• १२ भदौ २०८२, बिहिबार

पशुपन्छी प्रवर्धन, उत्पादन तथा खोपका लागि चार करोड बजेट

blog

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङ । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), साउन ३१ गते ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङमा चालु आर्थिक वर्षका लागि चार करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

केन्द्रले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ १० लाख रुपियाँ र चालुतर्फ चार करोड २० लाख ८६ हजार रुपियाँ बजेट विनियोजन भएको जनाएको छ । केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले पशुपन्छीको प्रवर्धन तथा पशु खोप लगायतका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको बताउनुभयो ।

यस वर्ष कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मस्य उत्पादन तथा प्रवर्धन कार्यक्रम केन्द्रमा नयाँ रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँले केन्द्रमा पशुपन्छी तथा मस्य व्यवसाय प्रवर्धन कार्यक्रम, पशुमा पूर्णखोप कार्यक्रम, सुशासन तथा परदर्शिता कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, र पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमहरु निरन्तरता रहेको बताउनुभयो ।

गत आ.व.मा केन्द्रले ७६ दशमलव ४ प्रतिशत वित्तीय प्रगती गरेको छ । पुँजीगत तर्फ ८८.८ प्रतिशत, चालु प्रशासन तर्फ ७५.७ प्रतिशत र चालु कार्यक्रम तर्फ ७६.२० प्रतिशत प्रगती गरेको प्रमुख डा. सापकोटाको भनाइ छ । त्यसैगरी, ७४ वटा आयोजना र कार्यक्रमहरु सञ्चालन गरी ८० प्रतिशतभन्दा बढी प्रगती हासिल गरेको विज्ञ केन्द्रका प्रमुख डा.सापकोटाले जानकारी दिनुभयो ।

गत आवमा नै केन्द्रले ढोरपाटन क्षेत्रमा घुम्ती प्रणालीअन्तर्गत रहेका भेडाबाख्राहरुको स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नुका साथै गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकामा विभिन्न स्थानमा संचालन गरेको शिविरबाट ८९९ जना कृषकका तीन हजार १२२ वटा पशुपन्छीको उपचार गरकोे डा. सापकोटाले जानकारी दिए । केन्द्रले कुल एक लाख ९३ हजार ७१२ पशु चौपायलाई पूर्णखोप प्रदान गरेको छ भने एक सय ९० कुकुरको बन्ध्याकरण तथा रेविज खोप लगाएको छ ।