नवराज नेपाली
बागलुङ (गलकोट) ३० गते । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले कृषिलाई विषादीरहित बनाउनुपर्नेमा जोड बताउनुभयो ।
बागलुङ जिल्लास्थि कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई बागलुङले आयोजना गरेको गत आर्थिक वर्षको समीक्षा तथा चालु वर्षको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
किसानहरुले स्थानीय स्तरबाटै उत्पादन बढाएर आत्मनिर्भर बन्न सकेमा विषादीको मात्रा कम हुने बताउनुभयो ।
मन्त्री पाठकले कृषि फसलहरु बिषादीरहित बनाउने काममा सबैको चासो र पहल हुनुपर्ने बताए । जिल्लाभित्रै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सकेमा बिषादीको मात्रा कम हुने उहाँको धारणा छ ।
भारतबाट आएको तरकारीको हिस्सा पहाडसम्म पुग्दा बिषादीको उपभोग बढेकाले नागरिकहरुमा नसर्ने लागयतका रोगको प्रकोप बढेको मन्त्री पाठकको भनाइ छ । उहाँले मौलिक प्रकारका कृषि उत्पादन बढाउने, निर्यातमुखी उत्पादन गर्ने र राज्यले पनि त्यस्ता उत्पादनमा सहुलियत र अनुदान दिने व्यवस्था हुँदा कृषि क्षेत्रमा समस्या भएको र कृषि पेशा गर्ने युवालाई सम्मान समेत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले कृषि क्षेत्रमा प्रविधि र प्राविधिक राज्यले दिनुपर्ने र नागरिकले मेहेनत गरेर उत्पादन बढाएमा आयात प्रतिस्थापन हुने बताउनुभयो । चालु वर्षमा जैमिनी नगरपालिकाले कृषि क्षेत्रमा बजेट प्रसस्त विनियोजन गरेको तर काम गरिदिने किसानको अभाव हुन लागेकोमा चिन्ता व्यक्त गर्नुभयो । नगरपालिकामा चालु वर्ष कृषि क्षेत्रमा एक करोडबढी बजेट विनियोजन भएको र यो बजेट जिल्लाकै १० स्थानीय तहहरुको तुलना धेरै रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले कनिका छरेको बजेटले उत्पादन हुन नसक्ने बताउनुभयो । उहाँले ठोस उत्पादनका लागि राज्यको लगानी केन्द्रीत गर्ने भन्दै आयात प्रतिस्थापन गर्ने खालको बजेट ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङ प्रमुख राजेश्वर सिलवाल, भेटेनरी अस्पतालका प्रमुख डा. ऋषिराम सापकोटा, परियोजनाका प्रमुख नारायण पौडेलले कार्यक्रम प्रस्तुतीकरण गर्नुभएको थियोे । उक्त अवसरमा किसान र सरोकारवालाले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउनुपर्ने धारणा राख्नुभएको थियोे । ग्रामीण क्षेत्रमा पशुपालन गरेकाहरु अहिले पनि अनुदान माग्न आउन नसक्ने, तर कागजमा प्रक्रिया बनाउन सक्नेहरुले धमाधम अनुदान खाएको भन्दै उनीहरुले त्यस्ताको खोजी गर्ने र वास्तविक किसानको बारीमा अनुदान लैजान पनि सुझाव दिएका थिए ।
पछिल्लो समय कृषि क्षेत्रमा व्यवसायिकीकरण बन्ने क्रम भने बढेको छ । अटोमेसन प्रविधिसम्म पुगेर किसानले कृषि फसल उत्पादन गरिरहेका छन् । तर पनि आयात भने प्रतिस्थापन भएको छैन । एकादुइ व्यवसायिक किसान बन्नेभन्दा पनि चक्लाबन्दीमा धेरै खेती गर्ने, धेरै युवालाई कृषिमा लगाउने र कृषि एम्बुलेन्समार्फत सङ्कलन गर्ने, बजारीकरणमा स्थानीय सरकार तथा कृषिका सारेकारवाला संस्थाले पहल गर्ने गर्दा युवामा आर्कषण बढ्ने कृषिकहरुले सुझाव दिनुभयो थियोे ।
कार्यक्रम अनुसार जिल्लाका १० पालिकासहित कृषि, भेटेनरी र परियोजनाका बजेटले चालु वर्ष झण्डै ५० करोड रुपियाँको कार्यक्रम तथा योजनाहरु सञ्चालन हुने बताइएको छ ।