घटना विसं २०३१ साउन ३१ गते रातिको हो । जुन रात ओखलढुङ्गा जिल्लाको छहरे कोइरालागाउँमा जन्मिएका एक होनहार युवकलाई महोत्तरी जिल्लाको मटिहानी पुलिस थानाअगाडि मारिएको थियो । पञ्चायती व्यवस्थाविरोधी अराष्ट्रिय तत्व ठहरिएका उनी प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्षरत नेपाली कांग्रेसका कर्मठ योद्धा केशव कोइराला थिए । उनको हत्या भएको ४९ वर्षपछि शव भेटिएको स्थलनजिकै सालिक स्थापना गर्न बल्ल सम्भव भयो । विसं २०८० चैत ३ गते सङ्घीय गणतान्त्रिक मुलुकका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सालिक अनावरण हुँदा परिवारका सदस्य मात्र नभएर समारोह स्थलमा उपस्थित आमजनसमुदाय नै भावविभोर बनेको थियो ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षरत पार्टीको एउटा योद्धा मारिएथ्यो । त्यस्ता सयौँ योद्धा तत्कालीन शासनव्यवस्थाबाट मारिएका थिए । क्रान्तिकारी कवि भूपी शेरचनले बलिदानीपूर्ण इतिहास सम्झाइरहने कालजयी कविता लेखेर छोडिदिएका छन्– ‘हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए !’
अरू दिन नभए पनि बर्सेनि आउने सहिद सप्ताहमा कवितामार्फत नै भए पनि हामी सहिदको स्मरण भावविभोर हुँदै गर्दछौँ । सबै तह र तप्काका उसरी नै नतमस्तक भइरहेका हुन्छौँ । सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रण राज्य सञ्चालनका उच्चपदस्थबाट समेत गरिन्छ । आमनागरिकको विकास र समृद्धिको चाहना पूरा गर्ने प्रतिबद्धता व्यक्त हुन्छन् । यथार्थमा सहिदका सपना यिनै त थिए होलान् र पूरा गर्ने प्रण हरेक वर्ष दोहो¥याइन्छ ।
जनताका हक अधिकारको प्राप्तिका लागि भएका अनेक चरणका विद्रोह र आन्दोलनमा जीवन उत्सर्ग गरेका सहिदको सपना साकार पार्ने प्रण अनुयायीद्वारा मन्त्र जस्तै गरी जपिँदै आएका सुनेका छौँ– सहिदका सपना साकार पार्छौं ! व्यवहारमा भने अनेक अलमल देखिन्छन् । मुलुकले जुन रूपमा विकास र समृद्धिको गति समात्नुपर्ने थियो, त्यस अनुरूप अघि बढ्न सकिएको छैन । राजनीतिक उतारचढाव र सत्ताको छिनाझपटी मुख्य बाधक देखिएकै छन् । कतिसम्म भने प्रजातान्त्रिक हक अधिकारका लागि जीवनभर लडेकाहरू तथा सहिदका परिवारजन खुसी हुन सकिरहेका छैनन् । प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय गणतान्त्रिक शासनव्यवस्था प्राप्तिको १० वर्ष भइसक्दा पनि आमनागरिकलाई न्यायोचित व्यवहार नगरिएको, सहिदका सपनाको अवमूल्यन भएको, सहिदका परिवारले सम्मानपूर्ण व्यवहार पाउन नसकेको जस्ता गुनासो उठिरहेकै छन् ।
उनै क्रान्तिकारी कवि भूपीले भनेथे– ए मरेर सहिद हुनेहरू हो, बाँचेर त हेर बाँच्न कति गाह्रो छ ! वास्तवमा आमनेपालीको जीवन भोगाइ सरल र सहज हुने कहिले भन्ने प्रश्नले उत्तर पाउने समय आउन अझै कति कुर्नुपर्ने हो भन्ने यकिन छैन ।
