• २ भदौ २०८२, सोमबार

पशुपति क्षेत्रको दयनीय अवस्था

blog

भगवान् पशुपतिनाथको मन्दिर रहेको, अनेकौँ मूर्त अमूर्त सम्पदाले भरिपूर्ण पशुपति क्षेत्र, विश्वसम्पदा सूचीमा सूचीकृत एउटा अनुपम धरोहर हो । यहाँको प्राचीन वास्तुकला, धार्मिक महìव र सांस्कृतिक जीवन्तता भक्तजन, दर्शनार्थी र सम्पदाप्रेमीका लागि सधैँ आकर्षणको केन्द्र बनेको छ । वैदिक सनातन धर्मावलम्बीका साथै बौद्ध, जैन, सिख सबैका लागि यो पवित्र र पावन तीर्थस्थल हो । यो पावनधाम कर्मभूमि, दानभूमि, साधनाभूमि र मोक्षभूमिको सङ्गमस्थल पनि हो । यहाँका मठ–मन्दिर, घाट, नदी, वनजङ्गल र वर्षभरिका जात्रा–पर्वहरूले यसलाई जीवन्त राख्छन् । पशुपति क्षेत्र धर्म, संस्कृति, इतिहास, कला, वास्तुकला, पुरातत्व, प्रकृति, प्रथा र परम्पराको एकीकृत धरोहर पनि हो । कर्मयोगीका लागि कर्मभूमि, दानवीरका लागि दानभूमि, साधकका लागि साधनाभूमि र मोक्षार्थीका लागि मोक्षभूमिका रूपमा चिनिँदै आएको यो क्षेत्रलाई यसैले सनातन धर्मावलम्बीहरू कर्म, भक्ति र ज्ञानको त्रिवेणी मान्छन्  । आधुनिकताको अहिलेको अन्धो दौडमा यी धरोहरको प्राचीन स्वरूपलाई कसरी बचाउने त ? 

परम पावन क्षेत्र

पशुपतिनाथ, नेपालको प्रमुख तीर्थस्थल हो, वेद, महाभारत, पुराण, आनन्द रामायण, हिमवत्खण्ड, नेपाल माहात्म्य, पशुपति पुराण आदि ग्रन्थमा विभिन्न प्रसङ्गमा यहाँको उल्लेख भएको पाइन्छ । ऋग्वेद र यजुर्वेदमा रुद्र, शिवलाई ‘पशुपति’ को रूपमा वर्णन गरेको छ भने स्कन्दपुराण र शिवपुराणमा पशुपतिनाथको दर्शनलाई मोक्षदायी मानिएको छ । 

भगवान् पशुपतिनाथको गुणगान र महत्वगान भएका अनेक मन्त्र र प्रार्थनाले वेद भरिएको छ । यसै कारणले हो विश्वका तमाम सनातन हिन्दुधर्मावलम्बीका लागि नेपालस्थित पशुपतिनाथ परम पावन तीर्थस्थलको रूपमा रहेको छ । विश्वका करिब डेढ अर्बभन्दा बढी हिन्दुधर्मावलम्बीका लागि पशुपतिनाथको मन्दिर श्रद्धा, विश्वास र आस्थाको केन्द्र हो । यसै कारण तीनधाम, चारधामको यात्रा गरिसकेपछि या कैलाश–मानसरोवरको दर्शन गर्न जानुअघि र फर्केपछि पशुपतिनाथको दर्शन–पूजन गर्ने चलन के नेपाली, के भारतीय, के सात समुद्रपारिका हिन्दुहरू सबैमा व्यापक छ । 

