आफूलाई अध्येता र अनुसन्धाताका रूपमा प्रस्तुत गर्ने कसैलाई पनि ज्योतिर्विद् नयराज पन्तका बारेमा भनिरहनुपर्ने त होइन तर पनि विषय प्रसङ्ग अनुसार उहाँका व्यापक विशेषतामध्ये केही उल्लेख गरिनु प्रासङ्गिक नै हुन जान्छ । विशेष गरेर ज्योतिषभित्रको पनि गणितीय क्षेत्रका विशिष्ट विद्वान् उहाँ नेपालको इतिहासका साथसाथै संस्कृत भाषा, व्याकरण र साहित्यका क्षेत्रमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । त्यस बेला पनि सामान्यतया अङ्ग्रेजी भाषामा पनि व्यावहारिक ज्ञान भएका उहाँले नेपाली साहित्य क्षेत्रको कविता विधामा समेत विशेष ज्ञाता भई आफूलाई कविका रूपमा उभ्याउनुभएको थियो । विसं १९७० साउन २६ गतेका दिन काठमाडौँको महाबौद्धमा जन्मनुभएका उहाँलाई अधिकांश हामीले चिन्ने भनेको इतिहासविद् एवं ज्योतिर्विद्का रूपमा नै हो । उहाँको प्रतिभा कुनै एक विषयमा मात्रै केन्द्रित त भएन नै तर पनि विशेष क्षेत्रचाहिँ इतिहास र ज्योतिषको नै रह्यो । उहाँले इतिहासका क्षेत्रमा गर्नुभएका कार्यका प्रमाणका रूपमा विभिन्न समयमा प्रकाशित अनेकौँ लेख, रचना र पुस्तक रहेका छन् ।
उहाँको अध्ययन/अनुसन्धानको विशेष कार्यक्षेत्र ज्योतिष हो । ज्योतिष विषयभित्र पनि सिद्धान्त अर्थात् गणित ज्योतिषका विषयमा उहाँको जीवनभर कलम चलिरह्यो । आकाशमा रहेका ग्रहहरूलाई प्राचीन परम्पराका आधारमा गणना गरे अनुसार नै तिनीहरू हाम्रो स्थिति अनुसारको दृष्टिमा देखिउन् भन्ने उद्देश्यले सिद्धान्तभित्र पनि तीन विभागमा विभक्त सिद्धान्त, तन्त्र र करण ग्रन्थहरूको अनुसन्धानमय अध्ययन÷अध्यापन उहाँको निरन्तर रूपमा चलिरह्यो । गणितज्योतिषको व्यावहारिक प्रयोजनको रूपमा रहेको पञ्चाङ्ग अर्थात् पात्रो, जो ग्रहहरूका खगोलीय स्थितिको गणितीय प्रतिविम्ब हो, त्यसका बारेमा समेत उल्लेखनीय कार्य उहाँबाट भयो । ज्योतिषका जटिल कुराहरू बुझ्न पहिला गणित बुझ्नु पर्छ भन्ने प्राचीन आचार्यहरूको मार्गनिर्देशन रहेको छ । त्यसैले नयराज पन्तले ज्योतिष जान्नका लागि आवश्यक त्रिकोणमिति, गोपाल पाँडेको घनमूल ल्याउने रीति, प्राचीन गणित र नवीन गणितको तुलना आदि ग्रन्थहरूको रचना गर्नुका साथै पूर्णिमा आदि अनुसन्धानमूलक पत्रिकामा गणितसम्बन्धी शिक्षामूलक लेखहरू प्रकाशन गर्नुभएको छ । गणितीय आधारग्रन्थ नै नजानेका र संस्कृत व्याकरण नै नपढेकाहरूले हाम्रा शास्त्रहरूले बताएका रहस्यमयी विषयलाई बुझ्न कठिन हुने र कालान्तरमा अर्थको अनर्थ गरी शास्त्रलाई नै बिगार्ने हुँदा शास्त्रीय विषय पढ्नका लागि प्राचीन आचार्यहरूले भने जस्तै गरी पहिला सम्बन्धित आधारग्रन्थको अध्ययन गर्नुपर्ने विषयमा जोड दिँदै पञ्चाङ्गका कुराहरू पनि विशेष योग्यता भएकाहरूले मात्र बुझ्ने कुरा उहाँबाट लिखित रूपमै उल्लेख भएको छ ।
