• ७ जेठ २०८१, सोमबार

सत्ताइस वर्षपछि सडकको स्तरवृद्धि

blog

बिजुुवार, असार १० गते  । प्युठानमा ट्रयाक खुलेको २७ वर्षसम्म स्तरवृद्धि हुन नसकेको सडक कालोपत्रे थालिएको छ । सरुमारानी गाउँपालिका–४ बड्डाडादेखि ऐरावती जोड्ने सडक गाउँपालिकाले कालोपत्रे सुरु गरेको हो । एक किलोमिटर लम्बाइ र पाँचमिटर चौडाइ सडकलाई कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

  उहाँका अनुसार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक करोड १० लाख रुपियाँको लगानीमा सडक कालोपत्रे हुने भएको हो ।त्यसैगरी सङ्घीय सरकारको दुई करोड ५० लाख बजेटबाट कुल १७ किलोमिटर लम्बाइमध्ये सात किलोमिटर सडक ग्राभेल गरिएको छ ।  

बड्डाडा–ऐरावती सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्ष २०७९/८० का लागि गाउँपालिकाबाट दुई करोड २० लाख र सङ्घीय सरकारबाट दुई करोड २० लाख गरी जम्मा चार करोड ४० लाख बजेट सुनिश्चित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताउनुभयो । २०५१ सालमा आफ्नो गाउँ आफैँ बनाऔँ कार्यक्रमअन्तर्गत यो ट्रयाक खुलेको थियो । सडकबाट स्थानीयका साथै ऐरावती गाउँपालिका र अर्घाखाँची जिल्लासम्मका बासिन्दाले लाभ लिनेछन् ।