पशुपतितत्व

‘पशु’ र ‘पति’ यी दुई शब्दबाट ‘पशुपति’ शब्द बनेको छ । पशु भन्नाले ज्ञानको अभाव, विवेकको अभाव र चेतनताको अभाव भएको पाशमा बद्ध जीवात्मालाई भनिन्छ । यसैले दुई खुट्टे, चार खुट्टे पशु मात्र होइन सर्वोत्कृष्ट सम्झिएको मानिसमा पनि अज्ञानताले ढाकुञ्जेल, विवेकको अभाव भएको स्थितिमा ऊ पशु बराबरै हुन्छ । पशुपतिनाथको पूजा, अर्चना एवं उहाँप्रतिको साँचो भक्तिभावले व्यक्तिमा भएको अन्धकार नाश हुन्छ, विवेक जागृत हुन्छ र आत्म साक्षात्कारको मार्गमा प्रवृत्त हुन्छ । पशुपति सम्पूर्ण जीवात्माहरूका पति अर्थात् स्वामी हुनुहुन्छ । पशुपति शब्दको व्युत्पत्ति गर्दै जाँदा भनिएको पाइन्छ– “पशून् जीवात्मनः पातिरक्षतीति पशुपतिः” अर्थात् जसले सम्पूर्ण पशुप्राणीको रक्षा गर्छ, उहीँ नै 

‘पशुपति’ हो । पशुपति स्वयं नै परमात्माबोधक, स्वामी, पति हुनहुन्छ नै फेरि त्यही शब्दमा ‘नाथ’ जोडेर अझ बढी आदर, सम्मान गर्न खोजिएको पाइन्छ । 

विश्वमा भव्य संरचना त जति पनि छन्, हाम्रो पहिचान भनेको हाम्रो धर्म–संस्कृति, मौलिकता र प्राचीनता हो, यो कदापि बिर्सनु हुँदैन । सम्पदामा धर्म–संस्कृतिको प्राण रहेन भने त्यसमा जीवन्तता बाँकी रहँदैन । हरेक दिन हजारौँ स्वदेशी–विदेशी भक्तजन टाढा–टाढाबाट पशुपतिनाथको दर्शनकै आशाले नेपाल आउँछन् । तीर्थयात्री एवं दर्शनार्थीका लागि मात्र होइन, कलापारखी, प्रकृतिप्रेमी र सम्पदाप्रेमीका लागि पनि यो क्षेत्र त्यत्तिकै दर्शनीय र उदाहरणीय छ  । अनेकौँ मूर्त–अमूर्त सम्पदाको कारण यो क्षेत्र एक किसिमले भन्ने हो भने जीवन्त खुला सङ्ग्रहालयतुल्य छ । 

गुरुयोजनाको अभाव

पशुपति क्षेत्र जस्तो विश्वसम्पदा सूचीमा आबद्ध स्थलमा अहिलेसम्म उपयुक्त र उपयोगी गुरुयोजना बन्न नसक्नु दुःखद हो । गुरुयोजनाको अवधारणालाई नै गुरुयोजना हो भनेर अलमलिएर बसेको अवस्था छ । यही कारणले पशुपति क्षेत्रको प्राचीन स्वरूप बिस्तारै नष्ट हुँदै गइरहेको त होइन ? 

बार–बन्देजको नाउँमा जताततै अनावश्यक रूपमा अग्ला–अग्ला फलामेबारले घेर्नु के जरुरी थियो ? सत्तल–पाटी–पौवाहरूको ऐतिहासिक, पुरातात्त्विक महत्वको ख्यालै नगरी ठुलठुला सूचनापाटी किला ठोकेर टाँस्नुले पशुपति क्षेत्रको महत्व र मर्यादालाई नबुझेको सहजै देखिन्छ । गएको साल शिवरात्रिमा पाल्नुहुने तीर्थयात्रीको स्वागतार्थ ठाउँ ठाउँमा टाँगिएको तुलकपडा, फ्लेक्सबोर्ड चार महिनादेखि तुन्द्रुङ्ग झुन्डिरहेको अवस्थाले कोषका पदाधिकारी तथा कर्मचारीको अकर्मण्यतालाई सङ्केत गरिरहेको छ । कोषको गोठाटारस्थित जग्गा लथालिङ्ग अवस्थामा छ । 

