• १९ असार २०८१, बुधबार

‘मुख्य सडकको स्तरोन्नति गर्ने छौँ’

blog

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ।

बनेपा, असार १० गते । काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे । 

अध्यक्ष थिङले पाँच वर्षको अवधिमा शिक्षा क्षेत्रतर्फ गाउँपालिकाभित्र एउटा प्राविधिक शिक्षालय र सामुदायिक क्याम्पस स्थापनाका साथै गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि विभिन्न कार्यक्रम अघि बढाइने बताउनुभयो । 

सातवटा वडा रहेको गाउँपालिकामा हालसम्म तीनवटा वडा कार्यालय भवन मात्रै निर्माण भएको र अब बाँकी चारवटा वडा कार्यालय र पालिकाको भवन निर्माण गरिने भएको छ । ‘अहिले गाउँपालिकाभित्र सामुदायिक अस्पताल निर्माणको काम भइरहेको छ, पाँच वर्षको अवधिमा सबै वडामा स्वास्थ्य चौकी, बर्थिङ सेन्टर निर्माणका साथै केही वडामा सामुदायिक स्वास्थ्य एकाइसमेत थप गर्नेछौँ,’ गाउँपालिका अध्यक्ष थिङले थप्नुभयो । 

उहाँले पदभार ग्रहण गर्नेक्रममा एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दलित र अल्पसङ्ख्यक समुदायका छात्रछात्रालाई स्नातक तहसम्मको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको थियो । गाउँपालिकाभित्रका विभिन्न वडामा अहिले खानेपानी व्यवस्थित तरिकाबाट वितरण नभएकाले पाँच वर्षभित्रमा गाउँपालिकाभित्रका सबै घरधुरीमा ‘एक घर, एक धारा’मार्फत खानेपानीको सुविधा उपलब्ध गराइने योजना बनाइएको छ । 

उहाँले गाउँपालिकाबाट हेटौँडा साढे दुई घण्टामा पुग्न सकिने भए पनि मकवानपुर र काभ्रे जोड्ने बागमती खोलास्थित सिक्रेदोभानमा पुल निर्माणको काम नभएको बताउँदै उक्त पुल निर्माणका लागि पहल गर्ने बताउनुभयो । उहाँले बागमती नदीमा पुल बनेपछि गाउँपालिकाबाट प्रदेश कार्यालयमा साढे दुई घण्टामा पुगिने बताउनुभयो । 

गाउँपालिका अध्यक्ष थिङले गाउँपालिकाभित्रका सडक अहिले नियमित रूपमा सञ्चालन नभएको बताउँदै आफ्नो कार्यकालमा पालिकाभित्रका सबै सडक नियमित रूपमा सञ्चालन गर्नका लागि मर्मत तथा स्तरोन्नतिको काम गरिने बताउनुभयो । यस्तै गाउँपालिकाभित्र रहेका कृषकका लागि विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन गरी उनीहरूको आर्थिक अवस्थामा सुधार गर्ने योजना बनाइने भएको छ । 

उहाँले स्थानीय तहमा रोजगारी उपलब्ध गराउनका लागि कफी तथा दूध र दुग्धजन्य पदार्थको उत्पादनमा जोड दिइने बताउनुभयो । उहाँले कृषकको आर्थिक अवस्था सुधार तथा रोजगारी सिर्जनाका लागि केकस्तो कार्यक्रम अघि बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने बताउनुभयो ।