वेदहरू यज्ञकर्ममा प्रवृत्त हुन्छन् । चराचर जगत्को मुख्य विषय नै यज्ञ हो । वैदिक यज्ञ हुन सकेनन् भने सृष्टि पनि गतिलरी चल्न नसक्ने विषय धार्मिक पुस्तकले मात्र नभएर यन्त्र विज्ञानले पनि प्रमाणित गरेको विषय हो । यज्ञ काल अर्थात् समयका आश्रयमा हुन्छन् । कालको बोध ज्योतिषशास्त्रले गराउँछ । त्यसैले पनि वेदलाई सर्वोच्च स्थान दिएका कसैले पनि ज्योतिष नजानी नहुने विषय हुन जान्छ । आकाशमा रहेका ग्रहलाई आफ्ना सम्बन्धित स्थानमा देखिएका आधारमा पञ्चाङ्गहरू बनेका हुन्छन् । त्यसैले आकाशमा रहेका ग्रहको स्थितिको प्रतिविम्ब नै पञ्चाङ्ग हो । यस विषयलाई माथि पनि भनिसकियो तर पनि पाँच वटा अङ्ग मात्र मिलेर बनेको हुनाले नै पञ्चाङ्ग भनिएको भने होइन । अर्थात् यस अन्तर्गत पञ्चाङ्गभित्र पर्ने तिथि, योग, नक्षत्र, करण र बारका साथ साथै सूर्योदय आदि गरिएका अरू पनि धेरै महìवपूर्ण विषय वस्तु रहेका हुन्छन् । वेदको आँखाका रूपमा परिभाषित ज्योतिषले वेदको मुख्य प्रयोजन यज्ञकर्मको शुभाशुभ मार्गलाई समयका आधारमा देखाउने हुँदा समय अनिवार्य रूपमा शुद्ध हुनु पर्छ । सही समय र शुभाशुभ ग्रहहरूको सही स्थितिमा गरेका यज्ञकर्मले मात्र वेदोक्त शुभ फल दिने हुनाले सनातन परम्परामा समय र ग्रह स्थितिलाई नै मुख्य मानिएको हो । यसका लागि विभिन्न समयमा विभिन्न आचार्यले ग्रहसाधन गर्ने तरिका भिन्न भिन्न प्रकारले प्रस्तुत गरेका देखिन्छन् ।
सिद्धान्त र तन्त्र ग्रन्थहरू त ग्रह साधनका विधिमा लगभग मतैक्य रहे पनि करणग्रन्थमा दिइएका नियममा गरिएका ग्रह साधनका फलमा भने केही अन्तर देखिने गरेको छ । यसको मुख्य कारण भनेको निश्चित समयलाई भनेर बनाइएका ग्रन्थको लामो समयसम्म प्रयोग हुनु हो तर करण ग्रन्थका रचनाकारले नै करण ग्रन्थ विभिन्न समयमा संशोधित हुँदै जानु पर्छ भन्ने कुरालाई जोड दिएका छन् । यसैले पनि पञ्चाङ्ग संशोधनसँग सम्बन्धित गणितीय विषयको चर्चा पनि परापूर्वकालदेखि नै विद्वान्मा माझमा चल्ने गरेको देखिन्छ । अतः पञ्चाङ्ग संशोधनको कुरो अर्वाचीन नभई प्राचीन नै हो ।
