• ८ भदौ २०८२, आइतबार

बाँकेमा प्रहरीले गोली प्रहार गरेर चारजना लागु औषध कारोबारी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासनिक भवन । तस्बिर : सिराज खान ।

सिराज खान

नेपालगन्ज, साउन ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज उपमहानगर ४ बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो १२ बजे छापा मार्दा नियन्त्रणमा लिन गोली प्रहार गरेको बताउनुभयो । 

प्रहरीले गोली प्रहार गरेपछि भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई गोली लागेको जनाउँदै प्रहरीले कुमारसँगै नेपागन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । 

प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएको जनाइएको छ । 

प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुमारको उपचार नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो । कुमारको दायाँ खुट्टामा गोली लागेको छ ।