारे जसरी उपन्यासमा देखाइएको छ; त्यसले हरेक मानिसलाई उपन्यासमा देखाइएको आर्थिक दृष्टिकोणले छुन्छ र प्रेरित पनि गर्ने छ ।

उपन्यासमा पहिचानको अर्थ र महत्वलाई गम्भीर रूपमा देखाइएको पाइन्छ । गोजीमा देशको नागरिकता बोकेका बस्तीका मान्छे र देश गुमेका, नागरिकता गुमेका भुटानी शरणार्थी शिविरका मान्छेहरूको बिचको अन्तरविरोध, त्यसका जटिलता र उत्पन्न मनोविज्ञानलाई उपन्यासमा सशक्त रूपमा प्रस्तुत गरिएको छ । देशको राजनीति बिग्रिएमा कसरी नागरिकले पहिचान गुमाउनु पर्छ भन्ने कुरालाई प्रस्तुत गर्दै नेपाली नागरिकले आफ्नो देश र नागरिकताप्रति किन गौरव गर्नु पर्छ भन्ने कुराको उत्तर उपन्यासमा महत्वसाथ उठाएको पाइन्छ । ‌पात्रहरूको मनस्थिति र भावनात्मक उतारचढावलाई उपन्यासले राम्ररी प्रस्तुत गरेको छ । 

उपन्यासको भाषाशैली सरल र भावनात्मक छ; जसले पाठकलाई कथासँग जोड्न मद्दत गर्छ । उपन्यासकार खगिन्द्राले घटना र भावनालाई बुझ्न सजिलो हुने गरी प्रस्तुत गर्नुभएको छ । 

भुटानी शरणार्थी समस्या नेपालको आधुनिक इतिहासको एक महत्वपूर्ण र दुःखद पक्ष हो । उपन्यासकार खुसीले ‘खुशीको गाउँ’ उपन्यासमार्फत ऐतिहासिक घटनालाई साहित्यिक रूप दिएर भावी पुस्ताका लागि एक महत्वपूर्ण दस्ताबेज सुम्पिने महान् काम गर्नुभएको छ । यसले भुटानी शरणार्थीको सङ्घर्षलाई अभिलेखीकरण गरेको छ । त्योभन्दा ठुलो कुरा विश्वभर पहिचान गुमाएर कठिन जीवन बाँचेका भुइँमान्छेहरूको साझा भोगाइलाई उपन्यासले पर्दाबाहिर ल्याइदिएको छ ।

भुटानी शरणार्थी शिविरमा केन्द्रित भएर पनि यो उपन्यास पहिचान गुमाएर बाँचेका मानव जातिको साझा दस्ताबेज बन्न सक्ने फराकिलो आकार निर्माण गर्न सफल छ । शिविरको दायरा साघुँरो हुनु र लेखकले शरणार्थी शिविरको दायरालाई बृहत् अन्तर्राष्ट्रिय समस्यासँग जोड्न गरेको प्रयत्नको पहलकदमी नपुग्दा भने पाठकको मनमा उपन्यासको विषयवस्तुले चाहे अनुरूपको बृहत् आकार लिन नसकेको हो कि भन्ने आभास हुन्छ । लेखकले आज चलिरहेको अन्तर्राष्ट्रिय द्वन्द्व र विश्वभरका शरणार्थी बन्न बाध्य मान्छेलाई मात्र कल्पना गरिदिएको भए यो उपन्यासले कस्तो मूल्य निर्माण गथ्र्यो होला ? यो उपन्यास पढ्ने हरेक पाठकको मनमा यो प्रश्न उठ्छ । उपन्यासमा यो कुराको अभाव खड्किएको छ ।

मुख्यतः भुटानी शरणार्थीको समस्या राजनीतिक समस्या हो । भुटानीले कस्तो राजनीतिक दाउपेचको सामना गर्नु परेको थियो ? राजनीतिक चक्रमा परेर लखेटिएका शरणार्थीलाई नेतृत्वले कसरी धोका दियो ? वा नेतृत्वको भूमिका कस्तो रह्यो ? भन्ने कुरा उपन्यासमा जति देखिनुपर्ने हो, त्यो मात्रामा यो मुख्य सवाल कमजोर रूपमा देखिएको छ । यो प्रखर रूपमा प्रकट भएको भए सुनमा सुगन्ध हुने थियो भन्ने लागेको छ ।

‘खुशीको गाउँ’ उपन्यासले भुटानी शरणार्थीको जीवनको एउटा महत्त्वपूर्ण दस्ताबेजका रूपमा काम गर्छ । यसले साहित्यमार्फत एउटा समुदायको पीडा, सङ्घर्ष र आशालाई विश्वसामु पुर्‍याउन मद्दत गरेको छ । 

समाजले छोरीलाई हेर्ने दृष्टिकोण विभेदकारी नै छ । विभेदकारी समाजभित्र बुहारी हुनु झनै कठिन कुरा हो । पराईघरमा रहेर पनि उपन्यासकार खुसीले आफ्नो कलमलाई सशक्त रूपमा प्रस्तुत गर्न सक्नुले उहाँले समालेको परिवारको माथिल्लो वैचारिक स्थितिलाई पनि झल्काएको छ । यो उपन्यासभित्र विषयको यस्तो शृङ्खला पनि छ; जो आफ्ना श्रीमान् र परिवारको अनुमतिले मात्र लेख्न सकिने स्थिति हो । यस्तो खुलस्त आख्यानमा पोखिएर रमाउने पारिवारिक वातावरण सबै लेखकका लागि दुर्लभ कुरा पनि हो । समग्रमा ‘खुशीको गाउँ’ नेपाली साहित्यमा एउटा सशक्त र पठनीय कृति हो; जसले पाठकलाई विचार गर्न र मानवीय दुःखप्रति संवेदनशील बन्न प्रेरित गर्छ ।