• १३ भदौ २०८२, शुक्रबार

तनहुँमा कृषि र पशुपन्छी विकासको लागि साढे १४ करोड बजेट

blog

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविसन अधिकारी कार्यक्रमबारे जानकारी दिनुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन ३० गते । गण्डकी प्रदेश सरकारले तनहुँमा कृषि र पशुपन्छी विकासको लागि साढे १४ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत चालु आर्थिक वर्षको लागि कृषि र पशुपन्छी उत्पादन वृद्धि र प्रवर्धनका लागि सो बजेट विनियोजन गरिएको हो । 

दुवै कार्यालयद्वारा संयुक्त रुपमा शुक्रबार वार्षिक स्विकृत कार्यक्रमको सार्वजानिक गर्दै १४ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको जानकारी दिएको छ ।

कृषि उत्पादन वृद्धि तथा प्रवर्धनका लागि छ करोड ४० लाख ३२ हजार र पशुपन्छीको प्रवर्धनको लागि आठ करोड १७ लाख गरी १४ करोड ५७ लाख ३२ हजार बजेट सार्वजानिक गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँले सुन्तला, चैतेधान  र आलु प्रवर्धन कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । 

कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित चालु आवमा गण्डकी प्रदेश सरकारबाट छ करोड ४० लाख ३२ हजार र सङ्घ सरकारबाट सात लाख ३२ हजार गरी छ करोड ४० लाख ३२ हजार बजेट विनियोजन भएको केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

लामिछानेका अनुसार सुन्तला जात फलफूल बगैंचा सुदृढीकरणका लागि ३० लाख बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यान्त्रिकीकरण, सिंचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधारलगायत कार्यक्रम  समावेश गरिएको छ ।  

समुदायस्तरमा खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम ४८ लाख, चैते धान उत्पादन प्रवर्धन कार्यक्रमको लागि ९५ लाख, फलफूल नर्सरी स्थापना तथा सञ्चालनको लागि १० लाख रुपियाँ विनियोजन भएको छ । जलवायु कृषि प्रविधि प्रर्वद्धनको लागि १० लाख बजेट विनियोजन भएको छ । नयाँ कार्यक्रम अन्तर्गत तनहुँको दक्षिणी भेगका जनतालाई समेटेर लोकमार्ग-कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमको ३५ लाख बजेट विनियोजन भएको छ । ग्रामीण कृषि पर्यटन कार्यक्रमका लागि १० लाख, कृषि उद्यम प्रवर्द्धन कार्यक्रम ४५ लाख, कृषि उद्यम विकास कार्यक्रम ३५ लाख, निर्यातजन्य कृषि वस्तु प्रवर्द्धन कार्यक्रम अन्तर्गत १० लाख बजेट व्यवस्था गरिएको छ । 

गत वर्ष साढे १८ प्रतिशत बजेट कटौती हुँदा कार्यक्रमहरु प्रभावित हुन पुगेको केन्द्रका अर्थ विज्ञ सुरज गैर्‍हेले जानकारी दिनुभयो ।

यस्तै, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले पशुपालन किसानलाई लक्षित गरेर चालु आवमा आठ करोड १७ लाख ८२ रुपियाँ विनियोजन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्धन, क्षमता अभिवृद्धि कार्यक्रम, एकिकृत स्वास्थ्य कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । 

यसैगरी सुशासन तथा पारदर्शितासम्बन्धी कार्यक्रम, पशु आहारा प्रवर्धन कार्यक्रम, पशु अनुवंशिक स्राेत संरक्षण कार्यक्रम र पशुमा पूर्ण खोप कार्यक्रमको लागि बजेट विनियोजन भएको छ । पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्धनको लागि दुई करोड एक लाख ६१ हजार, पशुमा पूर्ण खोप कार्यक्रमको लागि एक करोड २१ लाख, पशुपन्छी तथा मत्स्य स्वास्थ्य कार्यक्रमको लागि ३९ लाख ७ हजार, क्षमता अभिवृद्धिको लागि नौ लाख ३५ हजार बजेट विनियोजन भएको छ ।

कार्यक्रममा कृषि तथा पशुसेवातर्फका प्राविधिकहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो । राज्यबाट प्राप्त अनुदानको सदुपयोग गर्दै कृषि तथा पशुजन्य सामग्रीको उत्पादन वृद्धि गर्नुपर्ने सञ्चारकर्मीले जोड दिएका थिए ।