तिलगङ्गाछेउको बस्ती अधिग्रहण भएर मुआब्जा दिएको १० वर्षभन्दा  बढी भइसक्यो, दिनुपर्ने घडेरी उपलब्ध नगराउँदा अधिग्रहण गरेको जग्गामा लक्षित कार्य हुन सकेको छैन । पशुपतिनाथ मन्दिरको दक्षिण–पश्चिमस्थित ‘वज्रघर’ बिजोग अवस्थामा पुगेको वर्षौँ बितिसक्यो, त्यसको समुचित संरक्षण, संवर्धन हुन नसकी बेहाल अवस्था छ । यति स साना विषयमा पनि कोषका पदाधिकारी र कर्मचारीको ध्यान नगएको देख्दा मन्दिरमा दर्शनार्थ आउने दर्शनार्थीले मनमा के सम्झेर जालान् ? 

३९ वर्ष बितिसक्दा पनि पशुपति क्षेत्रको गुरुयोजनाको अवधारणाबाहेक वस्तुपरक गुरुयोजना आउन सकेन । विकास–निर्माणका काम जे जति भएका देखिन्छन्, ती सुस्त गतिमा छन् । गौशालादेखि पञ्चदेवलसम्म प्रस्तर फलक छाप्ने त्यति सानो खण्डको काम करिब दुई वर्ष बितिसक्दा पनि समयमा नसकेर भक्तजनलाई आउ जाउ गर्न कष्टकर भइरहेको छ । पर्यटकका लागि प्रवेशद्वार झैँ बनेको तिलगङ्गादेखि रामघाटसम्मको प्रस्तरबाटोको ठाउँ ठाउँमा प्रस्तर खण्डित भएर दुई चार जना विदेशी नलडेको दिनै हुँदैन । यसतर्फ कसैको ध्यान पुग्न सकेको पाइन्न ।

यसै गरी अन्तिम अवस्थाको दाहसंस्कार, क्रियाकर्ममा आउनेको आर्यघाट, भस्मेश्वरघाट तथा विद्युतीय शवदाहगृहको कारण सधैँ भिडम भिड नै हुन्छ । त्यसरी आउनेहरूका लागि बनाइएका शौचालयलाई सफा–सुग्घर र दुरुस्त राख्न सकेको पाइन्न । भएको शौचालयको भित्र छिर्न सकिने अवस्था छैन । ठाउँ–ठाउँमा सुविधासम्पन्न शौचालयको आवश्यकता बढ्दै गएको छ । अर्कोतिर शिवरात्रि, सद्बीजारोपण, तिज, नयाँ वर्ष, ऋषितर्पणी, साउन महिनाको सोमबार जस्ता विशेष दिन एवं तिथि पर्वमा आउने असङ्ख्य भिडका लागि स्थायी रूपमा शौचालय, स्नानागार र लकरको त्यत्तिकै आवश्यकता छ । 

दाहसंस्कार गरिसकेपछि घाटमा नुहाउने चलन बागमती नदीको बिजोग अवस्थाको कारण हटिहाल्यो । क्रियापुत्रीहरूका लागि घाटमा नुहाउन सजिलो होस् भनी आर्यघाट एवं भस्मेश्वरघाटमा निर्माण भएका ढुङ्गेधाराको डुँडहरू त छन् तर पानी नआएको बर्सांै भइसक्यो, त्यसलाई हेर्ने कोही छैन ! पशुपतिनाथ मन्दिरको पश्चिमपट्टिको गोपुर छेउमा ‘चन्द्रिकानन्दन खरेल’ ले कत्रो उत्साह र श्रद्धाले निर्माण गरिदिएको ढुङ्गेधारा अहिले केवल हेर्न मात्र काम लाग्ने भएको छ । कोषलाई जिम्मा लगाइदिइसकेपछि त्यसको मर्मत–सम्भार गर्ने जिम्मा कोषको होइन ? त्यहाँ किन पानीको पहुँच पु¥याउन नसकेको ? मेलाम्ची खानेपानी आयोजनासँग किन समन्वय गर्न नसकेको ? वनकालीमा रहेको पार्किङ स्थलको त्यस्तै नाजुक अवस्था छ । अस्थायी रूपकै किन नहोस् वनकालीको वर्तमान पार्किङ क्षेत्रमा पक्की पार्किङ बनाएर कार, मोटरबाइकहरूका लागि सुविधा दिनु आवश्यक छ । वर्षाको समयमा अहिले त्यहाँ पानीको आहाल जम्छ ! त्यही आहालमा स्वदेशी विदेशीले बाध्य भएर आआफ्नो परिवहनको सःशुल्क पार्किङ गरिरहनु परेको नाजुक अवस्थाले गिजाइरहेको छ । 