सन्दर्भ हो– प्रजातान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गरेका उनै योद्धा केशव कोइरालाको स्मृतिको । विसं २००७ देखि विसं २०६२/६३ सम्म आइपुग्दाका राजनीतिक उतारचढाव, तत्कालीन शासकीय प्रवृत्ति, सहादतका शृङ्खला, माओवादी जनयुद्धकालीन त्रासदपूर्ण अवस्था, तराई/मधेशको आन्दोलन, राजतन्त्रको अन्त्य, यावत् शृङ्खला प्रजातान्त्रिक व्यवस्था प्राप्तिमा जनचेतना अभिवृद्धिका घटनाक्रम हुन् । देशले समयानुकूल ग्रहण गरेका राजनीतिक परिवर्तनका दस्ताबेज हुन् । विसं २००७ मा राणा शासन अन्त्य हुँदा त्योभन्दा ठुलो उपलब्धि अर्को कुनै हुनै सक्दैनथ्यो । २०४६ सालको संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको प्राप्ति पनि उत्तिकै ठुलो उपलब्धि थियो ।
यही २००७ र २०४६ को बिचको राजनीतिक उतारचढाव र सहादतका शृङ्खलाको इतिहासमा अग्रणी ओखलढुङ्गाको माटोको योगदानलाई हामीले लिपिबद्ध गरेर प्रजातान्त्रिक आन्दोलनका दस्ताबेजका रूपमा अगाडि ल्याएनौँ भने व्रmमशः ओझेलमा पर्ने सम्भावना टड्कारो छ । प्रजातान्त्रिक आन्दोलनको इतिहासमा ओखलढुङ्गाको माटोले जितेको छ, वीर योद्धाहरूको सहादतले मुलुक सिञ्चित छ । एउटै जिल्लामा जन्मिएका ५७ जनाले प्रजातान्त्रिक आन्दोलनका विभिन्न चरणमा सहादत प्राप्न गरेका छन् । यिनैमध्येका एक थिए सहिद केशव कोइराला । ओखलढुङ्गा र सोलुखुम्बुबिचको जङ्गलमा घटित ‘टिम्बुरबोटे काण्ड’ अर्को त्रासदीपूर्ण घटना थियो । इतिहासले पक्कै पनि बिर्सिने छैन नै ।
सहिदको सहादतको मूल्याङ्कन सतही सोचाइबाट हुन सक्दैन । मुलुकमा स्थापित गणतन्त्र नै उनीहरूको रगतले सिञ्चित माटोको जगमा ठडिएको छ । प्रजातन्त्रको स्थापनादेखि पुनस्र्थापनासम्म र पुनस्र्थापनादेखि सुदृढीकरणसम्म– सैयौँ नेपाली आमाका वीर सपुतले प्रजातन्त्रका लागि प्राणाहुति दिएका छन् । तानाशाही सत्ताले गोलीको निसानी बनाएका र मातृभूमिको स्वतन्त्रताका लागि हाँसीहाँसी छातीमा तातो गोली थाप्नेहरूको राणा शासनदेखिको रक्तरञ्जित इतिहास कसैले मेट्न खोजेर मेटिँदैन ।
प्रजातन्त्रको मिर्मिरे बिहानीसँगै विसं २००७ असार ३१ गते पिता पं. भवनाथ उपाध्याय कोइराला र माता लालकुमारी कोइरालाको कोखबाट ओखलढुङ्गा जिल्लाको रातमाटे, छहरे (कोइरालागाउँ) मा जन्मिएका केशव कोइराला साइँलो छोरा थिए । पण्डित कुलका भएकाले प्रारम्भिक शिक्षा घरमै आर्जन गरी १२ बर्से कलिलो उमेरमै गृहत्याग गरेर दाजुहरूको साथ लागी महोत्तरी जिल्लाको ज्ञानकुपस्थित राजकीय संस्कृत प्रधान पाठशालामा अध्ययन गर्न पुगेका थिए । उनको पढाइप्रतिको लगनशीलताकै कारण १९ वर्षको कलिलो उमेरमै विसं २०२६ मा शास्त्री पास गर्न सफल भएका थिए । उनी पढाइमा जति रुचि राख्थे, त्योभन्दा बढी रुचि राजनीतिमा थियो । १३–१४ वर्षको उमेरदेखि नै सक्रिय रूपमा विद्यार्थी आन्दोलनमा समाहित भइसकेका थिए । नेपाल विद्यार्थी सङ्घको गठन भएपछि जनकपुरमा यसको अध्यक्षका रूपमा रहेर काम गरेका थिए । उता तरुण दलको सक्रिय सदस्यसमेत भएका थिए । छात्रवासमा पनि स्पष्ट रूपमा दुई खेमामा विद्यार्थी विभाजित हुँदा प्रजातान्त्रिक विद्यार्थी खेमाको नेतृत्व केशव कोइरालाले गरेका थिए ।