विषय प्रसङ्ग अनुसार यसरी पञ्चाङ्ग संशोधन एवं ग्रहहरूलाई गणित अनुसार नै दृष्ट्युपलब्ध गराउनु पर्ने विषयको चर्चा नेपालमा पनि चलिरहेको देखिन्छ । यस विषयको सिद्धान्त एवं व्यावहारिक पक्षलाई पन्तले आफ्ना लेखका माध्यमले विभिन्न पत्रिकामा प्रकाशित गराई स्पष्टसँगै लेख्नुभएको छ । यससम्बन्धी विषयवस्तुलाई उहाँले विशेषतः पूर्णिमा, विद्या–रक्षा आदि पत्रिकाका माध्यमले बुझाउने प्रयास गर्नुभएको छ । त्यहाँ उहाँले पञ्चाङ्ग संशोधन गरिने विषय भनेको कुनै विदेशी विधिले नभई हाम्रै विधिले हो भन्ने विषयलाई विशेष जोड दिनुभएको छ । धर्मशास्त्रले भनेका कुराको फल प्राप्तिका लागि हाम्रा पञ्चाङ्ग पनि हाम्रै पद्धतिले बनाउने र हाम्रै पद्धतिले नै बेला बेलामा संशोधन गरिराख्नु पर्छ भन्ने विषयलाई उहाँले सर्वसाधारणले पनि बुझ्ने गरी नै स्पष्ट पारिदिनुभएको छ । सायद पन्त जस्ता विद्वान् नेपालमा नजन्मिएका भए यतिखेरसम्म संशोधनका नाममा महाविद्वान्ले हाम्रा पञ्चाङ्गलाई हलो काटी मुहुरोमा परिणत गराइसकेका हुन्थे ।
पञ्चाङ्ग संशोधनको बहस नेपालमा मात्र भएको विषय होइन । यो विषयको प्रसङ्ग त आजभन्दा लगभग २०० वर्ष पहिलादेखि नै महामहोपाध्याय वापुदेव शास्त्री जस्ता विद्वान्ले पनि भारतमा चलाएका थिए । त्यस्ता विद्वान् पनि विदेशीको चङ्गुलमा फसी दृग्सिद्ध पञ्चाङ्गका नाममा पाश्चात्य पद्धतिका जहाजी पञ्चाङ्गको अनुकरण गर्न पुगेका थिए । त्यस्तै कुराका आधारमा हाम्रो नेपालमा पनि पाश्चात्य पद्धतिका आधारमा बनेका पञ्चाङ्गलाई नै आप्तवचन मानी तिनलाई नै दृक्सिद्ध पञ्चाङ्ग मान्ने प्रचलनका प्रयास गरिएको थियो । कालान्तरमा त हाम्रै आफ्नै पौरस्त्य पद्धतिको सिद्धान्तलाई स्वीकार गर्नुभएका खगोलविद् डा. केशवराम जोशी पनि पहिले त दृक्सिद्धका नाममा उनै विदेशी पञ्चाङ्गको अनुकरण गराउने पक्षमा वकालत गर्नुहुन्थ्यो । त्यतिखेर हुने पञ्चाङ्गसम्बन्धी गोष्ठीहरूमा केशवराम जोशी, गुरु नयराज पन्तको आलोचनामा परिरहनुहुन्थ्यो तर पछि विशेषतः पन्त गुरुकै शिष्य पञ्चाङ्ग विशेषज्ञ ज्योतिर्विद् प्रा. शम्भुप्रसाद ढकालको हाम्रा पञ्चाङ्ग बनाउने प्रचलनको नक्षत्रात्मक पद्धतिलाई बुझिसकेपछि उहाँ पनि हाम्रो पद्धतिका बारेमा नतमस्तक नै हुनुभएको थियो । अतः पन्तको अथक प्रयासका कारणले सनातनदेखि चलिआएका हाम्रा पञ्चाङ्ग बिग्रन पाएनन् । सूर्यसिद्धान्तका आधारमा चलेको हाम्रो पञ्चाङ्गले विकृत रूप लिनबाट बच्यो । उहाँको जोडबल नै हाम्रो पौरस्त्य पद्धति अनुसारको नपाइ, जसमा ग्रह साधन गरेका स्थानमा नै देखिन्छन्, त्यही नै दृक्सिद्ध हुनु हो भन्ने कुराको स्पष्टता थियो तर उहाँलाई दुःख दिनेहरूले पाश्चात्य पद्धतिमा चलेका पञ्चाङ्ग नै चलाउनु पर्छ भन्दथे । उनीहरूलाई पन्तले पहिले आफ्नो पात्रो त बनाउ अनि मात्र यहाँ आएर सिकाउ भन्ने खालले चुनौतीपूर्ण लिखित एवं मौखिक रूपमा दिनुभएको थियो ।