बिहान सबेरै मन्दिर पुगे पशुपतिनाथको दर्शन गर्न सजिलै सकिन्छ नत्र गर्भगृहभित्र पुगेर दर्शन गर्छु भन्ने भीडको कारण मन्दिरभित्र छिर्न सक्ने अवस्था छैन । त्यहाँ पनि फलाना र ढिस्कानाको मान्छे भनेर छिराउने चलनले प्रोत्साहन पाएको सुनिन्छ । अर्को मूल गर्भगृहमा फलामे बार राखिदिएको कारण ओर्किन–फर्किन नसक्ने भएको नाजुक अवस्था छ । हिजोआज बाटो–दोबाटोमा किन्नरगण खै कहाँबाट आएका हुन् निकै देखिन्छन्, उनीहरूको मुख्य काम नै पशुपतिनाथको मन्दिरमा जाने–आउने भक्तजनबाट चन्दा उठाउनु भइरहेको देखिन्छ । यो झन्डै चार–पाँच वर्षदेखि तीव्र रूपमा चलेको धन्दा हो, यसलाई निरुत्साहित गर्न कोही लागेको देखिन्न । यसै गरी हरेक दिन पशुपतिनाथ मन्दिर वरपर ब्राह्मणभेषधारी पण्डाहरूले भक्तजनलाई पशुपतिनाथको मन्दिर भनेर अन्यत्रै पु¥याइ ठग्ने, लुट्ने क्रम बढ्दै गएको सुनिनु सामान्य भइसकेको छ । ‘पशुपतिनाथको यात्रा सिद्राको व्यापार’ भन्ने उखान अहिले चरितार्थ हुँदै गएको छ । गाँजा, भाङ एवं लागु औषधीको कुलतमा लागेकाहरूको झुन्ड मृगस्थली, वनकाली, भण्डारखाल वरपर बिहान–बेलुका देखिनु सामान्य भइसकेको ज्यादै नाजुक अवस्थालाई कसरी समाल्ने होला राष्ट्रिय स्तरमै सोच्नुपर्ने बेला आइसकेको छ । 

मन्दिरको वैभव आधुनिकता र भौतिकतासँग होइन, प्राचीनतासित जोडिएको यथार्थ कोषका निर्णयाधिकारीले मनन नगर्ने हो भने त्यहाँ बेथितिको बग्रेल्ती अरू बढ्दै जाने देखिन्छ । धार्मिक, सांस्कृतिक, पुरातात्त्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकैले यो पावन क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको हो, जहाँ पशुपतिनाथ, गुहेश्वरीलगायत थुप्रै मठमन्दिर, आश्रम, विहार चैत्य, विहार जस्ता सम्पदा छन्  । विश्वसम्पदामा सूचीमा पर्नु भनेको विश्वको सम्पदा हो । यहाँ जति राम्रो व्यवस्था र बन्दोबस्तसाथ दर्शनार्थी, तीर्थयात्रीलाई सुविधा पु¥याउन सकियो त्यत्ति धेरै दर्शनार्थीको आवागमन बढ्छ । बर्सौंको प्रतिक्षापछि नेपाल र भारतको संयुक्त प्रयासमा निर्माण भएको ‘नेपाल भारत पशुपति धर्मशाला” आनन्द होटेल बन्दा पनि तैँचुप–मैँचुपको स्थिति छ ।

