टोकियो, साउन ३० गते । जापानको अर्थतन्त्रले अप्रिलदेखि जुनसम्मको तीन महिनामा वास्तविक आधारमा वार्षिक १.० प्रतिशतले वृद्धि गरेको छ । यो पाँचौँ पटक लगातार त्रैमासिक वृद्धि भएको जापानको क्याबिनेट कार्यालयले शुक्रबार जनाएको छ ।
जनवरी-मार्च अवधिको प्रारम्भिक तथ्याङ्कमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ । महँगी समायोजनपछि, अप्रिल-जुन त्रैमासिकमा जापानको वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.३ प्रतिशतले बढेको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
यो जीडीपी वृद्धिको मुख्य कारण निर्यातमा देखिएको दृढता हो । निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढ्दा आयात ०.६ प्रतिशतले वृद्धि भएको थियो । निर्यात र आयातबीचको अन्तरले त्रैमासिक वृद्धिमा ०.३ प्रतिशत बिन्दुको योगदान दिएको छ, जुन सबैभन्दा ठूलो योगदान हो । त्यसपछि निजी लगानी दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।
घरेलु मागको प्रमुख सूचक मानिने पुँजी लगानी (क्यापिटल इनभेष्टमेन्ट) पहिलो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ, जुन पाँचौँ पटक लगातार वृद्धिमा रहेको देखिन्छ । अन्य प्रमुख घटकहरूमध्ये, कुल आर्थिक उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (प्राइभेट कन्जम्प्सन) ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ । रासस/सिन्ह्वा