काठमाडौँ, साउन ३० गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबिच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रुपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गर्नुभयो ।
भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा. राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षामा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताउनुभयो ।
नेपाल भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको पनि उहाँले बताउनुभयो ।
मन्त्री डा. राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबिचको सहकार्य आगामी दिनमा अझ आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
यसअघि आजै मन्त्री डा. राणाले भारतीय विदेशमन्त्री डा. एस जयशंकरमार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताउनुभएको थियो