अहिलेको नयाँ पुस्तामा धर्म–संस्कृतिप्रति जिज्ञासा, उत्साह र अन्योल नभएको होइन छ तर त्यसको जिज्ञासा मेट्ने ठाउँ कतै छैन । मठ मन्दिरमा जाँदा त्यहाँ देखिनुपर्ने शान्ति, आध्यात्मिकताभन्दा नकारात्मक कुरा– अव्यवस्था, बेथिति, फोहरमैलाको डङ्गुर र सुविधाको अभाव जताततै खट्किन्छ । युवा–युवती, विद्यार्थी एवं ज्येष्ठ नागरिकहरूका लागि मठ मन्दिरहरू कसरी प्रेरणाका स्रोत बन्न र बनाउन सकिन्छ भन्नेतिर ध्यान दिनु अहिलेको सन्दर्भमा अपरिहार्य आवश्यकता छ । 

उद्घाटन भएको भोलिपल्टदेखि बन्द गरिएको ‘पशुपति सङ्ग्रहालय’ करिब चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस्तो किन भइरहेको छ ? रामघाटस्थित राममन्दिर एवं लक्ष्मीनारायण मन्दिर वरपरको सत्तल, पाटीपौवालाई जीर्णोद्वार एवं पुनर्निर्माण गर्न भनी भत्काएको सात/आठ वर्ष बितिसक्दा पनि तिनको उद्धार हुन सकेको पाइन्न । यसले यस मन्दिरमा विभिन्न पर्वविशेषमा आउने–बस्ने साधु–सन्त, योगी, जोगीलाई अप्ठेरो परेको बर्सौं भइसक्यो । 

पशुपति क्षेत्र जस्तो जीवन्त धार्मिक–सांस्कृतिक स्थलको महìव र जीवन्तता भनेकै त्यहाँ भएका मठ मन्दिर, आश्रममा गर्नुपर्ने नित्य–नैमित्तिक कार्यको निरन्तरता, साधु–सन्त, महात्माको उपस्थिति र उहाँहरूले दिने ज्ञान–गुनमा अवगाहन गर्न पाउनु हो । त्यसको अभाव खट्किएको छ । 

यी सबैले कोषको व्यवस्थापन पक्ष र कार्यक्षमतामाथि प्रश्न उठाउँछन् । कत्रो सतसङ्कल्पले उठान भएको ‘पशुपतिक्षेत्र विकास कोष’ मा कालो धब्बा लगाउने र प्रश्नचिह्न लगाउने क्रियाकलापले धार्मिक आस्था र विश्वासप्रति कुठाराघात गरिरहेको कतै सुहाउने काम भएको छैन भन्नै पर्छ । व्यवस्थापनमा चुकिरहेका छौँ ? यो दिन प्रतिदिन चुलिँदो छ । भगवान् भरोसामा मन्दिर चलिरहेको छ भन्नुपर्दा दुःख लाग्छ । पशुपतिनाथ मन्दिर र प्राङ्गणको सरसफाइ, घाटक्षेत्रको सरसफाइ, मृगस्थली, वनकाली, गुह्येश्वरी मन्दिरको सरसफाइ, वत्सलेश्वरी क्षेत्रको सरसफाइमा ढङ्ग नपुगेको देख्दा तीर्थयात्री, भक्तजन, दर्शनार्थी एवं पर्यटकले नाक खुम्च्याउने परिस्थिति छ । 

