नेपाल विद्युत् प्राधिकरण अविच्छिन्नउत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्थाको रूपमा नेपालमा विद्युत्को उत्पादन, प्रसारण र वितरणसम्बन्धी कार्य गर्दै आइरहेको छ । समग्र विद्युतीय संरचनालाई सुरक्षित, भरपर्दो, नियमित बनाई उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय विद्युत् आपूर्तिको समुचित व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य उद्देश्य हो ।
विद्युतीय संरचनामा प्राविधिक तथा प्रशासनिक सुधार र निर्णयमा स्पष्टता भएसँगै लामो समयदेखि हुँदै आएको लोडसेडिङ २०७५ साल वैशाख महिनामा अन्त्य भएको घोषणा गरिएको थियो । लोडसेडिङ तालिका पढ्ने बानी परेका हामीलाई हर बखत स्विच अन गर्नेबित्तिकै बल्ने उज्यालोले घर मात्र होइन प्रत्येक नेपालीको मन र भविष्य उज्यालो बनाएको थियो । १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त भई घाटामा गइरहेको संस्था नाफामा जानु, बङ्गलादेश र भारतमा विद्युत् निर्यात गर्नुसम्मको प्रगतिशील यात्रा सम्भव भएको छ । यो सबै हामी नेपालीको गौरवको विषय हो । विगतमा भन्दा धेरै लाइन झ्याप झ्याप गइरहने समस्या कम भइरहेको छ भने विद्युत्को माग र आपूर्तिबिचको प्राविधिक व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ ।
वितरण प्रणालीमा हुने समस्या
विद्युत् लाइन जानु वा लाइनमा कुनै प्रकारको समस्या आउनु भनेको विद्युतीय संरचनामा तार चुडिनु, डिक्स, पिन, स्याकल जस्ता इन्सुलेटर फुट्नु, जम्पर तथा कनेक्टर लाइनबाट फुत्किनु, करेन्ट लिकेज हुनु, पोल ढल्नु, रुख ढलेर तार पोलमा पर्नु, हाँगाले तारमा छुनु, इस्टे वायर चुडिनु, कुनै उपकरण बिग्रनु, जल्नु वा कुनै प्रकारले क्षति हुँदा लाइन विच्छेद भई घर घरमा सप्लाई नआउनु हो ।
उपभोक्ताको घरमा जाने सर्भिस केबुलमा समस्या आएमा सो घरको मात्र बत्ती जान्छ । कुनै स्थानको वितरण ट्रान्सफर्मरमा समस्या आएमा, जलेमा, फ्युज गएमा उक्त ट्रान्सफर्मरबाट वितरण भएका बस्तीमा मात्र लाइन जान्छ । सम्बन्धित क्षेत्रमा आउने वितरण लाइनमा समस्या आउँदा उक्त फिडरबाट सप्लाई हुने सानो क्षेत्रभित्र मात्रै लाइन जान्छ । हावाहुरी, बाढी पहिरो, आँधीहुरी जस्ता प्राकृतिक प्रकोपका कारण रुख हाँगा भाँचिएर तार पोल माथि पर्दा, लाइन सर्ट हुँदा वा ओभर लोड हुँदा, लाइन फल्ट भएमा मानवीय तथा विद्युतीय संरचनाको सुरक्षाका लागि स्वचालित रूपमा नै सबस्टेसनबाट लाइन बन्द हुने व्यवस्था मिलाइएको हुन्छ ।
प्रसारण प्रणालीमा हुने समस्या
प्राविधिक कारणले ठुला हाइड्रोपावर स्टेसन नेपालको पहाडी र हिमाली भेगमा रहेका छन् । बाढी, पहिरो, हावाहुरी, भूकम्प आदिको कारणले ठुला हाइड्रोपावर स्टेसन वा सोसँग जोडिएको ट्रान्समिसन लाइनको कुनै भाग अवरुद्ध हुँदा प्रणालीमाथि भार पर्न गई राष्ट्रिय माग र आपूर्तिबिच तालमेल नमिल्दा सुरक्षित मापदण्डका सूचकमा अकस्मात् बढी र घटी हुन जाँदा प्रणाली असन्तुलन हुन गई लाइन ट्रिप हुन्छ ।
