• ८ भदौ २०८२, आइतबार

गुल्मीका निर्माण व्यवसायी आन्दोलित

blog

रमेश विश्वकर्मा

गुल्मी, साउन ३० गते । भुक्तानी नपाएको पीडामा परेका गुल्मीका निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । गत आर्थिक वर्ष २०८१-०८२ मा विभिन्न क्षेत्रमा निर्माणको कार्य गरेर पूरा भइसक्दा पनि भुक्तानी नपाएको भन्दै यहाँका निर्माण व्यवसायीले सडक पूर्वाधार विकास कार्यालय अगाडि धर्ना दिएका हुन् । 

“हाम्रो पसिना, हाम्रो अधिकार” भन्ने मूल नारासहित धर्ना दिएका निर्माण व्यवसायीहरुले आव २०८१-०८२ मा सम्पन्न भएका निर्माण कार्यहरुको बिल भुक्तानी अझैसम्म नभएको बताएका छन् । प्रदेश सरकारले असार १५ मै खाता बन्द गरिसकेको भए पनि हालसम्म खाता सञ्चालनमा ढिलाइ भइरहेको कारण थप आर्थिक सङ्कटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले समयमै खाता सञ्चालन नगरेको कारण ठेकेदारहरुलाई श्रमिकको पारिश्रमिक तिर्न, ऋण चुक्ता गर्न र दैनिक खर्च धान्न कठिन भएको गुनासो गरेका छन् । 

निर्माण व्यवसायी सङ्घ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले तत्काल भुक्तानीको अवस्था सिर्जना नभएमा जस्तोसुकै कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो । "हाम्रो श्रमको उचित सम्मान हुनुपर्छ, रोजीरोटी सुरक्षित हुनुपर्छ । घर-सम्पत्ति बन्धक राखेर सम्पन्न भएका योजनाहरुको रकम तुरुन्त भुक्तानी गरिनुपर्छ । कृत्रिम अभाव, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्छ । अनि भुक्तानी गर्न नसक्ने प्रदेश सरकार खारेजीको माग पनि हाम्रो हो," उहाँले भन्नुभयो । 

व्यवसायीहरुले प्रदर्शनका क्रममा आफ्नो मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए । ब्यानरमा “भुक्तानी देऊ, श्रमको सम्मान गर”, “बजेट अभावको बहाना बन्द गर”, “भुक्तानी नगर्ने सरकारको खारेजी चाहिन्छ” जस्ता नाराहरु लेखिएका थिए । गत आर्थिक वर्षमा जिल्लाभित्र निर्माण सम्पन्न गरेका धेरै परियोजनाहरुको रकम सङ्घीय, प्रदेश र स्थानीय सरकारको बजेट अभावको कारण रोकिएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा ती रकम भुक्तानी हुने भनिए पनि अझैसम्म पाउन नसक्दा व्यवसायीहरु ठूलो आर्थिक सङ्कटमा परेको गुनासो उहाँले गर्नुभयो । यसअघिसम्म निर्माण व्यवसायीहरुले संयम अपनाएर प्रतीक्षा गरे पनि, अहिले परिस्थिति असह्य बन्दै गएको र आर्थिक दबाब चुलिँदै गएपछि आन्दोलनको बाटो रोज्न बाध्य भएको महासचिव श्रेष्ठले बताउनुभयो ।