पशुपति क्षेत्रको सौन्दर्यका आधार

पशुपति क्षेत्र भई बहने बागमती नदी, घाट, पोखरी, कुण्ड, वन–जङ्गल यहाँका प्राकृतिक सौन्दर्य हुन् । बागमती नदीकै कारण पशुपति क्षेत्र तीर्थको रूपमा कहलिएको हो । बागमती नदीलाई बचाउन सकिएन भने तीर्थत्व बाँकी रहँदैन । पशुपति क्षेत्रमा भएका धार्मिक महत्वका अनगिन्ती कुण्ड, पोखरी, ढुङ्गेधारा मासिइसके । पशुपतिनाथ मन्दिरकै छेउ भएर बहने पवित्र बागमती नदीको बिजोग छ, बागमतीको नाउँमा करोडौँ रुपियाँका परियोजना हिजोका दिनमा सञ्चालन भए भने अहिले अर्बौं रुपियाँको परियोजना सञ्चालनमा छ, तापनि बागमतीको प्रदूषणमा कुनै कमी आएको पाइँदैन । अहिलेसम्म एकथोपा पानीलाई शुद्ध्याउन सकेको देखिन्न । आर्यघाटमा भएको ब्रह्मनालमा जीवन र मरणको दोसाँधमा रहेको व्यक्तिलाई बाग्मतीको पवित्र जल र पशुपतिनाथको मन्दिरबाट बहेर आउने जललाई ‘अर्घजल’ मानेर खुवाउने उहिलेको चलन अब कथा जस्तो भयो । हात चोपेर जल सेँचन गर्न सक्ने अवस्था छैन । बागमती नदीको पानीमा स्नान गर्ने कुरा त कता हो कता ! बागमती कोरिडोरका दायाँ–बायाँका रुख–बिरुवाले शीतलता दिए पनि ‘बागमतीमा स्वच्छ जल’ दिन सकेको छैन ।

बागमती नदीलाई पहिलेको अवस्थामा ल्याउन कसरी सम्भव होला ? एकातिर काठमाडौँमा बागमती नदीको कोरिडोर निर्माणले यस क्षेत्रको जनघनत्व ह्वात्तै बढ्न पुगेको छ । ती घर–भवनका फोहर ढलको गन्तव्य बागमती नदी बनेको छ, अर्कोतिर बाग्मती नदीमा बहने पानी २० औँ वर्षदेखि काठमाडौँवासीको पिउने पानीका निम्ति शतप्रतिशत नै प्रयोगमा रहेको अवस्थामा कसरी फेरि स्वच्छ र सफा बागमती बहला ? 

पशुपति क्षेत्रका पुराना बस्ती

पशुपति क्षेत्रमा भएका मठ–मन्दिरहरूसँग त्यहाँको पुरानो बस्ती र बासिन्दाको आफ्नै प्रकारको निकटको सम्बन्ध छ ।  पशुपति क्षेत्रमा हुने पर्वपूजा र संस्कृतिको संरक्षण गर्दै आएका तिनै बस्तीको पनि प्राचीनता मासिँदै गएको छ । आधुनिकताको नाउँमा नयाँ कङ्क्रिटका घर एक्कासि बढेर ‘कङ्क्रिटको जङ्गल’ जस्तो बन्न पुगेको दुःखदायी छ । ती नयाँ निर्माण भएका एकाध घरबाहेक अरूमा पुरानोपनको कुनै अवशेषसम्म देख्न पाइन्न । पशुपति क्षेत्रको निश्चित क्षेत्र तोकेर त्यहाँभित्र बन्ने घरमा पुरानोपन देखाउन झ्याल–ढोका, तोरण, टुँडाल र घरको बाहिरी गारोमा ‘दची अपा’ ले बनाउन सकेको भए पनि पुरानोपनको झलक आउँथ्यो । त्यसै गरी निश्चित क्षेत्रको सडक, बाटो, गल्लीमा सम्पदा क्षेत्रको झलक दिन प्रस्तरफलक छाप्नेलगायत भएका मण्डप, सत्तल, पाटीहरूमा पनि त्यसै गरी पुरानो ढङ्गले मर्मतसम्भार गर्न सकेको भए त्यहाँको प्राचीनतालाई कायम राख्न सकिन्थ्यो । जताततै कालोपत्रेले प्रोत्साहन पाउँदा प्राचीनता विलुप्त बन्छ भन्ने हेक्का राखेको पाइन्न । जसको कारण पशुपति क्षेत्रमा पुगिसकेपछि पाइनुपर्ने शान्ति र आनन्दपन हराउँदै गइरहेको भान पर्छ । 