सिस्टममा समस्या आउनु भनेको ४००/२२०/१३२ केभी प्रसारण प्रणाली कमजोर हुनु, पर्याप्त उत्पादन हुन नसक्नु, पर्याप्त ट्रान्समिसन लाइन नहुनु, पूर्वी भागमा उत्पादन बढी हुनु र पश्चिम भागमा लोड पु¥याउन नसक्नु, पूर्व पश्चिम जोड्ने ठुलो क्षमताको प्रसारण लाइन निर्माणमा ढिला हुनु हो । देशको जुनसुकै स्थानको प्रसारण लाइन, विद्युत्गृह वा सबस्टेसनमा समस्या आउँदा त्यसको असर समग्र राष्ट्रिय प्रसारण लाइनमा पर्छ ।
विद्युत् माग र आपूर्ति
विद्युत्गृहदेखि सबस्टेसन, प्रसारण लाइन, वितरण लाइन हुँदै हाम्रो घरसम्म बिजुली आइपुग्न सबै संयन्त्र र उपकरणले सही कार्यसम्पादनका लागि केन्द्रीय स्तरमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालय अन्तर्गत काठमाडौँको स्विचाटारमा रहेको लोड डिस्प्याच सेन्टरले राष्ट्रिय ग्रिडमा विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्छ । प्रथम तहमा भने हाम्रो घरमा आउने विद्युत् प्रणालीको निर्माण, रेखदेख, मर्मत, ट्रान्सफर्मर जडान, विद्युत् मिटर जडान जस्ता कार्य देशभरि छरिएर रहेका १२९ वितरण केन्द्रबाट हुन्छ । एक पटक प्रणाली फेल भएपछि एक एक सबस्टेसन चार्ज गर्दै देशभरिको सबस्टेसन चार्ज गर्न कम्तीमा १५/२० मिनेट लाग्छ । डिमान्ड र सप्लाइबिचको सन्तुलन मिलाउँदै उत्पादन, प्रसारण, वितरण प्रणालीसँग समन्वय गरी देशभरि रहेका सम्पूर्ण सबस्टेसन चार्ज हुन्छन् र सबै ठाउँमा सबै क्षेत्रमा बत्ती बल्ने गर्छ ।
विद्युत्प्रति आमबुझाइ
बत्ती जानेबित्तिकै लाइन काटेर बसेका छन् भनी कर्मचारीमाथि आक्रोश पोख्ने, लोडसेडिङ भयो भनेर तालिका माग गर्ने, सामाजिक सञ्जालमा सही सूचनाबिना नै अफवाह फैलाउने व्रिmयाकलाप बढिरहेको देखिन्छ । जुन कुरा बिलकुल गलत छ । प्राधिकरणले निजी उत्पादक संस्थासँग विद्युत् खरिद गरेर सर्वसाधारणलाई वितरण गरेको हुन्छ । प्राधिकरणले निजी उत्पादक संस्थाबाट किनेको बिजुली प्रयोग गरे या नगरे पनि भुक्तानी गर्नुपर्ने हुनाले विद्युत् लाइन काटिएमा अथवा कुनै कारणले सप्लाइ अवरुद्ध भएमा प्राधिकरण आफैँलाई ठुलो आर्थिक नोक्सानी हुने गर्छ । प्राधिकरणको आम्दानी, सेवा, गुणस्तर र सामाजिक प्रतिष्ठासँग जोडिएको विषय भएकाले आर्थिक रूपमा घाटा हुने गरी लाइन काटेर बस्ने भन्ने हुँदैन ।
समस्या कहाँ छ भनेर पत्ता लगाउन बिजुली दिने, फिडरको सुरुतिरको सेक्सन स्विच काटेर चेक गर्ने, फल्ट खोज्ने, मर्मत गर्ने, फेरि अर्को सेक्सन काट्ने चेक गर्ने, बिजुली दिने गर्दै अन्तिम विन्दुसम्म आइपुग्दा समस्या समाधान नहुँदासम्म बत्ती आउने जाने भइरहन्छ । हाम्रो घरमा बिजुली आउने र जाने संरचनागत हिसाबले स्वाभाविक प्रक्रिया हो । सबै बत्ती गएका अवस्था लोडसेडिङ होइनन् । आमउपभोक्ताले यो बुझ्नु पर्छ कि लाइन काटनुपर्ने रहर होइन प्राविधिक बाध्यात्मक अवस्था हो ।
आमनागरिकको भूमिका