बुवाआमा, श्रीमती र घरव्यवहारलाई चटक्कै छोडेर जनकपुरलाई नै आफ्नो कर्मक्षेत्र बनाउन पुगेका केशवको जनकपुरका त्यस समयका जल्दाबल्दा नेता–बोधदादा, सरोज कोइराला, महेन्द्रनारायण निधिसँगको सम्पर्कले उत्साह थपिदियो । उनले धेरै नेताबाट प्रजातन्त्रको पाठ पढ्ने मौका पाए । आफ्ना सहपाठीमा सबैभन्दा तेज र जोसिलो ठिटो साबित भइसकेकाले चर्चाको शिखरमा पुग्न समय लागेन । यसले गर्दा उनका हरेक क्रियाकलापमाथि प्रशासनको कडा निगरानी हुन थाल्यो । उनका पछाडि प्रशासनले सुराकी खटाउन थालेथ्यो । उनी जस्तै अप्ठ्यारो स्थितिमा पनि आफ्नो अडानमा रत्तिभर विचलित भएनन् । सहपाठी तथा सहयात्री महन्थ ठाकुर, हरिहर विरही, आनन्द ढुङ्गाना, नारायण घिमिरे, महेश कोइराला, विमलेन्द्र निधि, गणेश नेपालीलगायतका युवाले साथमा साथ, हातमा हात मिलाएर पञ्चायती व्यवस्थाका विरुद्धमा जनकपुर क्षेत्रमा अनेक गतिविधि निरन्तर अघि बढाएका थिए ।
नेता सरोज कोइराला र बोधदादामार्फत बनारस, फारविसगन्जलगायतका ठाउँमा विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईसँग भेटघाट र उहाँहरूबाट अझ स्पष्ट मार्गदर्शन पाएपछि उनीभित्रको
व्यवस्थाविरोधी ज्वालामुखी झन् उम्लिन थाल्यो । बनारसबाट पर्चा–पम्प्लेट ल्याएर रातारात जनकपुर–मटिहानी, मटिहानी–जनकपुर छ्यापछ्याप्ती पार्न सक्रिय भइरहे । यस्ता काम सुनसान रातको समयमा गरिन्थे । कति पटक छात्रावासमा छापासमेत मारेर पुलिसले तरुण पत्रिकाका अङ्क र पम्प्लेट बटुलेर आगो लगाएको थियो । महेन्द्र जयन्तीका अवसरमा जनकपुरको मध्य भागमा रहेको महेन्द्रको सालिकमा मसी र ध्वाँसो पोतेर कुरूप पारिदिनेसम्मका कार्य सहज रूपमा गरिएका समकालीनले स्मरण गरिरहेकै छन् ।
उनलाई प्रशासनले आफ्नो घर ओखलढुङ्गा जानसमेत रोक लगाएको थियो । भूमिगत रूपमा भेष बदलेर अनेक उपायबाट घर पुग्दा सँगसँगै पुलिस घर घेर्न पुगिहाल्थे । त्यसैले उनी गाउँलेका घर र गाउँमाथिको जङ्गलमा समेत रात बिताउन बाध्य हुन्थे । झोलामा ‘तरुण’ अङ्क, पर्चाहरू, नेपाली कांग्रेसको सदस्यता रसिदका प्याड बोकेर ओखलढुङ्गा, सोलुखुम्बु, दिक्तेल, सिन्धुली, धनुषा, महोत्तरी र सिराहाका गाउँ गाउँमा पञ्चायती व्यवस्थाका विरुद्धमा जनतामा चेतना भर्दै हिँड्ने केशव कोइराला राजा महेन्द्रको सालिकमा कालो पोतेपछि भने पक्राउ पर्छन् । जेलमा दिएका यातनाका सम्बन्धमा उल्लेख गर्नु आवश्यक छैन । जनकपुरदेखि जेल सार्दै काठमाडौँ सेन्ट्रल जेलमा ल्याएर एक वर्षसम्म कडा यातनाका साथ राखिन्छ र जमानतमा छोडिन्छ ।
नेता सरोज कोइरालाको षड्यन्त्रपूर्ण तरिकाबाट भारतको मधुवनीमा विसं २०३० कात्तिक २ गते हत्या गरिएपछि उनी असह्य पीडामा पुग्छन् । उनीभित्रको ज्वालामुखी विस्फोट हुन पुग्छ । यता पार्टीले सशस्त्र आन्दोलनको घोषणासमेत गरिसकेका हुन्छ । देशभरका पार्टीसम्बद्ध युवा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र क्रान्तिमा होमिनै लागेका अवस्थामा केशवले सर्वप्रथम मटिहानी थानालाई आफ्नो लक्ष्य बनाउन पुगे । रातको समयमा केही साथीको सहयोगमा मटिहानी थानामाथि बम प्रहार गरे । दुर्भाग्यवश बम राम्रोसँग पड्किएन । भाग्दै गर्दा केशवलाई पुलिसले ताकेको गोली लाग्यो । उनलाई समातेर थानामा लगेर अनेक यातना दिएर हत्या गरियो ।
विसं २०३१ साउन ३१ गते रातको समयमा गोलीको आवाज र चिच्याहट सुनेर वरपरका मानिस र छात्रावासका विद्यार्थी जुर्मुराउँछन् तर उठेर जाने साहस कसैमा हुँदैन । बिहान विशाल भिड जम्मा हुन्छ र व्यवस्था र प्रशासनका विरुद्धमा नारा लगाइन्छ । शवलाई दाहसंस्कारका लागि माग्दा दिइँदैन तर ठुलो छात्र दबाबपछि प्रशासनकै नियन्त्रणमा दाहसंस्कार गर्ने गरी शव दिइन्छ । यसरी नेपाल आमाका एक कर्मठ योद्धालाई अमानवीय व्यवहारबाट निष्प्राण बनाएकै स्थलमा ४९ वर्षपछि सालिक निर्माण हुन पुग्यो । सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाको सहयोगमा श्रीराम माध्यमिक विद्यालयको प्राङ्गणमा सालिक स्थापना गरिएको छ । अर्धकदको सालिक परिवारको सौजन्यमा उपलब्ध गराइएको थियो भने सम्पूर्ण व्यवस्थापन प्रतिष्ठान र पालिकाले गरेका थिए । राजतन्त्रको विरोध गर्दै राजाको सालिकको तोडफोड गरेर कालो पोत्ने क्रान्तिकारी युवाको सालिक सोही भूमिमा स्थापना भयो । सङ्घीय गणतान्त्रिक मुलुकका राष्ट्रपतिद्वारा अनावरण हुन पुग्यो । १७ वर्षको उमेरदेखि पतिवियोग भोगेर काखे छोरीसँग जीवन गुजार्दै बुढ्यौलीको लयमा उक्लिसकेकी सहिदपत्नी गुणकुमारी कोइरालाले पतिको सालिकमा छाँद हाल्दाको क्षणले उपस्थित जनसमुदायलाई उद्वेलित बनाएथ्यो ।
सहिद केशव कोइराला राजनीति मात्र नभएर साहित्यिक क्षेत्रमा पनि सक्रिय थिए । विद्रोही भावनाले भरिएका सयौँ कविता उनीद्वारा रचिएका थिए । दर्जनौँ डायरीका पाना कविता र दैनिकीले भरिएका थिए । ‘के. काइदा’ साहित्यिक रचनाको उहाँको अर्को पाटो थियो । जनकपुरका साहित्यिक समारोहमा ‘के. काइदा’ सहभागी भएपछि बेग्लै माहोल बन्दथ्यो । साहित्यिक क्षेत्रमा कलम चलाएर प्रखर व्यक्तित्वका रूपमा चिनाउने अवसर राजनीतिक कारणबाटै बाधक भएको पनि हुन सक्छ तर कविता विधामा ‘के. काइदा’ तत्समयमा रुचाइएको नाम थियो ।
छात्रावासबाट उनका किताब र डायरी पुलिसले कतिचोटि जफत गरेको थियो भने सहादतपश्चात् पनि घरमा छापा मारेर पत्रपत्रिका र डायरी जफत गरेको परिवारले बताएका छन् । यसले गर्दा सङ्गृहीत गरेर कृतिका रूपमा सार्वजनिक गर्न सकिएन । परिवारले लुकाउन सकेका केही डायरी कविता र दैनिकीले भरिएका अद्यापि छँदै छन् । ‘के. काइदा’ आज हाम्रोसामु नभए पनि उनले रोजेको बाटो, आदर्श र त्यागले जीवन्तता पाएको छ । उनको सहादत सार्थक भएको छ । पुण्यतिथिको आजको दिनमा शाब्दिक श्रद्धासुमन !