• १३ भदौ २०८२, शुक्रबार

तेस्रो पटक थपियो बिपी राजमार्ग बन्द गर्ने समय

blog

फाइल तस्बिर

केदार तिमल्सिना 

बनेपा, साउन ३० गते। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले रातको समयमा बिपी राजमार्गमा यात्रुवहाक सवारी साधन बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातको समयमा बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन रोक लगाउने निर्णय गरेको हो। 

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले देशमा अहिले पनि मनसुन सक्रिय अवस्थामा रहेकोले रातको समयमा बिपी राजमार्गमा भदौ १५ गतेसम्म सवारी सञ्चालनमा रोक लगाइएको बताउनुभयो।  

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिपी राजमार्ग अन्र्तगत काभ्रेभञ्ज्याङबाट साँझ ५ बजेदेखि बिहानको ५ बजेसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको बताउनुभयो। असार ६ गते सिन्धुलीको खुर्कोटमा बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा प्रमुखको बैठकले वर्षायाम सुरु भएकोले वर्षाका कारण आउन सक्ने बाढीपहिरोका कारण बिपी राजमार्ग सञ्चालन हुने सवारीमा क्षति पुग्न सक्ने भन्दै १५ दिनको लागि राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। 

यस्तै असार १८ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले असार २२ गतेबाट लागु हुने गरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्मको लागि एक महिनाको लागि बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो।

शुक्रबार बसेको समितिको बैठकले भदौ १५ गतेसम्म रातको समयमा विपी राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाएको हो। गत असोज महिनामा रोसी खोलामा आएको बाढीका कारण विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि कटुञ्जेबेशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुञ्जेदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्मको २९ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको थियो। 

रोसी खोला तथा राजमार्गमा पर्ने खहरे खोलामा वर्षासँगै आउने बाढी, लेदो र गेग्रानका कारण राजमार्गको विभिन्न स्थानमा सडक घण्टौँ अवरुद्ध हुँदा यात्रु मर्कामा परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो।