बर्सौंको खडेरीपछि आज जीवनमा भारी वर्षा भइरहेछ । थाह छैन यो वर्षात्ले राहत दिन्छ कि बाढीको आहत । हातमा एउटा चिठी छ । त्यही चिठीले मनमा उमङ्ग र बेचैनी दुवै पैदा गरेको छ । मन अस्थिर छ । चिठीको खाममा प्रापकको नाम लेखिएको छ– रमेश र रमिला । उनीहरूकै नाम । हो उनीहरूकै नाम । त्यसो त धेरै चिठीहरू आएका छन् र आउँछन् उनीहरूको नाममा तर आज यो चिठी अघिपछि आउने हरेक चिठीभन्दा विशेष छ । विशेष यस कारणले छ कि प्रेषकको नाम लेखिएको छ– सरला ।
छोरीको नाम देख्नै बित्तिकै हर्षले थाम्नै नसकिने गरी बढिसकेको थियो, उनीहरूको मुटुको ढुकढुकी । आँखाहरूमा आँसु भरिएर सागरको छाल झैँ छछल्किरहेको छ । पत्याउन गाह्रो भएको छ । उनीहरूले आँखा मिची मिची दोहो¥याई तेह¥याई हेरेँ खाममा लेखिएको नाम । हो आफ्नै छोरीको नाम छ त्यहाँ । बिदा गरेर पठाएको झन्डै चार वर्षसम्म उसको कुनै खबर नआएकाले उनीहरू सरलासँग बेखुसी थिए । आफ्नो घरमा फोन नभए पनि गाविसको अध्यक्षको घरको फोन नम्बर त लगेकी थिई उसले तर अहँ एक कल पनि फोन आएन । टाढाकी फुपू साइनो पर्ने भए पनि आफूले भर गरेकी मान्छेले खोजिदिएको खाइलाग्दो र धनी परिवारको केटाको जिम्मा लगाएर छोरीलाई पठाएकाले उनीहरू खुसी थिए । ढुक्क पनि थिए । जिन्दगीमा पहिलो पटक भेटेको कुनै अन्जान सहरको एउटा अन्जान केटालाई ज्वाइँ बनाएर केवल टिकोटालोको भरमा खुसी खुसीले बिदा गरेका थिए उनीहरूले आफ्नी प्यारी छोरीलाई । छोरीको सुखद जीवनकै लागि त उनीहरूले छोरीको मन्जुरीबिना नै त्यो निर्णय लिएका थिए । छोरी हिँडेकी केही वर्षसम्म त उसको खबर आउने आसामा थिए उनीहरू तर अब भने उनीहरू पिरोलिरहेका थिए । यतिका वर्ष छोरीले आफूहरूलाई वास्ता नगर्दा चित्त पनि दुखाएका थिए । ‘सुखमा रमाएपछि बाबुआमालाई के सम्झन्थी र ! ठिकै छ उसको भलो होस्’ भनी चित्त बुझाउँदै आएका थिए । आज यसरी अचानक छोरीको खबर लिएर पत्र आउँदा उनीहरूको हर्षको सिमा नरहनु स्वाभाविक हो । चिठीका रूपमा आफ्नै छोरी उनीहरूको सामुन्ने उभिएकी देखे उनीहरूले । अब अरू थप कुर्न सक्ने धैर्य रहेन । रमेशले हतार हतार खाम खोले । भित्र एउटा पत्र भेटे । उनले पत्र निकाले र पढ्न थाले ।
“मेरा प्यारा बा आमा, ढोग गरेँ ।”
मैले चार वर्षसम्म तपाईंहरूलाई कुनै किसिमले नि सम्पर्क गर्न सकिन । त्यसका लागि माफी चाहन्छु । यो मेरो रहर थिएन विवशता थियो । हजुरहरूले मारे पाप पाले पुन्य भन्दै मलाई दान गरेर दिएको त्यही हुनहार ज्वाइँको साथमा म सहर आएँ । फुपूले बताए झैँ उनीहरूको एउटा विशाल बङ्गला छ । सम्पन्नताले भरिपूर्ण त्यस घरमा अरू कुनै कुराको कमी छैन् । कमी छ त एउटै कुराको त्यो हो मानवता । त्यहाँ मानिस बस्दैनन् । हृदयबिनाको प्राणीहरूको बास