• ८ भदौ २०८२, आइतबार

जनप्रतिनिधिको पहलमा थप रासायनिक मल भित्रियो

blog

पश्चिम नवलपरासीको परासीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी  
पश्चिम नवलपरासी, साउन ३० गते ।
किसानहरूले मलको चरम अभाव भोगिरहेका बेला जनप्रतिनिधिहरूको दौडधुपपछि पश्चिम नवलपरासीमा थप रासायनिक मल आइपुगेको छ । मल अभाव भए पनि जनप्रतिनिधिहरूले कुनै पहल नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा सांसदहरूले कृषि सामग्री कम्पनीको भैरहवास्थित प्रदेश कार्यालय र मुख्यमन्त्रीको कार्यालयमा भेटघाट गरेका थिए ।

कृषि सामग्री कम्पनी लिमिटेड परासीका अनुसार सोही पहलको परिणामस्वरुप ८३ मेट्रिक टन युरिया र ८४ मेट्रिक टन डिएपी रासायनिक मल जिल्लामा आइपुगेको हो । कम्पनीका अनुसार अहिले आएको थप मल अन्य जिल्लाका लागि तोकिएको कोटाबाट कटौती गरी पश्चिम नवलपरासी पठाइएको हो ।

जनप्रतिनिधिको आग्रहपछि प्रदेश मन्त्रालयले कुल ३१५ मेट्रिक टन युरिया मल उपलब्ध गराउने आश्वासन दिएको थियो । कृषि सामग्री कम्पनी लिमिटेड परासीका प्रमुख ताराप्रसाद खनालले बाँकी २३२ मेट्रिक टन युरिया आउने क्रममा रहेको जानकारी दिनुभयो ।

कम्पनीले प्राप्त हुने ३१५ मेट्रिक टन मल वितरणका लागि पालिकाअनुसार कोटा निर्धारण गरिसकेको छ । जसअनुसार रामग्रामलाई ६१.५५० मेट्रिक टन, सुनवललाई ४३.४०० मेट्रिक टन र बर्दघाटलाई ४० मेट्रिक टन मल छुट्याइएको छ । त्यसैगरी सरावललाई ४४.५०० मेट्रिक टन, पाल्हीनन्दनलाई ३३.८५० मेट्रिक टन, प्रतापपुरलाई ५१.१५० मेट्रिक टन र सुस्तालाई ४०.५५० मेट्रिक टन मल दिइनेछ ।

यसअघि साउन १९ गते आएको २१५ मेट्रिक टन युरियामध्ये अझै ७० मेट्रिक टन वितरण हुन बाँकी रहेको र त्यसका लागि सम्बन्धित तीन वटा सहकारीले रकम भुक्तानीसमेत गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेड परासीले जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड परासीले सात पालिकाका ७९ सहकारीमार्फत किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।