पशुपतिनाथ मन्दिर जस्तो पावन र पवित्र मन्दिर अवस्थित ठाउँमा निर्माण हुने घर–भवनमा मापदण्ड लागु गर्नुपर्ने निकायले बेवास्ता गर्दा पशुपतिनाथ मन्दिर वरपरको भूदृश्य माथि नै अतिक्रमण भइसकेको कुरा बागमती पुल, मृगस्थली, कैलाश डाँडाबाट खिचिने पशुपतिनाथ मन्दिरको तस्बिरमा देख्न पाइन्छ । मन्दिरको पृष्ठभूमिमा पहिलेको जस्तो डाँडा–काँडा, रुख होइन बडे–बडे घर–भवन देखिँदा लाग्छ, पशुपतिनाथ र पशुपति क्षेत्रको प्राचीन स्वरूपलाई हामी जानाजान मेट्दै छौँ । 

हो, विकासको गतिलाई रोक्न गाह्रो छ तर त्यसले विनाश निम्त्याउँछ भने नियम कानुन र आचारसंहिताले रोक्न सक्नु पनि पर्छ । संस्कृति र सम्पदाले ओतप्रोत भएको क्षेत्रमा संरक्षण, संवर्धन र प्रवर्धन नै विकास हो भन्ने सोच राखिनु पर्छ  । यहाँको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको वैभवलाई पुरानै स्वरूप, शैलीमा संरक्षण गरेर पशुपतिनाथप्रति श्रद्धा, भक्ति, आस्था देखाउने विश्वभरिका दर्शनार्थी, तीर्थयात्री, कलापारखी, पर्यटक र सम्पदाप्रेमीको अतुलनीय गन्तव्य स्थलको रूपमा ख्याति बढाउन हरसम्भव सबैतिरबाट पहल हुनु जरुरी छ ।  

नेपालको प्रमुख तीर्थस्थलमध्येको एक ६४ शिव लिङ्गको केन्द्रविन्दुमा रहेको छ, पशुपतिनाथको मन्दिर र पशुपति क्षेत्र । यहाँका स्थानीय एवं रैथानेको विश्वास र सहभागिताको साथमा अघि बढ्दा मात्र यहाँको प्राचीनता, संस्कार–संस्कृति जोगिन्छ  । सम्पदाको ऐतिहासिकता, प्राचीनता, पुरातात्त्विकतालाई ध्यान नदिएर अन्धाधुन्ध विकास गर्दा विगतमा कति प्राचीनता नष्ट भइसकेका छन्  । थप क्षति हुन नदिन कोष सदैव सचेत हुनु पर्छ  । 

अन्त्यमा

पशुपति क्षेत्र केवल मन्दिर होइन, धर्म, कला, संस्कृति, पुरातत्व, इतिहास र परम्पराको पवित्र सङ्गमस्थल हो । यस क्षेत्रको संरक्षण, संवर्धन, प्रवर्धन हाम्रो पहिचान र गर्वको कुरा हो । पशुपतिनाथको मन्दिर र पशुपति क्षेत्र जस्तो परम पावन स्थल नेपालमा हुनु हामी सबै नेपालीको गौरवको विषय हो । यति महनीय, पूजनीय, आदरणीय धरोहर जोगाउन सकेनौँ भने आउँदा पुस्ताले हामीलाई कहिल्यै माफ गर्ने छैनन् । अब ढिला गर्नु हुँदैन–संरक्षण, संवर्धन र प्रवर्धनको सङ्कल्प आजैबाट सबैले गरौँ ।