• १३ भदौ २०८२, शुक्रबार

ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

blog

मौवाफाँट–दग्नाम–चिमखोला–घ्यासीखर्क सडकमा गएको पहिरो। तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी,साउन ३० गते। म्याग्दीको रघुगङ्गा गाउँपालिका केन्द्रदेखि ग्रामीण क्षेत्र जोड्ने सडक दुई महिनादेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दुर्गम भेगका वडा जोड्ने मौवाफाँट–दग्नाम–चिमखोला हुँदै घ्यासीखर्क सडकका विभिन्न स्थानमा गएको पहिरोका कारण दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्ठकर बनेको हो। 

सडक अवरुद्ध हुँदा पालिकाको ४ दग्नाम, ७ चिमखोला र ८ कुइनेमंगलेका विभिन्न वस्तीमा बसोबास गर्ने स्थानीय प्रभावित भएका छन्। सडक सञ्चालनमा नआउँदा गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम आउन घण्टौं पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। 

सिधा यातायात सञ्चालन नहुँदा ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारण बिरामी पर्दा अस्पताल पुर्‍याउन र गाउँमा खाद्यन्न ढुवानी गर्न निकै समस्या भएको वडा नम्बर ७ वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो।