नागेन्द्रकुमार कर्ण/महेशकुमार दास
रघुनाथपुर (महोत्तरी), साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका –३ रघुनाथपुरमा निर्माण हुन लागेको सडकको एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ ।
शुक्रबार दिउँसो हेलिकप्टरबाट जनकपुर हुदै महोत्तरीको रघुनाथपुर आइपुग्नुभएका प्रधानमन्त्री ओलीले स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत रघुनाथपुर बजारदेखि सोनमा–तराहरी–सुन्दरपुर खण्डको सडक निर्माणको शिलान्यास रघुनाथपुरमा गर्नुभएको हो ।
मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित सो सडक एक करोड रुपियाँको लागतमा निर्माण हुन लागेको हो ।
हुलाकी सडकको रुपमा रहेको रघुनाथबजारदेखि सोनमा गाउँपालिकाको तराहरी हुदै सुन्दरपुरसम्म करिब ८.३८४ किलोमिटरको सडक कालोपत्रे गरिनेछ । मघेश प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार योजनाअन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने कार्यक्रम ल्याएको छ ।
विश्व बैंकको ऋण सहयोगबाट निर्माण गरिने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपियाँ हुने र २०८३ चैत ११ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने योजना रहेको छ ।
स्थानीय युवा धर्वेन्द्रकुमार यादवले सो रघुनाथपुर बजारदेखि सुन्दरपुरसम्मको कालोपत्रे सडक निर्माणबाट सोनमा गाउँपालिका – २, ३ र ७ का जनताहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । जिल्लाको सदरमुकामको बाटो समेट छोटो हुने विश्वास व्यक्त गर्नुभयो ।
विगतमा अलिकति पानी परेमा आवत–जावतमा समस्या हुने गरेको सम्झिनु हुँदै युवा यादवले भन्नुभयो, ‘यो सडक निर्माणले कृषिजन्य सामग्रीका साथै पालिकाबासीलाई सदरमुकामसम्मको पहुँच सहज हुने देखिन्छ ।’
प्रधानमन्त्री ओली महोत्तरीमा साउन महिनामा दोस्रो पटक आउनुभएको हो । यसअघि उहाँ साउन ९ गते मटिहानीमा बिग्ही नदीमा बनेको पुल तथा प्रसुति गृहको उदघाटन गर्नुका साथै रौजामा रातो नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको थियो ।