छ त्यहाँ । थाहा छ आमा, सुरुका केही दिन लोलोपोतो गरे पनि उनीहरूले मलाई बुहारीको दर्जामा कहिले राखेनन् । उसले पनि मलाई श्रीमतीको स्थानमा राखेन । म सबैका लागि एउटा नोकर्नी थिएँ भने उसका लागि एउटा रखेल मात्र । त्योभन्दा पनि पीडादायी कुरा छ, मन दह्रो गरेर सुन्नु होला– रक्सीले मातिएको बेला ऊ मलाई उसको साथीहरूसँग बाड्न चाहन्थ्यो । मैले सहमत जनाइनँ भने मलाई पिट्थ्यो र जथाभावी मुख छोड्थ्यो ।
मैले त जसोतसो सहेकी थिएँ तर आफ्नी छोरीले एउटा अब्बल जीवन र घर पाएकी छे भन्ने हजुरहरूको त्यो विश्वासमा तुसारापात हुन दिन चाहन्नथेँ म । त्यसैले मैले यी सबै कुरा लुकाइराखेँ । कसैलाई भनिनँ । एक दिन उसले मलाई एउटा भोजमा लग्यो । भोज पनि के भन्नु, जँड्याहाहरूको जमघट थियो त्यो । त्यहाँ उसका साथीहरू मातिएर बसेका थिए । रक्सी, चुरोट र गाँजाको गन्ध र धुँवाले मलाई सास फेर्न मुस्किल परिरहेको थियो । उनीहरूले मलाई जबर्जस्ती मदिरा पिलाउन खोजे र उनीहरूसँग टाँसिएर नाच्न कर गरेँ । मैले त्यसो गर्न आनाकानी गरेपछि उसले मलाई तँ पखनी मेरो इज्जत राख्न सक्दिनस् भन्दै भुत्ल्यायो । त्यो पनि मैले दाह्रा किटेर सहेको थिएँ । त्यसपछि उसका साथीहरूले मेरो इज्जतमाथि नै खेलबाड गर्न खोजे । म चिच्याएँ, रोएँ र कराएँ । मेरो श्रीमान् भनाउँदो त अघि नै नसाले अर्ध बेहोस भएर ढलिसकेको थियो । म सहाराविहीन थिएँ । मेरो हारगुहार सुन्ने कोही थिएन त्यहाँ । उनीहरूले हुँडारले सिनो लुछे झैँ लुटे मेरो अस्मिता आमा । म कतिबेला बेहोस भएछु थाहा भएन ।
बिउँझिँदा म एउटा पुलमुनि थिएँ । मेरो शरीरको तल्लो भाग रगतको भेलमा डुबेको थियो । हरेक अङ्गमा असह्य पीडा बोध भइराखेको थियो । म बलत्कृत भएको थिएँ । मेरो आगाडि एउटा अनौठो आकृति गालामा हात राखेर टुव्रmुक्क बसेको थियो । उसको जिङ्ग्रिङ परेको कपाल, झुसे दाह्री, मैला र फाटेका झुत्रा पहिरन देखेर म तर्सिएँ । पहेँला र नमिलेका दाँतहरू प्रदर्शन गर्दै उसले मुख खोल्यो । ऊ भन्दै थियो, “नडराऊ म धनी छैन् । म इज्जतदार घरको पनि होइन । मैले पढेको पनि छैन । म पुलिस पनि हैन । मेरो आफ्नो मान्छे कोही छैन । घर र थर पनि छैन । तिमीलाई हिजो उता झालमा बेहोस अवस्थामा भेटेर यहाँ लेराएको हुँ ।’
मेरो मुटु चले पनि म मरेको छैन भन्नेमा म ढुक्क थिइनँ । मैले ट्वाल्ल परेर उसलाई हेरिरहेँ । मेरो मुहारमा कुनै समवेदना नदेखेर होला ऊ नै बोल्यो फेरि, ‘तिमीमाथि कस्तो घटना घट्यो होला र अहिले तिमीलाई कति पीडा भएको छ, म त्यो महसुस गर्न सक्छु । हिँड म तिमीलाई अस्पताल पुर्याइदिन्छु । तिम्रा आफन्तलाई खबर पनि गरिदिन्छु ।’ म एकोहोरो उसको कुरा सुनिरहेको थिएँ । पछिल्ला समयका घटन चलचित्र झैँ दिमागमा घुम्न थाले । उठ्न खोजेँ, सकिनँ । उसले साहारा दिन खोज्यो । अचानक तपाईंहरूलाई सम्झेँ, गाउँ र आफन्तहरूलाई सम्झेँ, ती पापीहरूलाई सम्झेँ अनि त्यही घररूपी नरकलाई सम्झेँ । भुइँमा थ्याच्च बसेँ । म चिच्याएँ, ‘भो म जान्न अस्पताल । म कहीँ जान्न । यो समाचार मेरा गाउँघर र मेरा बाआमाको कानमा पुग्यो भने ! मेरा प्यारा बाआमाको इज्जत र प्रतिष्ठा बर्बाद हुन्छ । बरु म मर्छु । मलाई मर्ने उपाए बताऊ ।’
मेरो यो कुरा सुनेर ऊ बेस्सरी झोँक्कियो र भन्यो, ‘मर्न त्यति सजिलो भएको भए तिमी हिजै मरिसक्थ्यौ । ठिक छ तिमीलाई कतै जान मन छैन भने यतै बस केही समय । म केही औषधी लिएर आउँछु ।’
ऊ यति भनेर हिँड्यो । आफ्नै गाँसबासको ठेगाना नभएको त्यो मान्छेले बरु मेरो राम्रो स्याहार सुसार गर्यो । केही मागेर लिएर आएको र केही फोहोरको थुप्रोबाट खोजेर लिएर आएको खाना खुवाएर मलाई तङ्ग्य्रायो ।
एक महिनापछि थाहा भयो, त्यो घटनाले मलाई जिन्दगीभरि नभरिने अर्को घाउ दिएर गएछ । मेरो पेटमा बच्चा बसेछ । त्यसपछि त झन् मेरा लागि आत्महत्याबाहेक अरू कुनै बाटो बाँकी रहेन तर त्यही पेटमा हुर्किरहेको ज्यानले मलाई मर्न पनि दिएन । उही खाते केटो मेरो दिन र रातको साथी भयो । ऊ हामीले पुज्ने भगवान् हैन । एउटा साह्रै असल मान्छे छ । ऊ न मेरो नाम सोध्छ, न गाउँ सोध्छ, न त मेरो इतिहास नै खोतल्छ । मेरो इज्जतको ख्याल गर्छ बरु । ठुला ठुला घर, गाडी, धन र इज्जत भएकाहरूको गिद्दे नजरबाट मलाई बचाउन बिरालोले बच्चा सारे झैँ एक ठाउँबाट अर्को ठाउँ सारी रहन्छ । कहिले यो पुलमुनि त कहिले अर्को पुलमुनि । मेरो स्वास्थ दिन प्रतिदिन बिग्रिँदो छ । म अब धेरै बाँच्दिनँ होला तर मर्नुअघि म एक पटक तपाईंहरूलाई देख्न चाहन्छु ।
उही तपाईंहरूको अभागी छोरी सरला
यति बेलासम्म सरलाको आमा सोफामा ढलिसकेकी थिइन् । उनी छाती पिटी पिटी रुँदै थिइन् । बाबुको पनि त्यस्तै हालत थियो । चिठी पढ्दा पढ्दै उनको गला अबरुद्ध हुन्थ्यो । आँखा आँसुले भरिन्थ्यो । उनी आफ्नो र श्रीमती दुवैको आँसु पुछ्थे । लामो सास लिन्थे अनि फेरि पढ्थे । उनीहरूलाई आफूले गरेको त्यो निर्णयप्रति पछुतो त भयो नै, त्योभन्दा पनि छोरीको मायाले छाती चिरिएर आयो । यो वर्षाले साँच्चै नै आँसुको बाढी लिएरआयो । रमिलाले धुरू धुरू रुँदै भनिन्, ‘जानुस् सरलाको बा गएर मेरो छोरीको जिउँदो लास लिएर आउनूस् । नत्र म यसै मर्छु । कम्तीमा उसको अनुहार त हेरेर मर्न पाउँछु । गई हाल्नूस् ।’
रमेश के गर्ने कसो गर्ने अलमलमा परेका थिए । भने, ‘जान्छु, आजै जान्छु । हिँड् तँ पनि मसँग । हामीले गरेको पापबाट मुक्ति त पाउन सक्तैनौँ तर पनि छोरीसँग माफी माग्न सक्छौँ । बरु कहाँ पो छे होला त अहिले ?’
