• १३ भदौ २०८२, शुक्रबार

कर्मचारीको विभेद अन्त्य गर्छौंः मन्त्री न्यौपाने

blog

बन्दीपुरको कार्यक्रममा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने। तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन ३० गते। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारीबिचको विभेदको अन्त्य गर्नको लागि आफूले पहिलो प्राथमिकता दिएको बताउनुभएको छ।  शुक्रबार गृह जिल्ला आउनुभएका मन्त्री न्यौपानेले बन्दीपुर गाउँपालिकामा कर्मचारी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

वषौंदेखि राजधानी काठमाडौंलगायतका सुगम जिल्ला कुनै कर्मचारी नछाड्ने र कुनै कर्मचारी दुर्गममा  खटिरहनुपर्ने अवस्थाको अन्त्य गरिने मन्त्री न्यौपानेले बताउनुभयो। मन्त्री न्यौपानेले भन्नुभयो, ‘‘सधैं सुगममा बसिरहन खोज्ने र दुर्गममा जान नमान्ने अवस्थाको अन्त्य गरी कर्मचारीबिचको विभेद अन्त्य गर्न प्राथामिकता दिएको छु।’’  

कुनै कर्मचारीले सुगम स्थानबाट लामो समयसम्म सेवा दिइरहन पाउने र कसैले दुर्गमै खट्नुपर्ने बाध्यता हुँदा दुर्गमा सेवा गर्ने कर्मचारीले विभेदको महसुस गरेकोले अन्त्य गर्न लागेको मन्त्री न्यौपानेले बताउनुभयो। सरुवाको काम लिएर सयौं कर्मचारी र उसका मानिस दिनहुँ भौतिक रुपमै मन्त्रालयमा उपस्थित भएर आउने गरेको जानकारी दिँदै मन्त्री न्यौपाने चाकडीको अन्त्य गरी न्यायको आधारमा सरुवा र बढुवा हुने बताउनुभयो। पालिकामा भदौसम्ममा निमिक्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने अवस्थाको अन्त्य गर्न लागेको मन्त्री न्यौपानेले बताउनुभयो।