• १३ भदौ २०८२, शुक्रबार

अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्ने छ : लाभरोभ

blog

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

मस्को, साउन ३० गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ”, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया-२४ टिभी च्यानलसँग भन्नुभयो, “हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न सकिने स्थिति छ ।” उहाँले आफूहरुले आफ्नो तर्क स्पष्ट पार्ने बताउनुभयो । ट्रम्पका विशेष दूत स्टिभ विटकोफको रुस भ्रमणका क्रममा वार्ताका लागि महत्वपूर्ण आधार राखिएको बताउँदै उहाँले भन्नुभयो, “हामी आशा गर्दछौँ, यो धेरै उपयोगी कुराकानी भोलि हुने शिखर सम्मेलनमा राखिने छ ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबिच शुक्रबार अलास्काको एन्कोरेजमा भेटवार्ता हुने कार्यक्रम छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले दुई नेता र उनीहरूका दोभासेहरू मात्र सहभागी हुने गरी एक्लाएक्लै बैठक सुरु हुने र त्यसपछि दुवै पक्षका पाँच-पाँच जना प्रतिनिधिको उपस्थितिमा विस्तारित वार्ता हुने जानकारी दिनुभयो । 

उशाकोभले युक्रेन सङ्कट समाधानका साथै ‘शान्ति र सुरक्षा सुनिश्चित गर्नका लागि व्यापक गृहकार्य गरिने र वर्तमान र सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू’ लाई सम्बोधन गर्न वार्तामा ध्यान केन्द्रित गरिने उहाँले बताउनुभयो । रासस/एएफपी