उनले पुनः पत्रमा हेरे । पत्र सकिएको थिएन । ‘ए ! पख पख यहाँ अझै बाँकी रहेछ । उसको ठेगाना छ कि त तल ?’ यति भनेर उनी अगाडि पढ्न थाले ।
“प्यारा बा आमा, मेरो यो दर्दानक कथा सुनेर हजुरहरूलाई पिडा भयो होला । ग्लानि भयो होला । म बुझ्छु । बरु त्यही बिर्खेसँगै बिहे गरिदिएको भए छोरीले यस्तो नारकीय जीवन भोग्न त पर्दैनथ्यो भन्ने ख्याल मनमा आयो होला यतिबेला ।
आजभन्दा चार वर्षअघि तपाईंहरूले मलाई एउटा धनी र इज्जतदार परिवारको भनेर एउटा अन्जान मान्छेको जिम्मा लगाएर अन्जान ठाउँमा पठाउने बन्दोबस्त गर्नु भयो । त्यसको अघिल्लो दिन मैले नितालाई भेटेकी थिएँ । उही पल्लो गाउँको हरि काकाको छोरी क्या त ! मेरो स्कुले सङ्गी । मैले भेट्दा ऊ दुब्ली, रोगी र निरास थिई । एक हिसाबले ऊ जिउँदो लास नै थिई । माथि मैले लेखेको घटना सबै उसको जीवनमा घटेको थियो । उसले त्यसै गरी मलाई बताएकी थिई । उसलाई पनि उसका बा आमाले त्योभन्दा चार वर्षअघि त्यसै गरी बिदा गरेर पठाएका थिए। जब मैले निताको मुखबाट उसको जीवनमा घटेको त्यो बीभत्स घटनाका बारेमा सुनेँ, मेरो सातो गयो । अब मेरो पनि त्यस्तै हबिगत हुन सक्छ भन्ने कल्पनाले मात्र पनि म थरथर काँपेकी थिएँ । साँझ उसले बताएका सबै कुरा म हजुरहरूलाई भन्छु भनेर गएको थिएँ तर मैले कुरो मात्र सुरु गरेको थिएँ, हजुरहरूले मलाई रोक्नुभयो र टोक्नुभयो । ‘अर्काको कुरा नगर् । तेरै सुखका खातिर हामीले यसो गर्न खोजेका हौँ । खुरुक्क तयार भएर बस् । त्यो बिर्खेसँग हिमचिम छ हैन तेरो ? हाम्रो नाक काट्ने विचार छ तेरो !..’ आदि के के भन्नुभयो मैले पूरा सुन्न पनि सकिनँ । म रातभर रोएँ । जुन दिन म तपाईंहरूले सुम्पेको कृष्णकाजीको पछि लागेर सहरतिर हिँडेँ, त्यही दिन बिर्खे पनि सहर हिँड्यो । बाटोमा मैले कृष्णकाजीलाई अनेक बाहनामा रिस उठाइरहेको थिएँ । मैले भोक हड्ताल गरेकी थिएँ । नारायणघाट पुगेपछि भोक र तिर्खाले हिँड्नै नसकेको नाटक गरेँ । ऊ मसँग रिसायो । म पनि रिसाएँ । अति भएपछि एक पटक उसले मलाई धकेलिदियो । म लडेँ । मैले त्यहाँबाट उठ्नै नसकेको बहाना बनाएँ । उसले पनि मलाई उठाएन । ऊ मेरा लागि पानी र औषधी लिन नजिकैको मेडिकलतिर गयो । त्यही मौकामा हाम्रो योजनाबमोजिम बिर्खे र म त्यहाँबाट भाग्यौँ । काठमाडौँतिर हिँडेको हामी
झापातिर लाग्यौँ ।
झापा पुगेपछि सुरुमा हामीले दुःख पायौँ । सानातिना काम गर्याैं । एकछाक खाएर बस्यौँ तर साथ छोडेनौँ । आफू काम गर्दै बिर्खेले मलाई पढ्न पठायो । हामीले एउटा किराना पसल थाप्यौँ । त्यही व्यापारबाट अहिले हामी हाँसीखुसी जीवन बिताइरहेँका छौँ । हो हामीले जन्ति र पुरेतबिना नै मन्दिर घुमेर बिहे पनि गर्याैं । मलाई त्यसको पछुतो छैन । अब तपाईंहरूको ज्वाइँ बनिसकेको छ बिर्खे । उही तपाईंहरूले तथाकथित तल्लो जात र गरिब भनेर हेप्ने गरेको बिर्खे तर मेरा लागि सबैभन्दा प्यारो मान्छे ।
अँ ! एउटा खुसीको कुरा छ । हजुरहरू अब छिट्टै हजुरबा हजुरआमा बन्दै हुनुहुन्छ । सायद नातिनातिनाको मायाले तपाईंहरूलाई मेरो नजिक लिएर आउँछ कि भन्ने आशामा छु ।
–उही हजुरहरूको प्यारी छोरी सरला
पुरा पत्र पढिसकेर उनीहरू फेरि एक पटक रोए र भोलिपल्टै छोरी र ज्वाइँलाई भेट्न झापातिर हिँडे । (मधुपर्क)