हाल आएर नेपालमा पुनः पाश्चात्य पद्धतिका दृक्सिद्ध पञ्चाङ्गको नबुझी नबुझीकन झ्याली पिट्नेहरूको समूह बढ्दै गएको देखिएको छ । गहिरो अध्ययन गरेका संस्कृत र गणित क्षेत्रका विद्वान्भन्दा पनि उही येन केन प्रकारेण प्रसिद्धपुरुषो भवेत् भन्नेहरू यस कुरामा धेरै अगाडि देखिइरहेका छन् । कुनै क्षेत्रमा उहाँहरूको विद्वता होला तर हाम्रा सिद्धान्त ग्रन्थका बारेमा भने निरक्षर नै भन्नुपर्ने व्यक्तिबाट यी कुराहरू बेलाबेला आउने गरेका छन् । कसैले महिनालाई एक महिना अगाडि सार्ने कुरा गर्छन् कसैले चाहिँ यी सनातनदेखि चल्दै आएका विषयलाई म्लेच्छ र यवन भनेर दोषारोपण गर्ने गरेका छन् । यी सबै हुनुको मुख्य कारण नै गणितज्योतिषको विषयमा जानकार नभएर नै हो । खगोलीय स्थितिको मुख्य आधार नाडीवृत्त (आकाशलाई आधा गर्ने वृत्त) र व्रmान्तिवृत्त (सूर्यको वार्षिक हिँडाइ भएको देखिने वृत्त) का सम्पात स्वरूप गोलसन्धिका विषयमा नै पाश्चात्य र पौरस्त्यका बिचमा विमति छ भने अनि उनीहरूका आधारमा हाम्रा पञ्चाङ्गको संशोधन हुने कुरा भएन नै ।
पन्तले भन्नुभए जस्तै गरी हाम्रा पद्धतिले निस्किएका ग्रहहरू दृक्सिद्ध भने गराउनु पर्छ । आचार्यहरूले आफ्ना ग्रन्थका ग्रहस्पष्टाधिकार सुरु गर्ने बेलामा नै स्पष्टाधिकारको प्रयोजन नै ग्रहहरूको दृक्सिद्धताका लागि हो भन्ने कुराको उल्लेख स्पष्टसँग बताउनुभएकै छ । त्यसका लागि हामीले गणित गरी ल्याइएका पञ्चाङ्गस्थ ग्रहहरू आकाशीय स्थितिमा पनि ट्वाक्क मिलेका हुनु पर्छ । यसो भएन भने ती ग्रहलाई विभिन्न संस्कारका माध्यमले दृक्सिद्ध बनाउनु पर्छ । हाम्रा पञ्चाङ्गमा यस किसिमका दोष भइरहेका हुनाले यस विषयलाई गणकहरू माझ बहस गराई समाधानको बाटोमा जानु पर्छ । दृग्सिद्ध बनाउने नाममा २०६४ देखि हाम्रा पात्राहरू झनै बिगारिएका देखिन्छन् ।
अतः अन्त्यमा नेपालका मात्र नभएर संसारका कुना कुनामा बसेका हामी सनातनीका आस्थाका रूपमा रहेका हाम्रा पद्धति, जसलाई हाम्रा ऋषिमुनिहरूले धी (बुद्धि) यन्त्रका माध्यमले निर्धारण गरे र त्यही अनुसार व्यवहार गर्नका लागि प्रेरणा पनि दिए, त्यस्ता विषयलाई हेलचेक््रयाइँ नगरी हाम्रै पद्धति अनुसार हाम्रा नमिलेका कुराहरूलाई संशोधन गर्नु पर्छ नै तर उही पाश्चात्यकरण गरी पद्धतिलाई नै बिगार्ने तरिकाले आउने कुसंशोधन पद्धतिले हाम्रा धर्मशास्त्रका नियमलाई नै कुल्चिन गई समाजमा बेथिति पैदा गर्ने हुनाले त्यस खालका हल्लामा लागेर हाम्रा प्राचीन वैज्ञानिक पद्धतिलाई बिगार्न भने कदाचित् पनि दिनु हुँदैन ।