जिम्मेवार नागरिकको हैसियतले सर्वप्रथम लाइन गयो भने आफ्नो घर, छिमेकी वा वरपर कहाँ कहाँ लाइन गएको छ बुझ्नु पर्छ । आफ्नो घरमा मात्र समस्या भएको देखिएमा विद्युत् सुरक्षा अपनाइ मिटर बक्समा भएको एमसिबी डाउन छ कि चेक गर्नु पर्छ । एमसिबी खराबी भएमा, सर्भिस लाइन चुडिएको देखेमा, नजिकैको लाइनमा आगो बलेको देखिएमा मात्रै सम्पूर्ण विवरणसहित नजिकैको विद्युत् कार्यालयमा खबर गर्नु पर्छ । कतै पोल ढलेको, तार चुडिएको, ट्रान्सफर्मरको फ्युज गएको, एमसिबी ट्रिप भएको देखिएमा, विद्युतीय संरचनामा आगलागी भएमा, करेन्ट लागेमा तुरुन्त नजिकैको विद्युत् कार्यालयको नो लाइट फ्युज सेवा वा प्राधिकरणको हट लाइन नम्बर ११५० मा फोन गरेर सम्बन्धित प्रदेशको एक्टेन्सन नम्बरमा छनोट गरेर वा प्राधिकरणको एप वा वेबसाइटमा गएर पनि जानकारी गराउन सकिन्छ ।
विद्युत् प्राधिकरणका कर्मचारी छिटो लाइन चार्ज गर्नुपर्ने ध्यानमा हुन्छन् । कमजोर संरचना, सीमित कर्मचारी, सीमित बजेटको परिधिमा रहेर कार्य गर्नुपर्ने हुनाले जनसमुदायले अनावश्यक दबाब दिँदा कर्मचारीको मनोबल गिर्न गई कार्यक्षमता घट्न सक्छ । समस्या समाधान गर्न नजिकैको वितरण केन्द्र लागि परेको हुन्छ । त्यसैले लाइन जानेबित्तिकै १०/१५ मिनेट प्रतीक्षा गर्नु पर्छ ।
समाधानका उपाय
आजको वैज्ञानिक युगमा बिजुलीको माग दिन प्रतिदिन बढिरहेको छ । घरको सानो कामदेखि ठुला उद्योगसम्म र सूचना प्रविधिमा आधारित यो समयका लागि बिजुली अपरिहार्य बनेको छ तर जटिल विद्युतीय सञ्जाल र मौसममा हुने फेरबदलको कारणले गर्दा विद्युत् प्राधिकरणले चाहँदा चाहँदै पनि २४ सै घण्टा बिजुलीको आपूर्ति सहज बनाउन सक्दैन । नेपालमा हालसम्म प्रणालीमा करिब ३५११.५७ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने जडित क्षमता रहेको छ भने विद्युत्को माग जम्मा २३३७ मेगावाट रहेको छ । बर्खामा बढी भएको विद्युत् प्रसारण प्रणालीको क्षमता तथा माग अनुसार भारत र बङ्गलादेश विद्युत निर्यात भइरहेको हुनाले कुनै लोडसेडिङ नभई मुख्यतया प्राविधिक र प्राकृतिक समस्याको कारणले बत्ती गइरहेको हुन्छ । यो राष्ट्रको समस्या हो, जसको समाधानका लागि आमउपभोक्ता विद्युत् प्राधिकरण, ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल सरकार, राजनीतिक दल, निजी उत्पादक संस्था, विद्युत् नियमन आयोगलगायतका सम्बद्ध पदाधिकारी सबैको पहलबाट समस्या समाधान हुन सक्छ ।
आमउपभोक्ताको चासो तथा नेपाल सरकारको गौरवको विषय भएको हुनाले समय सापेक्ष कानुन, नीति, नियम तर्जुमा गरी दक्ष जनशक्ति तयार गरी विद्युतीय संरचनामा ठुलो लगानी गर्न सके मात्र प्रणाली दिगो भई लाइन जाने समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् सेवाका लागि २४ सैँ घण्टा लागिपरेको छ । सबै तह तप्काबाट सहयोग र समन्वय गरी विद्युत् सेवालाई सुरक्षित, भरपर्दो र सेवामूलक बनाउनु हामी सबैको कर्तव्य हो ।